पोखरा/ बुद्ध एअरका सञ्चालक तथा गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) का संस्थापक तथा केन्द्रीय सदस्य वीरेन्द्र बस्नेतले जेन जी आन्दोलनको कारण र रहरले राजनीतिमा नआएको बताएका छन् ।
उनले आफ्नो घरको चुल्हो बाल्नका लागि नभई भावी पुस्ताको सुख र समृद्धिका लागि राजनीतिक दल खोलेको दावी गरे । पर्यटनमय अर्थतन्त्र अन्तरक्रिया नाम दिएर पार्टी प्रचारमा आएका बस्नेतले आज पोखरामा यस्तो बताएका हुन् । मुलुकको आर्थिक उन्नतिका लागि पार्टी खोलेको बताएका उनले जेन जीको आन्दोलनका कारण राजनीतिमा आएको भन्ने सत्य नरहेको बताए । कुनै रहरले पनि राजनीतिमा नआएको उनको भनाई थियो ।
अहिले राजनीतिक पार्टीहरूबीच जेन जीको बलिदान बिर्सिएर राजनीति गर्न थालिएको बस्नेतले बताए । मुख्य कुरा नेपालमा बेरोजगारी रहेको र त्यसैको उपजका कारण जेन जी आन्दोलन हुन पुगेको उनको भनाई छ । अहिले भन्दा ५ गुना बढी पर्यटक भित्राउन सकिने र मर्यादित र उच्च आय हुने रोजगारी आफ्नो पार्टीको भिजन रहेको उनले सुनाए । भूराजनीतिक कारणले पोखरा विमानस्थल पूर्णरुपमा सञ्चालन हुन नसकेको भन्दै उनले यसमा राजनीतिक इच्छाशक्ति र भूराजनीतिक समझदारी हुनुपर्ने बताए । ‘अहिले राजनीति पेशा भयो’ उनले भने, ‘राजनीतिलाई पेशा बनाउनु हुदैन ।’
जेन जी आन्दोलनले राजनीति, अर्थतन्त्र र समाज पुरानै तरिकाले चल्दैन भन्ने देखायो– प्रसाईं
कार्यक्रममा गलोेपा अध्यक्ष दिनेश प्रसाइंले जेन जी आन्दोलनले नेपालको राजनीति, अर्थतन्त्र, समाज र संस्कृति पुरानो तरिकाले चल्दैन भन्ने देखाएको बताए । मुलुकको राजनीतिमा सुधार नभएमा समाज र अर्थतन्त्र सुधार नहुने भन्दै उनले बिसं. १९९७ सालदेखि प्रत्येक १०– १२ वर्षमा ठूला राजनीतिक आन्दोलन हुने गरेको र प्रत्येक आन्दोलन हिंसात्मक भएर देशमा अस्थिरता उत्पन्न भइरहेको जनाए । जेन जी आन्दोलन यति ठूलो मात्रामा होला जस्तो नसोचेको तर राजनीतिक दलहरुको शैली र व्यवहारले नेपाली समाज एउटा दुर्घटनामा पुग्न सक्ने भने लागेको उनले बताए । आफुहरुले २०८४ को निर्वाचनमा भाग लिने गरी २०८३ बैशाखमा पार्टी घोषणा गर्ने ३ वर्ष अघिदेखि नै योजना बनाए पनि जेन जी आन्दोलनलगत्तै पार्टी घोषणा गर्नुपरेको खुलासा उनले गरे ।
‘जेन जी आन्दोलनले धेरै कुरा परिवर्तन गरिदिएको छ । अब नेपाल पुरानो नेपाल छैन । राजनीति, अर्थतन्त्र, संस्कृति, समाज पुरानो तरिकाले चल्दैन भन्ने देखाइदिएको छ’, प्रसाईंले भने, ं‘संरचनागत परिवर्तन र जनअपेक्षा अनुसार काम गर्न नसकेको परिणाम यो हो । आधुनिक किसिमले राजनीतिक आन्दोलन भइरहेका छन् । प्रत्येक १० वर्षमा राजनीतिक आन्दोलन भइरहेका छन् । समयसँगै आन्दोलन हिंसात्मक पनि हुँदै गएका छन् । अस्तिको आन्दोलन माओवादी कालमा जस्तो हिंसात्मक त थिएन तर घरघर छिर्यो । डरलाग्दो कुरा सिंहदरबार, सर्वोच्च अदालत, अदालत, प्रतिष्ठान, राष्ट्रका धरोहर जले । निजी व्यवसायमा आक्रमण भए ।ु
नेपालको निजी क्षेत्रमा जेन जी आन्दोलनमा जस्तो आक्रमण यसअघि नभएको उनको भनाईं थियो । दलहरुले जनतामाझ गरेका बाचा पूरा नगर्दा पटकपटक आन्दोलन हुँदै आएको कुरालाई अब मनन गर्नुपर्ने उनको भनाइ छ । ‘छोराछोरी पुस्ताले बाआमा पुस्तालाई जलाउँदै हिँड्ने काम भएको छ । जेन जी पुस्ताकै राजनीतिक दल गठन भएर चुनाव जिते भने पनि संरचना निर्माण गर्न सकेन भने जेन अल्फाले जेनजी पुस्तालाई जलाउँछ’ उनले भने, ‘अब परिवर्तन गर्नुपर्छ, गर्न सम्भव छ । परिवर्तन गर्नका लागि राजनीति नै मिलाउने हो । राजनीति नमिलाउने हो भने अर्थतन्त्र पनि मिल्दैन ।’
गलोपा केन्द्रीय सदस्य ज्ञानेश्वर महतोले देश विकासको मुख्य आधार पर्यटन रहेको बताए । उनले भारतको अयोध्यामा एक वर्षमा २२ करोड बढी पर्यटक पुग्ने आंकडा प्रस्तुत गर्दै त्यसको १० प्रतिशतमात्रै भए पनि नेपाल भित्राउन सोही अनुसार योजना र पूर्वाधार आवस्यक रहेको बताए ।





