
मुस्ताङ/ हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँचितुवाको संख्या पत्ता लगाउन अध्ययन सुरु गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सहकार्यमा यहाँका उच्च लेकमा हिउँचितुवा संख्या यकिन गर्न क्यामेरा ट्यापिङमार्फत अध्ययन अनुसन्धान सुरु गरिएको हो ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका उच्च लेकमा हिउँचितुवाको संख्या यकिन गर्न, हिउँचितुवाको आहारा प्रजातिको अवस्था, मानव र हिउँचितुवाबीचको द्वन्द्वको अवस्था पहिल्याउन र जलवायु परिवर्तनका कारण हिउँचितुवाको बासस्थान र विद्यमान अवस्थाको जानकारी लिने उद्देश्यले हिउँचितुवाको अध्ययन अनुसन्धान गर्न क्यामेरा ट्ययापिङ सुरु गरिएको बायोकोस नेपालका फिल्ड बायोलोजिस्ट बुद्धिबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार गत हप्तादेखि यहाँको वारागुङ मुक्तिक्षेत्रको झोङ,पुडाक, छेङ्गुर, थोरङ्फेदी, फल्याक,धार्काजुङ र मुस्ताङ—डोल्पा सडकको उच्च लेकमा १५ थान क्यामेरा जडान गरिएको छ ।
आजदेखि यहाँको घरपझोङ गाउँपालिका अन्तर्गत स्याङ,मार्फा र चिमाङ गाउँको उच्च लेकमा थप क्यामेरा हिउँचितुवा ट्यापिङका लागि थप क्यामेरा जडान गरिने कार्यक्रम रहेको उनले जानकारी दिए । यहाँका उच्च लेकमा हिउँचितुवाको विस्तृत अध्ययन अनुसन्धानका गर्न बायोकोसका प्रतिनिधि बायोलोजिस्ट गुरुङ र असिस्टेन प्रविन लामा क्यामेरा जडान कार्यमा खटिएका छन् । यसैगरी, एक्याप जोमसोमबाट प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओली खटिएका छन् ।
यहाँका सम्भावित हिउँचितुवा बासस्थान क्षेत्रलाई केन्द्रित गरी राखिएका ट्ययापिङ क्यामेरा दुई महिनासम्म लेकमा राखिनेछन् । हिउँद याममा हिउँचितुवाको संख्या यकिन गर्न र हिउँचितुवाको गतिविधि थाहा पाउँन क्यामेरा जडान गरिएको हो । गुरुङले दुई महिनापछि उच्च लेकमा राखिएका क्यामेराको डाटा सर्वेक्षण गरिने जानकारी दिए । ‘दुई महिनापछि क्यामेरा झिकेर ल्याउँछौँ, सफ्वेयर अपडेट गरी हिउँचितुवाको विस्तृत विवरण संकलन हुन्छ,’ गुरुङले भने, ‘क्यामेरामा कैद भएका डाटा सबै एक्यापलाई नै हस्तान्तरण हुन्छ, हामीले हिउँचितुवाको यकिन मात्रै गर्छौं ।’ बायोकोस नेपालले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको विभिन्न क्षेत्रमा हिउँचितुवाको अध्ययन गर्न क्यामेरा ट्यापिङलगायतका कार्य गर्दै आइरहेको प्रतिनिधि गुरुङको भनाइ छ ।
मुख्य रूपमा नाउर अध्ययनका लागि कार्य गरिने भए पनि बायोकोसले हिउँचितुवाको समेत अध्ययन गर्ने गरेको जनाएको छ । सन् २०२२ देखि लगातार मनाङमा चार वर्षसम्म निरन्तर हिउँचितुवाको अध्ययन गर्न क्यामेरा ट्ययापिङ गर्ने गरिएकोमा यसपालि मुस्ताङमा यस प्रकारको कार्यक्रम पहिलो भएको बायोलोजिस्ट गुरुङले जानकारी दिए । यसैगरी, माथिल्लो मुस्ताङमा पनि एक हिउँचितुवासम्बन्धी विद्यावारिधि विद्यार्थीले क्यामेरा ट्यापिङमार्फत हिउँको अध्ययन सुरु गरेका एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए । मुस्ताङमा पटक–पटक हिउँचितुवा अध्ययनका लागि क्यामेरा ट्ययापिङलगायतका काम भए पनि हालसम्म कतिको संख्यामा हिउँचितुवा छन् भन्ने तथ्य यकिन हुन सकिरहेको छैन ।
पछिल्लो समय मुस्ताङमा हिउँचितुवा र मानवबीचको द्वन्द्व बढेको देखिन्छ । हिउँचितुवा उच्च लेक छाडेर सडक र बस्तीमा झर्ने र यहाँका पशुपालकको गोठमै पसेर पशुचौपाया लगायतलाई क्षति पुर्याउने घटना दोहोरिरहेका छन् । पछिल्लो समय जलवायु परिवर्तनका कारण उच्च लेकमा चरनक्षेत्रमा घाँस पलाउन छाडेको र पानीका स्रोत सुक्दै जान थालेपछि हिउँचितुवाको आहारा नाउर खोला र बस्तीसम्म झर्ने गरेको पाइएको छ । हिउँचितुवा नाउर लगायतका आहारा पछ््याउँदै खोला र बस्तीमा झर्दा मानव र हिउँचितुवाबीचको द्वन्द्व बढेको हो । यहाँ हिउँचितुवाको संरक्षण र मानव बीचको सहअस्तित्व निर्माण गर्नसमेत चुनौती बढदै गइरहेको छ । यसैगरी, कम उचाइको क्षेत्रमा रहने चितुवा (कमन लियापार्ट) पनि तापक्रम वृद्धि हुँदै जाँदा माथिमाथि बासस्थान सार्नेलगायतका घटना पनि देखिन थालेका छन् ।





