पोखरा/नेपाली कांग्रेस नवलपुर जिल्ला समितिले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उम्मेदवारका आकांक्षीका नाम सिफारिस गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिले बहालवाला प्रदेशसभा सदस्यलाई उमेदवार सिफारिस नगर्न परिपत्रमार्फत निर्देशन दिएको थियो । तर, कांग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जिसी आफूले आफैलाई सिफारिस गरेका छन् । उनी गण्डकी प्रदेशसभाका बहालवाला सदस्य हुन् । उनी पूर्वमन्त्री पनि हुन् ।
नवलपुरमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । नवलपुर–१ बाट पहिलो नम्बरमा डा. शशांक कोइरालाको नाम सिफारिस गरिएको छ । त्यसपछि जिसीको नाम छ ।
जिसीसहित १३ जना प्रत्यक्षतर्फ छन् । १० जना समानुपातिकतर्फका आकांक्षीका नाम प्रदेश कार्यसमितिलाई सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर–२ बाट प्रत्यक्षतर्फ चार र समानुपातिकमा पनि चारजनाको नाम सिफारिस गरिएको छ । प्रत्यक्षतर्फ एक महिला अनिवार्य भए पनि मापदण्डअनुसार नाम सिफारिस गरिएको छैन ।
राष्ट्रियसभातर्फ ६ जना सिफारिस
कांग्रेस नवलपुर जिल्ला समितिले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति ६ जनाको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर–१ बाट गण्डकीका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली, भानु सिग्देल र द्रोणवन सन्यासीको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर–२ बाट सुमित्रादेवी खनाल, डा. ज्ञानेन्द्र पौडेल र दुर्गाबहादुर रानामगरको नाम सिफारिस गरिएको छ ।





