पोखरा/कास्की कांग्रेसमा प्रतिनिधिसभा क्षेत्रीय समिति जिल्ला कार्यसमितिप्रति रुष्ट बनेको छ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनका लागि एकजना महिला सहित तीनजनाको नाम सिफारिस गर्न परिपत्र गरेको थियो ।
सोही अनुसार कास्की कांग्रेसको प्रतिनिधीसभा क्षेत्र नं. १ मा २१ मंसिरमा क्षेत्रीय समितिले बैठक डाक्यो । बैठकमा आकांक्षीहरुको नाम संकलन गर्ने काम भयो ।
प्रत्यक्षतर्फ १२ जनाले उम्मेदवार बन्ने आकांक्षा राखे ।तर, केन्द्रको परिपत्रचाहिँ एकजना महिलासहित तीनजना भन्ने थियो । त्यसकारण उम्मेदवारी टुंगो लाग्न ढिलाई भयो । सहमति नजुटेपछि निर्वाचन नै गर्ने र बढि मत ल्याउने तीनजनाको नाम सिफारिस गर्ने तयारीमा नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय समिति, क्षेत्र नं. १ थियो ।
तर, नेपाली कांग्रेस जिल्ला कार्यसमिति काूस्कीले आकांक्षी १२ जनाकै नाम प्रदेश समितिमा पठाइदिएको छ । त्यसको विरोधमा क्षेत्र नं. १ को समितिले सभापति किशोरदत्त बरालले मनोमानी गरेको आरोप लगाएको छ ।
यो क्षेत्रबाट कास्की कांग्रेसका निवर्तमान सभापति कृष्णबहादुर केसी, तिलकबहादुर रानाभाट, कांग्रेस सहमहामन्त्री जीवन परियार, केन्द्रिय सदस्य गुरु बराल, निवर्तमान सचिव सुदिपमोहन भट्टराई, जिल्ला सचिव भानुभक्त ढकाल, प्रेमप्रसाद शर्मा सुवेदी, पुष्पमणि भण्डारी, अप्सरा श्रेष्ठ, बुद्धिमान गुरुङ र गिरीराज गौतम आकांक्षी थिए ।
यिनीहरु मध्येबाट नै केन्द्रिय परिपत्र अनुसार तीनजनाको नाम टुंग्याउने र बल्ल जिल्लामा पठाउने तयारी क्षेत्रीय समितिको थियो । जिल्लाले सबै नाम प्रदेशमा पठाइदिइसकेपछि प्रतिनिधीसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १ का सभापति राजेन्द्रमणि लामिछानेले विज्ञप्ती नै जारी गरेर सभापतिको मनोमानीप्रति खेद व्यक्त गरेका छन् ।
विज्ञप्तीमा निरन्तर उमेदवार छनौटका लागि विभिन्न चरणमा भेला छलफल जारी रहेको बेला सभापति बरालले प्रदेशमा क्षेत्र नं. १ को उमेदवारको नामावली बुझाएकोमा आपत्ति जनाइएको छ । क्षेत्रीय समितिले सिफारिस नै नगरेको अवस्थामा नामावली पठाइनु विधान विपरित रहेको उल्लेख छ ।
‘छनोट सिफारिस स्पष्ट रुपमा नेपाली कांग्रेसको विधानले यस समितिलाई नै नाम संकलन र सिफारिस गर्ने अधिकार भएको हुँदा जिल्ला सभापतिको सिफारिस अवैध भएको प्रष्ट पार्न चाहन्छौँ,’ लामिछानेले भने ।
केन्द्रको परिपत्र अनुसार नै सहमति, सहकार्य गरेर निष्कर्ष निकाल्ने वातावरण बनाउने गरी छलफल चलिरहेको बेला अकस्मात जिल्ला सभापतिको क्रियाकलापले पार्टीलाई अपूरणीय क्षति पु¥याएको र कार्यकर्ताको मनोबल गिरेको विज्ञप्तिमा उल्लेख छ । साथै, समितिले उमेदवार सिफारिसका लागि संकलित नामावली र अन्य प्रक्रिया बाँकी नै रहेको उल्लेख गरिएको छ ।





