आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

खगराज ‘न्याय’ पाउनेमा ढुक्क

खगराज ‘न्याय’ पाउनेमा ढुक्क

पृथ्वीसुब्बा गुरुङ, पद्मा अर्याल, किरण गुरुङ र जगत विश्वकर्माहरु कहाँ पुग्लान् ?


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०८२, आइतबार

पोखरा/केन्द्रमा लामो समयदेखि केपी ओलीलाई साथ दिँदै आएका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीबीचको बेमेल सतहमै देखिँदै आएको थियो । पार्टीको आन्तरिक बैठकमा यी दुई नेताले एक–अर्कालाई छेडखानी गर्थे । कहिलेकाहिँ त सार्वजनिक समारोहमा पनि त्यस्तो दृष्य देखिन्थ्यो । गण्डकी प्रदेश अधिवेशन, पोखरा नगर कमिटी अनि कास्की जिल्ला कमिटी चुनावमा दुबै नेताले आफूपक्षीय उम्मेदवार खडा गरेका थिए । को बलियो बन्ने भन्ने अघोषित प्रतिस्पर्धा तल्ला कमिटीसम्मै फैलिएको थियो । तर, ११ औं महाधिवेशनका निम्ति प्रतिनिधि छान्ने बेला उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराजले एकाएक ‘चोचोमोचो’ मिलाएको गाइँगुइँ चल्यो । कास्कीमा प्रतिनिधि छान्ने क्रममा पृथ्वीसुब्बापक्षीय नेताको रुपमा चिनिने यी दुई नेताले भागबण्डा गरे । कास्कीमा १ सय २२ जनाले प्रतिनिधिमा आंकाक्षा देखाए पनि चुनाव गरिएन । पृथ्वीसुब्बापक्षीय नेता जगत विश्वकर्मा र खगराज पक्षधर नेताकृष्ण थापाबीचको सहमतिपछि एकाएक प्रतिनिधि घोषणा गरियो ।

यो माहौल निर्माणको खेल चाहिँ लामो समयदेखि चलेको थियो र त्यसको अगुवाइ दुबै पक्षका दोस्रो तहका नेताहरुले नै गरेका थिए । उपमहासचिव पृथ्वीसुब्बा ११ औं महाधिवेशनका निम्ति स्वभाविक रुपले महासचिवको दाबेदार बन्दा कम्तिमा गण्डकी प्रदेश उनको पक्षमा उभिनुपर्ने निश्कर्ष त्यो समूहको थियो । पछिल्लो समय केपी ओली र मुख्य रुपले महासचिव शंकर पोखरेलसँग नजिक रहेका खगराज बिच्किँदा पहिलो गासमै ढुंगा लाग्थ्यो । आफूलाई समर्पणको पर्यायको रुपमा प्रस्तुत गर्दै आएका खगराजको हकमा पनि पृथ्वीसुब्बा दायाँ नहुँदा अगाडि बढ्न कठीन हुन्थ्यो । त्यसैले त्यो समूहले मध्यमार्गी बाटो तय ग¥यो ।

‘गण्डकीबाट पदाधिकारीमा जान चाहनेहरुलाई यहाँबाट प्रतिनिधि बन्ने सबैले सघाउने र नेताबीच पनि एकता गर्ने भन्ने हाम्रो प्रस्ताव रह्यो,’ती नेताले भने,‘यसो गर्दा कसैको हार हुँदैन । जो भए पनि गण्डकीकै नेता अगाडि बढ्दा राम्रो हुन्छ भन्ने कुरामा दुबै कमरेड सहमत हुनुभयो र सँगसँगै अगाडि बढ्ने अवस्था आयो ।’

तर, खगराजपक्षीय अर्का नेता यो कुरा मान्न तयार छैनन् । उनका अनुसार १० औं महाधिवेशनमै महासचिव दाबी गरेका पृथ्वीसुब्बाको सपना पूरा हुन शंकर पोखरेल र प्रदीप ज्ञवालीलाई पछार्नुपर्छ । अर्थात् शंकर महासचिवमा दोहोरिने वा प्रदीप बढुवा हुने अवस्था आउनु हुँदैन । शंकर दोहोरिँदा खेलो खत्तम हुने बुझेका पृथ्वीसुब्बा र शंकरबाटै त्रसित रहेका विष्णु पौडेलबीच पनि यस विषयमा कुरा मिल्यो । शंकरले चाहिँ गण्डकी प्रदेशमा देखिएको किचलोलाई नजिकबाट नियाल्दै आएका थिए र लुम्बिनीबाट बिस्तारै गण्डकीतर्फ हात लम्काउँदै थिए । महासचिव र अध्यक्ष ओली निकट भएकाले उनीसँग नजिकिँदै शक्ति आर्जन गर्न यहाँका केही नेता त्यतै लागेपछि पृथ्वीसुब्बा झस्केका थिए । उनी कम्तिमा गण्डकीमा शंकरलाई हावी हुन दिन चाहँदैनथे र त्यसका निम्ति खगराजसँग मिल्नुको विकल्प थिएन । उता, राजनीतिक रुपले पृथ्वीसुब्बा र खगराजभन्दा सिनियर किरण गुरुङ पनि पदाधिकारीको प्रतिस्पर्धामा देखिँदा पृथ्वीसुब्बालाई पन्छ्याएर कतै अध्यक्ष ओलीले जनजाति पृष्ठभूमिका किरणलाई रोज्छन् कि भन्ने डर पनि थियो ।

‘मन मिलेर हैन कि स्वार्थका कारण पीएस र खगराज अहिले एकैठाउँ देखिएका हुन्,’खगराज निकट ती नेताले भने,‘पदाधिकारी आफ्नो रहर र क्षमताले भइने पनि हैन । तिमीहरु लड्दै छौ,त्यसैले अहिलेलाई भएन भन्दै पाखा लगाइदिँदा राजनीतिक भविष्य सकिने डरले यी मिलेका हुन् ।’

