काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानमाथि योजनाबद्ध आक्रमण भइरहेको दाबी गर्दै देश बनाउने र देश जलाउनेबीचको संघर्ष निर्णायक चरणमा पुगेको बताए।
भक्तपुरमा सुरु भएको एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ‘लोकतन्त्र अजेय छ र नेकपा (एमाले) अजम्बरी छ’ भन्ने स्पष्ट सन्देश दिए।
अध्यक्ष ओलीले तीन महिनाअघि देश युद्धभूमि जस्तै बनेको स्मरण गर्दै संविधान, लोकतन्त्र र राजनीतिक दलहरूलाई समाप्त पार्ने भाष्य निर्माण गर्ने प्रयास भएको उल्लेख गरे।
‘धुँवा, खरानी र निषेधका सबै प्रहार चिर्दै आज यहाँ देखिएको जनसागरले प्रमाणित गरेको छ- लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ,’ लिखित भाषणमा ओलीले भने।
उनले भदौ २३ र २४ का घटनालाई सामान्य असन्तुष्टि नभई राज्यका तीनै अंगमाथि गरिएको गम्भीर षड्यन्त्रको रूपमा व्याख्या गरे।
राष्ट्रपति भवनदेखि संसद, अदालत, सरकारी कार्यालय, पार्टी कार्यालय र निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड र लुटपाटले मुलुकको राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्रलाई निशाना बनाइएको ओलीको आरोप थियो। ‘त्यो महाविनाश न हामीले बिर्सेका छौँ, न बिर्सनेछौँ,’ उनले भने, ‘त्यसको छानबिन होस्, दोषी पहिचान होस् र अपराधीले सजाय पाऊन्।’
अध्यक्ष ओलीले आफूले थप क्षति नहोस् भनेर राजीनामा दिएको उल्लेख गर्दै अनधिकृत सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको आरोप लगाए। उनले प्रतिनिधिसभा तत्काल पुनःस्थापना गरी संविधान र लोकतन्त्रको बाटोमा देश फर्काउनुपर्ने माग दोहोर्याए।
युवा पुस्ताबारे बोल्दै ओलीले एमाले ‘जेनेरेशन-जेड विरोधी’ नभएको स्पष्ट पारे। प्रविधि, स्टार्टअप, सीप विकास, डिजिटल नेपाल र एआई नीतिलाई प्राथमिकता दिएको पार्टी कसरी युवाविरोधी हुन सक्छ भन्ने प्रश्न गर्दै उनले युवालाई भ्रममा नपर्न आग्रह गरे। ‘असहमति राख्नुस्, आलोचना गर्नुस्, तर लोकतन्त्र, संविधान र राजनीतिक स्थायित्व कमजोर पार्ने बाटोमा नजानुस्,’ उनले भने।
महाधिवेशनलाई एकता र लोकतान्त्रिक अभ्यासको उदाहरण बनाउने आह्वान गर्दै अध्यक्ष ओलीले एमालेको शक्ति एकतामा रहेको उल्लेख गरे। ‘एघार भनेको एउटै दिशामा उभिएका ‘एक-एक’ हो,’ उनले भने, ‘एक एमालेले अर्को एमालेसँग हात मिलाउँदा मात्रै हामी बलियो एघार बन्छौँ।’
उनले थपे–‘‘एक एमालेले अर्को एमालेसँग हात मिलायो, मन जोड्यो भने हामी साधारण एक-एक रहँदैनौँ, हामी एघार बन्छौँ। तर रिस, घात–प्रतिघातमा गयौँ भने हामी एक–एकमै सीमित हुन्छौँ।’
उनले सबै राजनीतिक दल, नागरिक समाज, मिडिया र जनसमुदायलाई संविधान, लोकतन्त्र र राष्ट्रिय एकताको रक्षा गर्न सहकार्यका साथ अघि बढ्न आह्वान गरे।
कार्यक्रम स्थलको दृश्य र अव्यवस्था
