पोखरा/नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले राजासहितको संविधान ल्याउनका लागि कांग्रेस तयार हुनुपर्ने बताएका छन् । शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति शर्माले २०४७ सालको संविधानलाई नै अघि सारेर कांग्रेसले नेतृत्व गर्नुपर्ने बताएका हुन् । वर्तमान अवस्था र समसामयिक विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसले आफ्नो धरातल बिर्सँदै कम्युनिष्ट विचारमा लागेकाले र प्रजातन्त्रलाई लोकतन्त्र भनेकाले कुरा बिग्रेको पनि बताए ।
‘देशलाई साझा रुपमा अघि बढाउन सकिन्छ भने २०४७ सालको संविधानलाई सेन्टरमा राखेर सबै साथमा जानका लागि कांग्रेसले नै अगुवाइ गर्नुपर्छ भन्ने एउटा उपाय र निराकरणको प्रजातन्त्रवादी राजा बन्दा हाम्रो उद्देश्य पुरा हुन्छ र अस्थिरताको अन्त्य हुन्छ भने कांग्रेस त्यसमा पनि तयार हुनुपर्छ भन्ने मेरो मान्यता हो’ शर्माले भने ।
पार्टीले देशलाई अस्थिरताबाट जोगाउनका लागि पनि राजासहितको संविधानलाई अघि सारेमा संकट टर्ने उनी सुनाउँछन् । यस्तै कांग्रेसलाई जिम्मेवार बनाएर पहिलेकै अवस्थामा फर्काउन चार–पाँच वर्षदेखि अभियान थालेको र त्यो अभियानको सम्बोधन समयमा नहुँदा जेन जी आन्दोलन हुन पुगेको उनको भनाइ थियो । प्रजातन्त्रमा जनता मालिक हुन्छन्, शासक सेवक । भ्रष्टाचार अनियमितताको कुरा नै जेन–जी आन्दोलनले पनि उठाएको विषय भएकाले यो समयमा कांग्रेस आफ्नो विरासतमा फर्कनै पर्ने पनि उनको जिकिर थियो ।
पार्टी अधिवेशनबारे बोल्दै परिस्थितिले पार्टी अधिवेशन गराउन आवश्यकता भएकाले समयमै हुनुपर्नेमा उनको जोड छ । तत्काल पार्टी अधिवेशनभन्दा देशका लागि सोच्ने बेला भएको उनले सुनाए । ‘अहिले हामी आन्तरिक कुराहरुको बारेमा अधिवेशन कहिले गर्ने, सभापति कसलाई बनाउने भन्नेमा हाम्रो ध्यान गइरहेका छन् । हाम्रो आन्तरिक कुरा मिलाउँदै गएपनि हुन्छ तर देश खरानीमाथि उभिएको हुनाले यसलाई समयमै निकास दिन सकेनौं भने अन्तर्राष्ट्रिय क्रिडास्थल बन्न सक्छ,’ उनले भने ।
उता अधिवेशनका लागि गण्डकी प्रदेश तयार रहेको बताउँदै उनले आफू केन्द्रीय समितिमा नजानेसमेत स्पष्ट पारे । ‘हाम्रो पार्टीमा सबैभन्दा समस्याको विषय क्रियाशील सदस्यता वितरणको कुरा हो । यसकोबारेमा सजिलो र गर्नुपर्ने कुरा के हो भने जो बितेर जानुभयो उहाँहरुको नाम हटाइदिने, जो पार्टी छाडेर जानुभयो, उहाँहरुको नाम हटाइदिने । बाँकी सबै रिन्यू भयो भनेर केन्द्रबाटै परिपत्र गरे भइहाल्छ,’ शर्माले थपे, ‘लाग्ने दस्तुर जो छ, त्यो सम्बन्धित चुनावमा भाग लिने ठाउँमा अनलाइनबाटै जम्मा गरिदिने व्यवस्था गरे एउटा सूचनाको आधारमै भइहाल्छ । यो बेला गर्नुपर्ने पनि त्यही हो । अरु कुनै कारणले हामीलाई रोक्नुपर्ने अवस्था नै छैन् । गण्डकी प्रदेश तयारीमा लागि सकेको छ । यो महिनाभित्र उम्मेदवारको नाम तयार पारेर पठाउँछौं र पार्टीले तोकेकै समयमा अधिवेशन गर्न तयार छौं ।’





