आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

जम्बो केन्द्रीय कमिटीमा पुग्न गण्डकीका नेताहरुको दौडधूप

जम्बो केन्द्रीय कमिटीमा पुग्न गण्डकीका नेताहरुको दौडधूप

गण्डकीका अधिकांश पुरानाहरु दोहोरिने मुडमा


  • ढोरपाटन संवाददाता
  • मंसिर २९ २०८२, सोमबार

पोखरा/गएको भदौमा सम्पन्नदोस्रो विधान अधिवेशनले गरेको निर्णय उल्ट्याइएपछि एमाले केन्द्रीय कमिटीमा अध्यक्षसहित ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ९ सचिव हुने व्यवस्था गरेको छ ।

एमालेको आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले पोलिटब्यूरोको एक तिहाइ संख्याको स्थायी कमिटी, पोलिटब्यूरो ९९ सदस्यीय तथा केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय गरेको हो ।

पुनः अध्यक्षमा दोहोरिने अभियानमा रहेका केपी ओलीले आफ्नो समूहमा रहेकाहरुको व्यवस्थापनको लागि पदाधिकारीको संख्या बढाएका हुन् । विधान अधिवेशनले १५ सदस्यीय पदाधिकारीको संख्या १५ र केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने निर्णय गरेको थियो । गएको भदौ २०–२२ मा सम्पन्न दोस्रो विधान अधिवेशनको निर्णय उल्ट्याउँदा वरिष्ठ उपाध्यक्ष पद भने राखिएको छैन । अहिलेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमै प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

अध्यक्ष ओलीले आफूपछिको बरियतामा रहने वरिष्ठ पद नै हटाएर अगाडि बढ्न खोजेका आफ्नै समूहका व्यक्तिहरुलाई समान हैसियतमा राख्ने र आफू अनुकूल हुँदा कार्यवाहक दिएर पदोन्नतिको बाटो देखाउने सम्भावना देखिएको छ । सचिवको संख्या बढाउँदा,४० वर्षमुनिका युवाहरुको केन्द्रीय कमिटीमा उपस्थिति सुनिश्चित गर्दा आफ्नो पकड बलियो हुने ठानेर नै ओलीले त्यो निर्णय गरेका एमालेका एक केन्द्रीय सदस्यले बताए । केन्द्रीय कमिटीमा अब उपत्यकासहित आठ प्रदेशबाट नौ जनाका दरले ७२ केन्द्रीय सदस्यीय चुनिनेछन् । प्रत्येक प्रदेशमा खुल्लाबाट पाँच, महिला तीन र युवा एकजना हुनेछन् ।

देशभरको खुल्ला प्रतिस्पर्धामार्फत् १२५ जना केन्द्रीय सदस्य चुनिने व्यवस्थ गरिएको छ । जसमा खुल्लाबाट ७१, महिला ५२ र युवा २ जना हुनेछन् । जनजाति आदिवासीतर्फ २५ केन्द्रीय सदस्य रहँदा खुल्लाबाट १५, महिला ८ र युवा २ केन्द्रीय सदस्य चुनिनेछन् ।

मधेसी क्लस्टरमा २० केन्द्रीय सदस्य रहँदा खुल्ला ११, महिला ६ र युवा २ जना हुनेछन् । प्रवासबाट दुईजना केन्द्रीय सदस्य रहने व्यवस्था छ । त्योमध्ये भारतबाट एकजना रहेका छन् । श्रमिकबाट ३ जना रहँदा एक महिला अनिवार्य रहेको छ । अपाङ्गता भएका व्यक्तिबाट एकजना केन्द्रीय सदस्य आउनेछन् । यसमा खुल्ला प्रतिस्पर्धा हुनेछ ।

दलिततर्फ १२ जना केन्द्रीय सदस्य चयन हुँदा खुल्लाबाट ७, महिलाबाट ४ र युवाबाट १ जना चयन हुनेछन् । खुल्ला ५ र महिला ३ गरी थारू समुदायबाट ८ जना केन्द्रीय सदस्य चयन हुँदा मुस्लिम समुदायबाट ५ केन्द्रीय सदस्य रहने व्यवस्था छ । यसमा खुल्लाबाट ४ र महिलाबाट १ जना चुनिनेछन् । पीछडिएको क्षेत्रबाट दुईजना केन्द्रीय सदस्य आउनेछन् । यसमा पनि खुल्लाबाट एक र महिलाबाट एक केन्द्रीय सदस्य चयन हुने व्यवस्था गरिएको छ ।

