आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गलकोट नगर अस्पतालमा सेवाग्राही बढे

गलकोट नगर अस्पतालमा सेवाग्राही बढे

अस्पतालमा दर्जनबढी सेवा थपिएका छन् । पछिल्लो एक वर्षमा यहाँ रक्तसञ्चार, बालउपचार, फिजियोथेरापी र प्रसुती प्रतिक्षा घर समेत थपिएका हुन् ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २५ २०८२, बिहिबार

बागलुङ/अघिल्लो आर्थिक वर्ष ८० जना सुत्केरी गराएको गलकोट नगर अस्पतालमा चालु वर्षको पहिलो चौमासिकमै त्यतिनै संख्यामा सुत्केरी भएका छन् । अघिल्लो वर्ष अपरेशन सेवा शुरु भएपछि सुत्केरीका लागि गर्भवतीहरु आउने क्रम शुरु भएको थियो । यो वर्ष भने साउनदेखि नै नियमित सेवा संचालनले महिलाको रोजाइमा अस्पताल पर्न थालेको छ ।

नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले धौलागिरि अस्पताल पछिको महत्वपुर्ण सेवा दिने स्थानको रुपमा विकास भएको बताए । ‘अघिल्लो वर्ष २० जनाको मात्रै अपरेशन भएको थियो, अन्यले नर्मल सेवा लिएका थिए’ उनले भने, ‘चालु वर्षको पहिलो चौमासिकमै अपरेशन गर्नेहरु २० बढी भैसके ।’ नियमित उपचार सेवाका लागि आउने सेवाग्राही पनि बढेको डा. पौडेलले जानकारी दिए ।

हरेक सोमबार स्थानीय विष्णु काउचाले ट्याक्सी समेत निशुल्क गराएपछि कतिपय गर्भवती र सुत्केरीहरु उपचारमा बढी आउने गरेका छन् । उक्त दिन प्रसुती सेवालाई बढी ध्यान दिने गरिएको छ । त्यस बाहेक अस्पतालमा दर्जनबढी सेवा थपिएका छन् । पछिल्लो एक वर्षमा यहाँ रक्तसञ्चार, बालउपचार, फिजियोथेरापी र प्रसुती प्रतिक्षा घर समेत थपिएका हुन् ।

गलकोट समाज युकेको सहयोगमा यहाँ ११ लाख लगानीमा फिजियोथेरापी कक्ष संचालनमा ल्याइएको छ । पौडेलले समाजका सदस्यहरुलाई सम्पर्क गरेर अस्पतालमा सेवा भित्राउन पहल गरेका थिए । सो अभियानलाई वडा अध्यक्ष पवन हमाल, सामाजिक विकास समितिका संयोजक हिमबहादुर थापा, नगरप्रमुख भरत शर्मा गैरे र उपप्रमुख फमलाल निउरेले पहल गरेपछि युकेका सदस्य पदाधिकारीको सहयोगमा फिजियोथेरापी संचालनमा ल्याइएको हो ।

अहिले दैनिक बिरामीहरु यहाँ आएर सेवा लिने गर्छन् । यसअघि शव गृह रहेको स्थानलाई मर्मत गरेर फिजियाथेरापी कक्ष बनाइएको हो भने शवगृह छुट्टै बनाइएको छ ।

फेयरमेड फाउण्डेसन नेपालको सहयोगमा हाल संचालनमा आएको सम्बोधन परियोजना र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनले ४ लाख रुपैयाँ सहयोग गरेपछि स्थानीय र नगरपालिकाले थप ८ लाख लगानी गरी १२ लाख रुपैयाँमा प्रसुती प्रतिक्षा घर पनि बनेको छ । तीन वटा परिवार एकैपटक बस्न मिल्ने गरी कक्ष बनाइएको हो । तीनवटै कक्षमा प्रसुती सेवा लिन आउने गर्भवती र उनका हेरालु बस्न मिल्ने कोठा र खाना पकाएर खाने चुल्होलगायतका सामाग्रीको पनि व्यवस्थापन भएको छ ।

अस्पतालमा हाल भिडियो एक्सरेसहित प्राविधिक सेवाहरु पुर्ण रुपमा संचालनमा आएको छ । एकीकृत रुपमा डाटाको सकलन गर्ने व्यवस्थापन पनि छ । ‘एक जना बिरामी आएर नाम ठेगाना बताएपछि उनले यसअघिको सेवा लिएको विवरण समेत आउने गरी व्यवस्थापन गरेका छौं’ डा. पौडेलले भने, ‘उक्त विवरणमा सम्बन्धित व्यक्तिको बिमा कार्ड नम्बर समेत प्रविष्ट भएको छ ।’ कुनै बिरामीले बिमा कार्ड नल्याएपछि नाम ठेगाना लगायतको विवरणमा भिडेको खण्डमा सेवा पाउने व्यवस्थापन छ ।

अन्यत्र बिमाको औषधी अभाव भएको गुनासो आएपनि गलकोट नगर अस्पतालमा भने औषधीको अभाव छैन । स्थानीयले पनि भनेकै समयमा आवस्यकता अनुसारको औषधी लिन पाएको बताए । नगर अस्पतालले वर्षमा ३० देखि ३५ हजार बिरामीको उपचार गर्दै आएको छ । अस्पतालको रुपमा काम गर्न थालेपछिका अहिले सम्मका सबै गतिविधिलाई लिपिबद्द बनाइएको छ । त्यस बाहेक अस्पतालमा मर्चरी राखेपछि तत्काल काजक्रिया गर्न नसकेकाहरुले शव राख्न पाएका छन् । वडा नं. ६ का झप्परबहादुर बस्नेतले १० लाख बढी लगानी गरेर यो मर्चरी स्थापित गरिदिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->