बागलुङ/पश्चिम बागलुङको बडिगाड गाउँपालिका–२ खरवाङस्थित त्रिभुवन माविमा संचालन गर्न लागिएको महायज्ञअगावै दाताबाट एक करोड रकम संकलन भएको छ । महायज्ञबाट ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।
विद्यालयलाई बहुप्राविधिक शिक्षालय बनाउने उदेश्यसहित आयोजना गरिएको महायज्ञ आइतबारबाट शुरु भएको छ । महायज्ञ सफल पार्न एक हजार १ सदस्यीय मुल आयोजक समिति बनाइएको महायज्ञ संयोजक विष्णु भुषालले जानकारी दिए । मंसिर २८ गतेसम्म चल्ने महायज्ञमा पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गर्ने छन् ।
सिटिइभिटी तथा अन्य क्षेत्रबाट अनुबन्धित गरेर विद्यालयलाई दक्ष प्राविधिक उत्पादनको क्षेत्र बनाउँदा विद्यार्थीले प्राविधिक शिक्षाको ज्ञान हासिल गर्न अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुषालले बताए । महायज्ञ लगाएर विद्यालयको क्षेत्रलाई फराकिलो बनाइने भुषालको भनाइ छ । २०१७ सालमा स्थापना भएको त्रिभुवनले स्थापनाको ६६ औं वर्षगाँससंगै हीरक महोत्सव मनाउने तयारी गरेको छ ।
महायज्ञअघि विद्यालयले मनाएको स्वर्ण महोत्सवमा संकलन गरेको ८० लाख रुपियाँले विद्यालयको भौतिक पुर्वाधार बनाउनुको साथै अक्षयकोषमार्फत विद्यालयमा निजी श्रोतका शिक्षक राखेर समयसापेक्ष अंग्रेजी माध्यम, कम्प्युटर ल्याब र बाली विज्ञान विषय पढाउँदै आएको छ । महायज्ञबाट संकलित हुने रकमबाट विद्यालयलाई ‘बहुप्राविधिक’ बनाउने तयारी गरेको विद्यालयका प्रधानाध्यापक ढालमणी भण्डारीले जानकारी दिए ।
महायज्ञमार्फत पाँच करोड संकलन गरेर विद्यालयमा कोष बनाइने छ । त्यो कोषमार्फत बडिगाड गाउँपालिका मात्र नभई गलकोट र गुल्मीको मुसिकोट क्षेत्रको आर्कषक शैक्षिक गन्तव्य बनाउने लक्ष्य छ । पश्चिम बागलुङका ढोरपाटन, निसी र तमानबासीले यो विद्यालयको भरपुर सदुपयोग गर्न सक्ने वातावरण बन्ने प्रअ भण्डारीले बताए ।
यो विद्यालयमा बाली विज्ञान विषयको पढाइ भैरहेको छ । ग्रामीण क्षेत्रका विद्यार्थीलाई कृषि पेशामा जोड्न यो विद्यालय सफल भएको छ । ‘विद्यालयले सिभिल इन्जिनियरिङ, अटोमोबाइल्स, इलेक्ट्रिक तथा इलेक्टोनिक्स विधामा अध्यापन गराउने योजना बनाएको छ,’ अध्यक्ष भूसालले भने, ‘त्यसका लागि महायज्ञको विकल्प खोजको हो ।’
विद्यालयमा एक हजार १ सय ८७ विद्यार्थी अध्ययनरत छन् । जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका छोराछोरीले यहिं विद्यालयमा पढ्न थालेपछि जनविश्वास पनि बढेको छ । मध्यपहाडी लोकमार्गको छेउमै रहेको विद्यालयले बस संचालन गरेपछि टाढा–टाढादेखि बालबालिका पढ्न आउन थालेका छन् ।





