आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मातृशिशुको रेखदेख गर्न स्वास्थ्य इकाईलाई स्कुटर

मातृशिशुको रेखदेख गर्न स्वास्थ्य इकाईलाई स्कुटर

घरदैलो गरेर प्रसूती, गर्भवती महिला र नवजात शिशुको रेखदेख तथा बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले कर्मा फ्लाइट फाउण्डेसनले स्वास्थ्य इकाईलाई स्कुटर हस्तान्तरण गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २५ २०८२, बिहिबार

बागलुङ/पश्चिम बागलुङको निसीखोला गाउँपालिका वडा नं. २ अर्नाकोट तथा ढोरपाटन नगरपालिकाको वडा नं. २, ५ र ७ संगमस्थलमा रहेको अर्नाकोट सामुदायिक स्वास्थ्य इकाईलाई स्कुटर प्रदान गरिएको छ ।

घरदैलो गरेर प्रसूती, गर्भवती महिला र नवजात शिशुको रेखदेख तथा बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले कर्मा फ्लाइट फाउण्डेसनले स्वास्थ्य इकाईलाई स्कुटर हस्तान्तरण गरेको हो । निसीखोला गाउँपालिका वडा नं. २ देविस्थान वडा कार्यालय र स्वास्थ्य संस्थाको आग्रहमा स्वास्थ्य इकाईलाई स्कुटर प्रदान गरिएको फाउण्डेसनका निर्देशक प्रेम कुँवरले जानकारी दिए ।

कठिन भूगोलमा रहेको स्वास्थ्य संस्थालाई आवतजावतका लागि सवारी साधन प्राप्त भएपछि मातृशिशु र अन्य बिरामीको घरदैलो गरेर उपचार गर्न सहज हुने वडाध्यक्ष कुविर विश्वकर्माले विश्वास व्यक्त गरे । अर्नाकोटमा निसीखोला वडा नं. २ देविस्थान र ढोरपाटन नगरपालिकाका गरी झण्डै तीन सय परिवारको बसोबास छ ।

बर्थिङ सेन्टरका लागि कर्मा फ्लाइट फाउण्डेसनले भवन निर्माण गरिदिएको हो । फाउण्डेसनले २० लाख रुपियाँ सहयोग गरेपछि बनेको भवनमा २५ लाख रुपियाँका उपकरण समेत सहयोग गरेको थियो । दुई जना कर्मचारीलाई फाउण्डेसनले सहयोग समेत गरेको छ । फाउण्डेसनले १० लाख रुपियाँ खर्चेर स्वास्थ्य इकाईमा प्रसुती प्रतिक्षाघर समेत निर्माण गरिदिएको छ ।

सामुदायिक स्वास्थ्य इकाईमा बर्थिङ सेन्टर सञ्चालन भएपछि ग्रामीण भेगका महिलाले प्रसुतीको बेला पाउने दुःख पनि कम भएको छ । गाउँघरमै सुरक्षित सुत्केरी सेवा पाउँदा बुर्तिवाङ अस्पतालसम्म पुग्नुपर्ने बाध्यता टरेको छ । ‘‘घर छेवैमा खुलेको सुरक्षित सुत्केरी सेवाले खर्च र समयसंगै दुःख पनि कम भएको छ’’ स्थानीय रमा विकले भनिन्, ‘‘बर्थिङ सेन्टरले ज्यान र पैसा दुवै बचाएको छ ।’’

घरपायकमा स्वास्थ्य इकाइ स्थापना भएपछि उपचारमा सहज भएको स्थानीय नर्मती रसाइलीले बताइन् । ‘‘पहिला गाउँका धेरै दिदीबहिनीले सुत्केरी हुन नसकेर ज्यान गुमाए’’ रसाइलीले भनिन्, ‘बर्थिङ सेन्टरले धेरै आमाहरुलाई नयाँजीवन दिएको छ ।’ इकाइको तथ्यांक अनुसार, अर्नाकोट क्षेत्रमा होम डेलीभरी समेत छैन ।

सामुदायिक स्वास्थ्य इकाईमा सुविधा थपिएपछि ग्रामिण क्षेत्रका सहज रुपमा स्वास्थ्य सेवा पाएको वडाध्यक्ष विकले बताए । ‘‘जटिल समस्यामा स्वास्थ्यकर्मीले समयमै सुरक्षित अस्पतालमा रिफर गरिदिन्छन् । बर्थिङ सेन्टर नहुँदा कतिपय महिला जोखिम मोलेर घरमै सुत्केरी हुनुपर्ने बाध्यता अन्त्य भएको छ’ विकले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->