बागलुङ/नेपाल सरकारले लिएको सहश्राब्दी विकास लक्ष्यका सूचक पुरा गर्न स्वास्थ्य क्षेत्रको पनि सुधार आवश्यक छ । त्यसका लागि एचआइभी एड्सको पहिचानको दर, उपचार पद्धति र संक्रमण रोकथामलाई आगामी सन् २०३० सम्ममा ९५ प्रतिशत पु¥याउने लक्ष्य सरकारले लिएको छ ।
यो लक्ष्य पूरा गर्न हरेक जिल्लाबाट पहल हुनुपर्ने सरोकारवालाको भनाइ छ । सो लक्ष्यका लागि जिल्ला स्तरीय रुपमा खोजी तथा पहिचान, उपचारको दायरामा ल्याउने र रोकथाम गर्ने क्रम चलिरहेको छ । ३८ औं विश्व एड्स दिवसको अवसरमा प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले पनि ९५ प्रतिशतको लक्ष्य पुरा गर्न पहल भैरहेको जानकारी दिएको छ ।
दिवशको अवसरमा आयोजित छलफलमा वरिष्ठ जनस्वास्थ्य प्रशासक प्रविण शर्माले हरेक देशको विकासको सूचकसँगै स्वास्थ्यका सूचक पनि पूरा गर्दै गएमा सहश्राब्दी विकास लक्ष्य भेटाउन सकिने बताए । एचआइभी एड्सको निवारणले देशलाई विकासको गतिमा लैजान सकिने उनको भनाइ छ ।
सन् १९८८ मा पत्ता लागेको एड्सबाट नेपालमा अहिले पनि ३४ हजार ३ सय ३७ जना संक्रमित छन् । ती मध्ये बागलुङमा पनि २ सय १५ जना संक्रमित रहेको कार्यालयका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए । तीमध्ये १८ जना बालबालिका १८ वर्ष मुनिका छन् । उनीहरुलाई गोप्य रुपमा नियमित औषधी सेवनको दायरामा ल्याउने काम चुनौतीको भएकोले लक्ष्य भेटाउन धेरै मेहेनत गर्नुपर्ने बताए ।
घिमिरेका अनुसार नेपालमा अहिले पत्ता लगाउने दर ९३ प्रतिशत, उपचार ८६ प्रतिशत र नियन्त्रण ७७ प्रतिशत रहेको छ । त्यो दरलाई ९५ प्रतिशतमा लैजाने चुनौती कार्यालयको छ । त्यो अभियानका लागि धौलागिरि पोजेटिभ समूहले पनि साथ दिएको छ ।
असुरक्षित यौन सम्पर्क, रगत लिनेदिने काम तथा लागूऔषध प्रयोगकर्ता समेतबाट एचआइभी संक्रमण हुने गर्छ । संक्रमितलाई दिर्घरोग तथा अन्य प्राणघातक रोग लाग्दा निको नहुने भएकोे छिटो मृत्यु हुने गरेको छ । क्षयरोग, हेपाटाइटिसलगायतका रोग लागेमा एचआइभी भएकाहरुको मृत्युहुने दर बढी हुने उनले बताए । त्यसका लागि आम जनमानसमा चेतना विकास गर्ने, सचेत बनाउने, रोग लाग्नै नदिने उपायाको खोजी गर्ने काम भैरहेको उनले बताए । त्यसबाहेक संक्रमित आमाबाट बालबालिकामा सर्न नदिन विशेष सर्तकता अपनाउने काम पनि यो अभियानको रुपमा चलेको छ । त्यसका लागि हरेक गर्भवती आमाले नियमित स्वास्थ्य परीक्षण गराएको हुनुपर्छ ।
औषधी निशुल्क पाइने र धौलागिरि अस्पतालको एआरटी सेन्टरबाट पाइने भए पनि कतिपय उपचारको पहुँचमा नआउने, आएकाहरु पनि खुल्न नचाहने गरेकोले यो समस्या जटिल रहेको छ । त्यसका लागि धौलागिरि पोजेटिभ समूहले समुदायसम्मै पुगेर औषधी दिने काम समेत गरेको छ । बुर्तिवाङ अस्पतालबाट पनि अहिले ३५ जना संक्रमितले औषधि सेवन गरेका छन् भने अन्यले धौलागिरि अस्पतालबाटै सेवा लिएका हुन् ।
संक्रमण दर कम गर्नेसँगै संक्रमितलाई लान्छाना र भेदभाव न्यूनीकरण गर्ने, नयाँ संक्रमण रोक्ने र मृत्युदर घटाउने लक्ष्यमा कार्यालयले काम गरिरहेको शर्माको भनाइ छ ।
दिवश तथा छलफल कार्यक्रम कार्यालय प्रमुख शर्माको अध्यक्षता, घिमिरेको संचालन तथा प्रस्तुति र तथ्यांक अधिकृत घनश्याम सापकोटाले स्वागतमा सम्पन्न भएको थियो ।





