पोखरा/अभद्र व्यवहार, चोरी र सार्वजनिक अपराध मुद्दामा आठौँपटक पक्राउ परेका एक युवालाई कास्की प्रहरीले फेरि पक्राउ गरेको छ । अहिले उनी पक्राउ परेको नवौँपटक हो ।
कास्की प्रहरीले प्युठान घर भई पोखरा महानगरपालिका ३ नदीपुर बस्ने २४ वर्षका सुमित थापा मगरलाई चोरी मुद्दामा नै फेरि पक्राउ गरेको हो । कास्की कारागारमा सजाय काटिरहेका थापा भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अन्य कैदीसँगै भागेका थिए ।
त्यसपछि कारागार नफर्केका थापालाई प्रहरीले फेरि चोरी मुद्धामा नै पक्राउ गरेको हो ।
कास्की जिल्लाका विभिन्न स्थानहरुमा पछिल्लो समय चोरीका घटनाहरु बढेका छन । स्थानीयको गुनासो बढेपछि जिल्ला प्रहरी कार्यालय कास्की र मातहत प्रहरी कार्यालयबाट अनुसन्धान तथा खोजतलास गर्दै जाँदा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोली थापासहित धादिङ घर भइ पोखरा महानगरपालिका वडा नं. ३ नदिपुर बस्ने २७ वर्षका सुजन परियारलाई पनि नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई पोखरा ९ रामघाटबाट नियन्त्रणमा लिइएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिए ।थापा र परियार एक्लाएक्लैदेखि संयुक्त रुपमा चोरीका घटनामा संलग्न देखिएका छन ।
प्रहरीका अनुसार गएको असोज २७ गते पोखरा १३ विपीमार्गमा रहेको लक्ष्मी ट्रेडर्समा चोरी भएको थियो । राति ११ बजेको समयमा नगद काउण्टरको घर्रा फोरेर ४१ हजार रुपैयाँ नगदसहित राष्ट्रिय परिचय पत्र, सवारी चालक अनुमति पत्र, बिलबुक, नागरिकता समेतको कागजपत्र सहितको ब्याग चोरी भएको थियो । यो घटनामा सुमित थापा मगर संलग्न रहेको प्रहरीले जनाएको छ ।
पछिल्लोपटक मंसिर ४ गते पोखरा महानगरपालिका वडा नं. ४ मा सवारी साधन चोरी भएको थियो । आदर्शमार्ग सडक किनारामा पार्किङ गरी राखेको ग १५ प १०२० नं. को होण्डा कम्पनीको पहेलो कालो रङको डियो स्कुटर चोरी गरेको आरोप थापा र परियार दुवैजनालाई छ ।
मंसिर ६ गते पोखरा १७ ड्यामसाइडमा रहेको आरुस स्टोर्समा चोरी भयो ।
स्टोर्सको ढोका फोडेर दुई लाख ७३ हजार पाँचसय रुपैयाँ चोरी घटनामा थापा एकल रुपमा संलग्न थिए । पोखरा ८ न्यूरोडमा भने मंसिर १० गतेको चोरी घटनामा दुवैजना संलग्न देखिएका छन ।
न्यूरोडस्थित एक वाइनसप अगाडि पार्किङमा राखिएको ग १ क २५९८ नं. को गाडीबाट लाईसेन्स, बिलबुक, एटिएम कार्ड, विभिन्न चेक र नगद ३५ हजार रुपैयाँ चोरीमा दुवैजना संलग्न रहेको प्रहरीले जानकारी दियो ।थापा मगर पटकपटक पक्राउ परेका हुन भने परियार पनि यस अगाडि अभद्र व्यवहार मुद्दमा पक्राउ परेका थिए ।उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





