आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

‘विज्ञ भन्दै आए, मन्त्री बने, अब कसलाई विश्वास गर्ने ?’

‘विज्ञ भन्दै आए, मन्त्री बने, अब कसलाई विश्वास गर्ने ?’

प्रधानमन्त्री सुशीला कार्कीले सल्लाहकार भएन भन्दै गुनासो गरेको सुनाउँदै उनले सल्लाहकार जति सबै स्वार्थी रहेको बताए ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १६ २०८२, मंगलबार

पोखरा/जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले अहिले विज्ञ भन्दै मन्त्री बनाइएका व्यक्तिहरु पदलोलुप भएको आरोप लगाएका छन् । उनले गृहमन्त्री ओमप्रकाश अर्यालले विज्ञ बनेर नवयुवामाथि धोका दिएको गम्भीर आरोप पनि लगाए । पोखरामा सोमबार तमु ह्रयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला समिति कास्कीले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै गुरुङले युवाहरुले प्रधानमन्त्री, मन्त्रीको पद त्याग गर्दा विज्ञ भनेर आउनेहरु आ–आफ्नो स्वार्थ राखेर आएको जिकिर गरेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले सल्लाहकार भएन भन्दै गुनासो गरेको सुनाउँदै उनले सल्लाहकार जति सबै स्वार्थी रहेको बताए । ‘अब कसलाई विश्वास गर्ने आमा ? सबै एक्सपर्ट भनाउँदाहरु कोही मन्त्रीका लागि आउँछन्, कोही पदका लागि आउँछन्, कोही के भनेर आउँछन्, देशका लागि कोही पनि आएनन् । यो देश जन्मभूमि जसको नाममा नागरिकता पाइन्छ अवसर पाउँदा त्यागेको पद त्याग्ने युवाहरुको मन कति ठूलो होला ।’ उनले आफूले प्रधानमन्त्री र मन्त्रीको पद नै त्यागेको जिकिर पनि गरे ।

उनले अहिलेको युवाको चाहना अनुसारको परिवर्तन नभएको बताउँदै परिवर्तनका लागि अझै लड्ने उदघोष पनि गरे ।

‘सय दिन होस्, सय वर्ष होस्, मरुञ्जेलसम्म लड्छौं र आफ्नो देश परिवर्तन भएको हेर्न चाहन्छौं,’उनले भने, ‘भाषण र शासनले होइन, जनताको सेवाले मात्रै परिवर्तन हुन्छ ।’ पटक–पटक सरकार फेरिने प्रवृत्तिविरुद्ध युवाहरु रहेको बताउँदै उनले स्थायी सरकार जेनजीको माग भएको बताए ।

उनले आन्दोलनकारीलाई आतंककारी भनिएकोमा पनि आपत्ति पनि जनाए । ‘हातमा ढुंगा बोकेर परिवर्तन खोज्ने बच्चा आतंककारी, बन्दुक बोक्ने, भ्रष्टाचार गर्ने देशप्रमी !ढुंगाको बदलामा गोली प्रहार गरियो ।’

देश विकासका लागि त्यागेको र नेताहरु भए कुनै पद त्याग नगर्ने उनले बताए । सोही क्रममा उनले गृहमन्त्री ओमप्रकाश अर्यालले आफूलाई कानूनी सल्लाहकार बताउँदै मन्त्री बन्न आएको आरोप लगाए । मन्त्री अर्यालले बच्चाको रगत लागेको पदमा बसेर शानसँग गफ हानेको उनले सुनाए ।

‘ओमप्रकाश अर्याल भन्ने एउटा व्यक्ति जो कानूनी सल्लाहकार भए हामीलाई गुमराहमा पार्नुभयो । र, आज गृहमन्त्रालयको बच्चाको रगत लागेको कुर्सीमा पदमा बसेर शानसँग गफ हानिराख्नुभएको छ,’ गुरुङले भने । कार्यक्रममा गुरुङले आफ्नो शीर जेन–जीको शीर भएकाले कहिल्यै झुक्न नदिने बताए । उनले आफ्नो नागरिकताबारे प्रश्न उठाएकोमा आपत्ति जनाए । सुदन बस्नेत या सुदन ओली भएको भए आफ्नो नागरिकताका विषयमा कुरा नउठ्ने तर, गुरुङ भएर कुरा उठेको जिकिर पनि उनले गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->