काठमाडौं / जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । देउवा निवास महाराजगन्जमा शुक्रबार अपरान्ह भएको भेटवार्तामा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल गरेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
अध्यक्ष ओलीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार सभापति र अध्यक्षबिच समसामयिक राजनीतिक विषय र संसद पुनःस्थापनाका विषयमा छलफल भएको छ । लामो समयपछि भएको भेटवार्तामा सभापति देउवाका धर्मपत्नी डा. आरजु राणा र अध्यक्ष ओलीका धर्मपत्नी राधिका शाक्यको समेत सहभागिता छ ।
जेनजी आन्दोलनले सत्ताबाट वहिर्गमन भएपछि पूर्व प्रधानमन्त्रीद्वयको यो पहिलो अनौपचारिक भेटवार्ता भएको हो । यसअघि कांग्रेस र एमालेबीच सत्ता साझेदारीको सहमति हुनुअघि कांग्रेस सभापति देउवा ओली निवास बालकोट पुगेका थिए। २०८१ असार १५ मा भएको भेटवार्तामा आरजु पनि देउवासँगै बालकोट पुगेकी थिइन्। त्यतिवेला देउवा र ओलीबीच साढे तीन घण्टा वार्ता भएको थियो।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि देउवा र ओलीबीच औपचारिक रुपमा भेटवार्ता भएको थिएन। जेनजी आन्दोलनका क्रममा देउवा र उनकी पत्नी आरजुमाथि आक्रमण भएको थियो। घाइते भएका देउवा दम्पत्ति उपचारका लागि सिंगापुर पुगेका थिए। केही समयअघि मात्रै उनी उपचार गरेर नेपाल फर्किएका थिए।