दुई नेता मिलेको सन्देश अहिले केपी ओलीसम्म पुगिसकेको छ । अध्यक्ष ओलीले महाधिवेशन अगावै कास्की र अन्य जिल्लाबाट चुनिएका प्रतिनिधिहरुलाई सामूहिक र छुट्टाछुट्टै भेटेर आफ्नो पक्षमा पारिसकेका छन् । अर्थात् अध्यक्षमा ओलीलाई नै मतदान गर्ने गरी सबैलाई निर्देशन÷आश्वासन दिइसकेका छन् । पदाधिकारी र केन्द्रीय सदस्य कसलाई बनाउने भन्नेबारे चाहिँ उनले मुख खोलेका छैनन् । त र, आश्वासन चाहिँ दिएका छन् ।

एमालेमा पदाधिकारी संख्या नबढाउने निर्णय भएको छ । गण्डकीबाट उपमहासचिवमा पृथ्वीसुब्बा र सचिवमा स्याङ्जाकी पद्मा अर्याल रहेकी छन् । यी सबै पदाधिकारी नै हुन चाहन्छन् । त्यसमा किरण गुरुङ र खगराज थपिँदा गण्डकीबाट कसलाई कुन पद दिने भन्ने निर्णय गर्न ओलीलाई पनि कठीन नै छ । यद्यपि, उनले योपटक चाहिँ ‘खगराजलाई न्याय गर्छु’ भन्ने आश्वासन दिएका छन् । त्यसैले खगराज योपटक खुस छन् ।

शुक्रबार कास्कीका प्रतिनिधिले भेट्ने क्रममा पनि अध्यक्ष ओलीले त्यसको संकेत गरे ।

‘हामी खासमा अध्यक्षलाई भेट्न गएका हौँ । उहाँको हामी सबैसँग पहिल्यैदेखि चिनजान थियो । पार्टीलाई एकढिक्का बनाएर लैजाने हो, चुनौती सामना गर्ने हो भन्ने कुरा राख्नुभयो,’केन्द्रीय सदस्यको दाबेदारी गरिरहेका युवा प्रतिनिधि रश्मी आचार्यले भने,‘अध्यक्षज्यूले लमजुङले पदाधिकारीमा आफ्नोलाई (पृथ्वीसुब्बा) लाई एक स्टेप अगाडि बढाउन खोजेको छ । कास्कीले इन गर्न खोजेको छ, मैले बुझेको छु, तपाईंको कुरो त्यही हैन त ?तपाईंको चाहना यसपटक पदाधिकारीमा हैन त ? भन्नुभयो ।’

खगराजलाई पदाधिकारी बनाउने भनेको सचिव नै हो । खगराज सचिव हुँदा पृथ्वीसुब्बा, किरण,पद्माहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रष्ट छैन । यता,जगत विश्वकर्माले पनि समावेशीबाट आफूलाई सचिवको रुपमा उभ्याएका छन् । प्रष्ट चाहिँ यो छ कि, सबै अहिले केपी ओलीको विकल्प छैन भन्ने समूहमा छन् । ती सबै नेताहरुलाई पच्छ्याउँदै केन्द्रीय सदस्यमा दाबी गर्नेहरुको संख्या पनि गण्डकीमा कम छैन । गण्डकी प्रदेश सभापति नवराज शर्मादेखि यसअघिका ४ दर्जन हाराहारीका केन्द्रीय सदस्य पुनः दोहोरिने मुडमा छन् । कास्कीकै युवा नेता तथा रुपा गाउँपालिकामा दुई कार्यकाल अध्यक्ष जितेका नवराज ओझा पनि केन्द्रीय सदस्यको दौडमा छन् ।

एमाले स्रोतका अनुसार खगराज ‘सेफ जोन’मा छन् भने अरु नेताको व्यवस्थापन कसरी हुने हो भन्ने पत्तौ छैन । आफ्नैबारे सोच्दै आएका यी नेताहरुलाई आफू पक्षधरलाई केन्द्रीय सदस्य बनाउनुपर्ने दबाब पनि उत्तिकै छ ।

‘आज उद्घाटन सकिएको छ । उम्मेदवारी दिनेको संख्या ठूलो छ । पदाधिकारी बन्नैका लागि अर्को गुटमा जाने वा ओलीसँग विद्रोह गर्ने हिम्मत अहिले पदाधिकारी दाबी गर्ने कसैसँग छैन,’एमालेका एक नेताले भने,‘हदै भए सदस्यमा खुला छाड्ने होला । त्यो बेला चाहिँ गुटबन्दी हुनसक्छ ।’

उनले पृथ्वीसुब्बाले आफूलाई महासचिवको दाबेदार बताए पनि उनी उपाध्यक्षमा जान तथा प्रदीप ज्ञवालीलाई महासचिव छाड्न तयार भएको दाबीसमेत गरे ।

‘विष्णु पौडेल र पीएस (पृथ्वीसुब्बा) दुबैका निम्ति शंकर कमरेड तगारो हो, शंकरलाई अस्वीकार गर्ने मामिलामा यी दुई नेता एकै ठाउँ छन्,’उनले भने,‘ अहिले पीएसले सार्वजनिक रुपले नै नेतृत्वको विरोध गर्दिन भन्नुभएको छ । उहाँ उपाध्यक्ष जान तयार हुनुहुन्छ । भनेको नमाने किरण कमरेडलाई जनजाति पृष्ठभूमिबाट अगाडि बढ्ने सम्भावना भएकाले पनि त्यस्तो भएको हो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->