बागलुङ/गलकोट नगर अस्पतालले अनलाइन टिकेटिङ सहितको ‘डिजिटल हेल्थ कार्ड’ सुरु गरेको छ ।
विश्व स्वास्थ्य संगठनका प्रतिनिधी डा. दिपेन्द्र गौतम र इन्जिनियर विरोध कट्टेलले बुधबार अस्पतालमा नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख फमलाल निउरे, प्रमुख प्रशासकिय अधिकृत डम्मर बहादुर जिसी, डा. राजेश पौडेललाई ‘डिजिटल हेल्थ कार्ड’ हस्तान्तरण गरि डिजिटल प्रणालीको शुभारम्भ गरेका हुन् ।
अबदेखि उपचारका सबै कागजी कागजात बोकेर अस्पताल धाउनुपर्ने झन्झट अन्त्य हुनेछ । प्रयोगशाला रिपोर्ट, प्रिस्क्रिप्सन, उपचार इतिहासदेखि लिएर आवश्यक सबै स्वास्थ्य विवरणहरू सुरक्षित रूपमा अस्पतालको डाटा सेन्टरमा भण्डारण हुनेछ, जसलाई सम्बन्धित विभागका स्वास्थ्यकर्मीहरूले कम्प्युटरमार्फत सहजै हेर्न सक्नेछन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा अनलाइन टिकेटिङ, रेफरल लगायत स्वास्थ्य सेवासँग सम्बन्धित सबै कार्यहरू डिजिटल प्रणालीमार्फत गर्ने योजना र नागरिकलाई थप सहजताको निम्ति सेवा सुरु गरिएको गलकोट नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नगरप्रमुख शर्मा गैरेले बताए ।
‘स्मार्ट स्वास्थ्य सेवा, प्रभावकारी सेवा प्रवाह र प्रविधिमैत्री सुशासन’ को लक्ष्यसहित अघि बढिएको यो प्रयास नगरवासीका लागि अत्यन्त उपयोगी र रुपान्तरकारी बन्ने विश्वास लिइएको छ। प्रविधि-अनुकूल, सरल र सुरक्षित सेवा प्रवाह गर्दै नागरिकमैत्री स्वास्थ्य सेवा सुशासनमा अघि बढ्ने नगरको यो महत्वपूर्ण पहल हो।
इन्टरनेटको पहुँचसँगै डिजिटल सिस्टममा अगाडि बढ्दा उपचारमा आउने नागरिकलाई हुने फाईदा र सेवा सुविधालाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा यो सेवा सुरु गरिएको अस्पतालका प्रमुख डा. राजेश पौडेलले जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनका लक्ष्यहरू र सरकारका डिजिटल नेपालजस्ता पहलहरूले अस्पतालहरूलाई अब डिजिटल प्रणाली मार्फत सेवा सुचारु गरिएको गलकोट नगरपालिकाका उपप्रमुख फमलाल निउरेले बताए ।





