आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

पुस २६ देखि कांग्रेस महाधिवेशन

पुस २६ देखि कांग्रेस महाधिवेशन

म्याराथन दौडजस्तै कार्यतालिका


  • ढोरपाटन संवाददाता
  • मंसिर १६ २०८२, मंगलबार

पोखरा/लामो विवादपछि अन्ततः नेपाली कांग्रेसले यही पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशनको मिति तय गरेको छ ।

कांग्रेस केन्द्रीय समितिले सोमबार १५ औँ महाधिवेशनको कार्यतालिका पनि पारित गरेको छ । जस अनुसार मंसिर २० गतेबाटै महाधिवेशनको कार्यक्रम सुरु हुने छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार यो निर्णयसँगै अब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशन माग स्वतः निष्कृय भएको छ । तर, महामन्त्री विश्वप्रकाश शर्माले चाहिँ नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुने बताएका छन् ।

शर्माले पुसभित्र नियमित महाधिवेशन गर्न अलमल गर्ने हो भने विशेष महाधिवेशन हुने र ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर सुरक्षित रहेको बताए ।

‘महाधिवेशनका लागि मिति त तोकियो तर निर्वाचनमा जाने भएकोले तोक्नका लागि यो मिति तोकेको, महाधिवेशन हुँदैन है भनेर कसैले मनमा राखेको छ भने मैले भन्नैपर्छ– विशेष महाधिवेशनका लागि साथीहरुले गर्नुभएको हस्ताक्षर यही केन्द्रीय कार्यालयमा सुरक्षित राखेका छौं,’ उनले भनेका छन्, ‘कसैले सभापतिले भन्नुभयो, महाधिवेशन मिति तोकियो तर हुँदैन भन्ने हो भने स्पष्ट हुनुपर्छ, विशेष महाधिवेशन हुन्छ ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पुस महिनाभित्र महाधिवेशन सम्भव भएको भन्दै यसलाई सफल बनाउन पदाधिकारीसँगै सबै उत्तिकै जिम्मेवार बन्नुपर्ने बताए । पार्टी बैठकको दोस्रो दिनमै यसबारे आफूले प्रस्ताव दर्ता गरेको भन्दै डेढ महिना यसैको विवादमा समय खेर फालिएको उनको भनाइ छ ।

आफूलाई निर्णय भएलगत्तै धेरै नेता कार्यकर्ताले फोन गरेर महाधिवेशन यति छोटो समयमा कसरी हुन्छ भनेर शंसय व्यक्त गरेको प्रसंग कोट्याउँदै उनले आफूले सम्भव देखेरै विगतमा प्रस्ताव गरेको भन्दै अहिले केही समय ढिला भए पनि युद्धस्तरमा कार्य हुने हो भने महाधिवेशन सम्भव रहेको दोहो¥याए । ‘मैले कात्तिक ३० गते नै तालिका बनाएर अघि बढे महाधिवेशन सम्भव छ, बैठक लामो नचलाऔं बाँकी अवधिमा महाधिवेशन गर्न सकिन्छ भनेर प्रस्ताव लगेको थिएँ,’ नेता पौडेलले भिडिओ वक्तव्य जारी गर्दै भनेका छन्, ‘तर यसलाई गम्भीर रुपमा लिन नसक्दा डेढ महिना अनावश्यक समय खेर फालियो ।’

पौडेलले बैठकमा कार्यतालिकासहित पुस महिनाभित्र महाधिवेशन गर्न सकिने लिखित प्रस्ताव दर्ता गरेका थिए ।
पछि महामन्त्रीबाट समेत सोहीअनुसार प्रस्ताव आएको भन्दै नेता पौडेलले भने, ‘पछि महामन्त्रीको प्रस्ताव पनि पुसभित्रै सम्पन्न गर्ने गरी आयो । तर, त्यतिबेला निर्णय हुन सकेन । त्यतिबेला निर्णय भएको भए समयको त्यति चाप पर्ने थिएन ।’ तोकिएकै मितिमा महाधिवेशन सम्भव भएको भन्दै नेता पौडेलले तर त्यसका लागि सबै युद्धमा जस्तै गरी काम गर्न तयार रहनुपर्ने बताए ।

कांग्रेसको महाधिवेशन कार्यतालिका अनुुसार मंसिर २० गतेभित्रै नयाँ क्रियाशील सदस्य केन्द्रबाट वितरण गरिसक्ने,२४ मंसिरसम्म जिल्लाको प्रतिनिधसभा, क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फाराम पठाउने, पुस ८ गतेभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गर्ने, पुस १४ गते क्रियाशील सदस्यताको प्रारम्भिक छानबिन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा नयाँ र नवीकरणसम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी अन्तिम सूची तयार गरी केन्द्रीय सभापति र कार्यवाहक सभापतिलाई बुझाउने र नयाँ क्रियाशील सदस्यता वितरण गर्दा समावेशीता नवयुवा पुस्ता अन्य पार्टीबाट आएका नवप्रवेशीलाई समेत क्रियाशील सदस्यता दिने व्यवस्था गर्ने रहेको छ । यस्तै पुस १५ सम्म विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन,पुस १६ मा गाउँ–नगरका र वडा अधिवेशन,पुस १७ गाउँ–नगर अधिवेशन,पुस १९ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन,पुस २१ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, पुस २२ गते एकभन्दा बढी प्रतिनिधि सभा भएको जिल्लाको अधिवेशन, भदौ २३ र २४ गते प्रदेश अधिवेशन र पुस २६,२७ र २८ गते महाधिवेशनको मिति तय भएको हो ।