औपचारिक कार्यक्रम सुरु हुनुअघि नै सल्लाघारी क्षेत्र खचाखच भरिएको थियो। जुलुसहरू एक किलोमिटर टाढाबाट आइरहेका थिए। मोबाइल नेटवर्क अवरुद्ध हुँदा कार्यकर्ताले प्रत्यक्ष प्रसारण गर्न सकेनन् भने पत्रकारलाई समाचार संकलनमै समस्या देखियो। धुलो, अव्यवस्था र भीडका बीच पनि कार्यकर्ताको ऊर्जा भने उच्च देखिन्थ्यो। ओलीको सम्बोधन सकिँदासम्म पनि टाढा टाढाबाट नारा लगाउँदै सहभागीहरू आइरहेका थिए।
उपमहासचिवको सञ्चालन र महासचिवको स्वागत अलमलमा वरिष्ठ उपाध्यक्ष
महाधिवेशनको सञ्चालन परम्पराअनुसार महासचिवले गर्ने चलन रहे पनि यस पटक उपमहासचिव प्रदीप ज्ञवालीले सञ्चालन गरे। महासचिव शंकर पोखरेलले सम्बोधन गरे तर पार्टी वरियतामा दोस्रो स्थानमा रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल स्वागत वा सम्बोधनको प्राथमिकतामा परेनन्- जसले आन्तरिक राजनीतिक सन्देश दिएको देखियो।
ठूला दलका शीर्ष नेताको अनुपस्थिति- अर्थपूर्ण सङ्केत
राजधानी नजिकै भएको एमालेको ऐतिहासिक महाधिवेशनमा देशका ठूला दलका शीर्ष नेताहरू स्वयं उपस्थित भएनन्। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नआएर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाए।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल अनुपस्थित रहे। मधेस केन्द्रित दलका शीर्ष नेता पनि आएनन्। जेन-जी आन्दोलनबाट सबैभन्दा बढी क्षति भोगेको एमालेको यो महाधिवेशन शीर्ष नेताको प्राथमिकतामा किन परेन रु यो प्रश्न सहभागी कार्यकर्ताबीच अर्थपूर्ण बहसको विषय बन्यो।
कसले के भने ?
विप्लवको प्रतिरक्षा- नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एमालेमाथि भएको हमला राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै परिणाम भएको बताए।
‘यो हमला साम्राज्यवादी योजनाअन्तर्गत भएको हो।’ उनले अहिलेको सरकारलाई अवैधानिक र कठपुतली को संज्ञा दिए र सर्वपक्षीय सरकारबाट चुनावको विकल्प नभएको बताए। नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले उनी एमाले पक्षमा लागेर आफ्नो एकतामा नआएको आरोप लगाइरहेका बेला विप्लवले खुलेर एमालेको प्रशंसा गरेका थिए ।
उनले एमालेविरुद्धको भयानक प्रहार सामान्य अवस्थाको नरहेको जनाएका थिए । निर्वाचनमा जान रास्वपाको आग्रहस् महामन्त्री कवीन्द्र बुर्लाकोटीले एमालेले चुनावमा भाग लिएर संविधानलाई लिकमा ल्याउन ढिलाइ नगर्न आग्रह गरे। जेन-जी आन्दोलनको क्षतिमा सबै दलले जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो।
फुटको अनुभव बुझेर अघि बढ्न कांग्रेसको सन्देशस् कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी फुट्दा र जुट्दाको पीडाबाट शिक्षा लिन आग्रह गर्दै सहमति वा मैत्रीपूर्ण प्रतिस्पर्धा मा नेतृत्व छान्न सुझाव दिए।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राजा, दल र जेन–जीबीच नयाँ समझदारी को आवश्यकता औँल्याउँदै संविधान नै ‘मरिसकेको’ दाबी गरे। नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले कम्युनिस्ट एकताको विकल्प नभएको भन्दै उनले वामपन्थीहरूबीच सहकार्य अपरिहार्य भएको बताए।
यस्तो छ ओलीको पूर्ण भाषण :





