बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरामा जलन अस्पताल निर्माणका लागि अध्ययन सुरु

पोखरामा जलन अस्पताल निर्माणका लागि अध्ययन सुरु

अध्ययनका लागि कोरियन सहयोग नियोग (कोइका) को उच्चस्तरीय विज्ञ टोली आइतबारदेखि पोखरामा छ । टोलीमा कोइकाका कन्ट्री डाइरेक्टर मुहोन कोङ, डेपुटी कन्ट्री डाइरेक्टर, असिस्टेन्ट कन्ट्री डाइरेक्टरसहित विभिन्न विषयका १७ जना कोरियाली विज्ञ छन् ।


  • ढाेरपाटन संवाददाता
  • मंसिर २५ २०८२, बिहिबार

पोखरा/पोखरामा एक सय शैय्याको बर्न तथा स्पेशलाइज्ड अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन थालिएको छ । साविकको लेखनाथ नगरपालिका कार्यालय रहेको स्थानमा अस्पताल बनाउने गरी अध्ययन थालिएको हो ।

अध्ययनका लागि कोरियन सहयोग नियोग (कोइका) को उच्चस्तरीय विज्ञ टोली आइतबारदेखि पोखरामा छ । टोलीमा कोइकाका कन्ट्री डाइरेक्टर मुहोन कोङ, डेपुटी कन्ट्री डाइरेक्टर, असिस्टेन्ट कन्ट्री डाइरेक्टरसहित विभिन्न विषयका १७ जना कोरियाली विज्ञ छन् ।

टोलीले पोखरा महानगरपालिका अन्तर्गत सञ्चालित जिभिजेड परियोजना (प्रदर्शन केन्द्रमा निर्माणाधीन परियोजना केन्द्र) को प्रगति तथा अनुगमन गर्नुका साथै अस्पताल निर्माणबारे आवश्यक परामर्श गरिरहेको छ । मिसनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सहसचिव निता पोखरेल, उपसचिव प्रल्हाद कार्की, युएनडिपीका डेपुटी रेजिडेन्ट रिप्रेजेन्टेटिभ जुलियन चेभिलार्ड तथा महानगरको टोली सहभागी छन् ।

अस्पताल निर्माणका लागि साविक लेखनाथ नगरपालिका कार्यालय रहेको ३६ रोपनी जग्गा प्रयोगमा ल्याइने भएको छ । उक्त क्षेत्रमध्ये ३ रोपनीमा वडा नम्बर २७ को कार्यालय निर्माण सम्पन्न भइसकेको छ भने ५ रोपनी क्षेत्रफलमा एडीबीको सहयोगमा विपद् व्यवस्थापन केन्द्र निर्माण प्रक्रिया अघि बढिरहेको छ ।

बाँकी रहेको २८ रोपनी क्षेत्रमा बर्न अस्पतालसँगै प्रसूति तथा स्त्री रोग, बालबालिका, ट्रमा, मिर्गौला तथा अन्य आवश्यक विशिष्ट सेवाहरू समावेश गरी यसलाई एक स्पेशलाइज्ड हस्पिटलको रूपमा विकास गर्ने प्रतिबद्धता महानगरका मेयर धनराज आचार्यले जनाएका छन् । महानगरले अस्पतालमा जलन उपचारका साथै अन्य कुन विषयको सेवा छान्नु उपयुक्त हुन्छ भन्नेबारे सुझाव समेत माग गरेको छ ।

यस विषयमा महानगरले सुझाव वा परामर्श भएमा लेखेर, भेटेर वा इमेलमार्फत दिन सकिने जनाएको छ । गत वर्ष प्रदर्शनी केन्द्रमा पोखरा भ्रमण वर्ष २०२५ को घोषणा सभामा प्राविधिक कारणले बेलुनमा आगलागी भएर तत्कालिन संघीय अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि तत्कालै काठमाडौ लगिएको थियो । त्यसपछि मेयर आचार्यले एक वर्षभित्र पोखरामै जलन उपचार अस्पताल बनाउने जनाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->