क्रियाशील सदस्यताका लागि ८ बुँदे मापदण्ड
महाधिवेशनको मिति घोषणासँगै नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको लागि ८ बुँदे मापदण्ड तय गरेको छ ।

कांग्रेसले क्रियाशील सदस्यता लिन चाहने नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ को उपधारा (१) र (३) बमोजिम योग्यता पुगेका व्यक्तिलाई सहज रुपमा सदस्यता प्रदान गर्ने तथा कुनै पनि पनि योग्य व्यक्तिलाई सदस्यताबाट वञ्चित नगर्ने बताएको छ ।

यस्तै, प्रतिनिधि सभाको क्षेत्रमा पार्टीको १४ औँ महाधिवेशनमा कायम रहेको क्रियाशील सदस्य संख्याको सामान्यतया शतप्रतिशत नयाँ क्रियाशील सदस्यता फारम प्रतिनिधि सभा क्षेत्रलाई केन्द्रले उपलब्ध गराउनेछ । धारा ४ (१) मा नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्तिका लागि तोकिए वमोजिमको आवेदन फारम भरी आफ्नो सदस्यता भएको पार्टी वडा कार्यसमितिको कार्यालयमार्फत् तोकिए बमोजिमको शुल्कसहित आवेदन गर्न सक्नेछ भनिएको भने ३ मा पार्टीको उद्देश्य, नीति, कार्यक्रमलाई निरन्तर सहयोग पु¥याउँदै आएको, निर्वाचनमा पार्टीको निर्देशनमा सक्रियतापूर्वक संलग्न रहेको र निर्वाचनको समयमा पार्टी र उम्मेदवारको पक्षमा काम गरेको, पार्टीका विभिन्न कार्यक्रम, अभियान वा आन्दोलनको क्रममा विभिन्न कष्ट, यातना, जेल वा निर्वासन भोगेको,पार्टीले आयोजना गरेको प्रशिक्षण, गोष्ठी, अन्तरक्रिया लगायत राजनीतिक, सामाजिक, सांस्कृतिक एवं विविध रचनात्मक कार्यक्रमहरुमा सक्रियतापूर्वक सहभागी भएको, पार्टी वा भ्रातृ संघको माध्यमबाट विकास निर्माण र अन्य सामाजिक कार्यमा सक्रिय रहेको,प्रचलित कानूनले राजनीतिक दलको सदस्यता लिन अयोग्य नठहराएको लगायतका प्रावधानहरु रहेका छन् ।

सदस्यताको मापदण्डका निम्ति यसका अतिरिक्त वडाको जनसंख्या, मतदाता र क्रियाशील सदस्यताको अनुपातमा आवश्यकता अनुसार माग भए बमोजिम सदस्यता वितरण गर्न सक्ने गरी सदस्यता फारम उपलब्ध गराउने व्यवस्था गर्ने, वडाको जनसंख्याभित्र पनि महिला, आदिवासी जनजाति, दलित, मधेशी, खस आर्य, थारु, मुस्लिमको जनसंख्यालाई मध्यनजर गरी सोही आधारमा समानुपातिक/समावेशी प्रतिनिधित्वलाई ध्यान दिने,नयाँ क्रियाशील सदस्यता वितरण गर्दा १८ देखि ३५ वर्षका युवाहरुको व्यापक प्रतिनिधित्व हुने गरी प्राथमिकता दिइ वितरण गर्नुपर्ने,समाजमा विभिन्न पेशागत बुद्धिजीवी तथा सामाजिक कार्यमा संलग्न व्यक्तिहरुलाई प्राथमिकता दिनुपर्ने तथा निर्वाचनका समयमा पार्टी र उम्मेदवारको पक्षमा मत जुटाउने अभियानमा संलग्न राजनीतिक, सामाजिक, सांस्कृतिक एवं विविध रचनात्मक कार्यक्रमहरुमा सक्रियतापूर्वक भएका व्यक्तिहरु, पार्टीले आयोजना गरेको प्रशिक्षण, गोष्ठी, अन्तरक्रिया लगायत सामाजिक कार्यमा सक्रिय रहेका व्यक्तिहरुलाई क्रियाशील सदस्यता प्रदान गर्न आवश्यक सहभागी भएका व्यक्तिहरु र पार्टी वा भ्रातृ संस्थाको माध्यमबाट विकास निर्माण र अन्य राष्ट्रिय मान्यता प्राप्त अन्य राजनीतिक दलबाट नेपाली कांग्रेसमा प्रवेश गरेका व्यक्तिलाई अनिवार्य रुपमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता उपलब्ध गराउने बताइएको छ । यस्तै राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलबाट नेपाली कांग्रेस प्रवेश गरेका व्यक्तिलाई अनिवार्य रुपमा कांग्रेसको क्रियाशील सदस्यता उपलब्ध गराउने पनि मापदण्डमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->