निर्वाचन कार्यतालिका अनुसार सोमबार उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन हुनेछ भने पुस १ गते निर्वाचनको कार्यक्रम तय भएको छ । पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढेसँगै गण्डकीबाट उम्मेदवारी दिन तम्तयार रहेकाहरुले खुल्ला,प्रदेश,जनजाति वा अन्य कुन समूहबाट उम्मेदवारी दिँदा सजिलो हुन्छ भन्ने रणनीति तय गर्न थालेका छन् । गण्डकीमा अध्यक्ष ओलीकै खेमाबाट केन्द्रीय सदस्य बन्न चाहनेहरुको संख्या ठूलो छ । यसअघि केन्द्रीय सदस्य रहेकामध्ये अधिकांशले पुनः त्यही पदमा दोहोरिने चाहना राखेका छन् भने स्थायी कमिटी सदस्य खगराज अधिकारी र किरण गुरुङले पदाधिकारीमा दाबी पेश गरेका छन् । गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्मादेखि रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, एमाले लमजुङका निवर्तमान जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, बागलुङका वर्तमान अध्यक्ष हीराबहादुर केसीदेखि पीएन क्याम्पसका पूर्वस्वीयू सभापति रश्मी आचार्यसम्मले केन्द्रीय सदस्यमा दाबी पेश गरेका छन् । यसअघि नै चुनिएका १३६ जनासहित केन्द्रीय समितिले थप गरेको १०८ जनामा परेका कास्कीका दामोदर बैरागी,दीलिप न्यौपाने,देवका पहारी,लमजुङका राजेन्द्र घिमिरे,तनहुँका पूर्णबहादुर गुरुङ,गोर्खाका गोपाल पाण्डे र बाबुराम अधिकारी, म्याग्दीका प्रमोद श्रेष्ठ,नवलपुरका जीवन श्रेष्ठ,पर्वतका गणेश तिम्सिना र मेघनाथ सुवेदी,स्याङ्जाका मोहन रेग्मी र सोभियत ढकाल तथा बागलुङका कृष्ण पाठकमध्ये पनि धेरैले केन्द्रीय सदस्य र विभाग ताकेका छन् ।

कास्कीबाट मात्रै चूडामणि जंगली, कृष्ण थापा, पोखरा महानगरकी उपमेयरसमेत रहेकी मञ्जुदेवी गुरुङ, र प्रदेशसभा सदस्य भीम कार्की छन् । मीनाकुमारी गुरुङ, प्रतिनिधिसभा सदस्य विद्या भट्टराई, प्रदेशसभाकी पूर्वसदस्य प्रभा कोइराला, पूर्वसंघीय सांसद सीता गिरी, यसअघिका प्रदेशसभा सांसद राजीव पहारी र बालकृष्ण काउछा मगरले पुन ः केन्द्रीय सदस्य बन्ने इच्छा देखाएका छन् । यीमध्ये पोखरा महानगरकी उपमेयर मञ्जुदेवी चाहिँ चुनाव नै लड्ने पक्षमा नभएको स्रोतले बतायो । मजदुर फाँटबाट रुद्र खत्री,रुपा गाविसका पूर्वअध्यक्ष टीकाराम पँगेनी, नेताहरु तेजनारायण अधिकारी,कास्की नेतृत्वमा पराजित माधव बास्तोला,महानगरको मेयरको टिकट खोसिएका दीपक पौडेल,मादी गाउँपालिकाका पूर्वअध्यक्ष वेदबहादुर गुरुङ ‘श्याम’, भरतमान गुरुङ (कोने), विजया सुवेदी र जगनाथ बास्तोला केन्द्रीय सदस्यको आकांक्षी देखिएका छन् ।

बागलुङबाट अहिलेको केन्द्रीय कमिटीमा रहेका इन्द्रलाल सापकोटा, लीलाबहादुर थापा मगर,गोविन्दबहादुर नेपाली, मनकुमारी केसी जिसी,डा.सूर्य पाठक, सावित्रा राना र कृष्णबहादुर केसी,मञ्जु चालिसे दोहोरिने मुडमा छन् भने वर्तमान अध्यक्ष हीराबहादुर केसीले पनि उम्मेदवार बन्ने अभियान छेडेका छन् । पछिल्लो प्रतिनिधि बनेका गण्डकीका स्वास्थ्यमन्त्री कृष्ण पाठकले पनि त्यो बाटो रोज्नसक्ने एक नेताले बताए । पर्वतबाट पदम गिरी, कल्पना चापागाई र मनोहर बि पौडेल तथा म्याग्दीबाट थममाया थापा, भूपेन्द्रबहादुर थापा र नरदेवी पुनहरुको चाहना पनि त्यही रहेको छ । यीमध्ये इन्द्रलाल सापकोटा चाहिँ अहिलेको एमाले नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाउने नेतामध्ये पर्छन् । केन्द्रीय सदस्य बन्न चाहनेहरुले अहिलेदेखि नै आफूभन्दा उपल्ला नेताहरुलाई गुहार्न थालेका छन् । आकांक्षीहरुले अध्यक्ष ओली सकेसम्म महाधिवेशनमा बाकस थाप्न नपरोस् भन्ने ध्याउन्नमा रहेको बुझेका छन् ।

यीमध्ये अधिकांश सर्वसम्मत हुँदा पनि आफ्नो नाम खल्तीबाट निकालियोस् भन्ने चाहन्छन् । चुनाव नै हुने अवस्था आउँदा चाहिँ आकांक्षीको संख्या घट्न वा बढ्न सक्ने र यीमध्ये केही ईश्वर पोखरेलको समूहबाट पनि उम्मेदवार बन्नसक्ने सम्भावना रहेको छ । प्यानलगत चुनाव हुँदा दुवैतर्फ आफ्नो नाम परोस् भन्ने चाहना राख्नेहरुको संख्या पनि कम नभएको एमालेका एक नेताले बताए ।

गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र खगराज पक्षले प्रतिनिधि छनोटमै भागबण्डा गरेकाले प्रदेशबाट केन्द्रीय सदस्य बन्नेहरुको हकमा पनि यी दुई नेता हाबी हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->