पोखरा/ गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको सरकारको मुख्य कार्यभार भनेकै ताेकिएकै मितिमा आगामी प्रतिनिधिसभाको निर्वाचन गराउने रहेकाे बताएका छन् । यसैले निर्वाचनबाट भाग्ने र चुनाव हुँदैन भनेर अफवाह फैलाउन नहुने भन्दै उनले यो सरकारको निर्माण नै निर्वाचनबाट निर्वाचित सरकारलाई हस्तान्तरण गर्ने उद्देश्यले बनेको बताए ।
पोखरामा सोमबार भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकार चुनाव गर्न दृढ रहेको उल्लेख गरे । लोकतन्त्रको अभिन्न अङ्ग विधिको शासन र निष्पक्ष र धाँधली रहित निर्वाचन रहेकाले निर्वाचनबाट भाग्ने, निर्वाचन हुँदैन भनेर अफवाह फैलाउने र सुशासनलाई कमजोर बनाउने काम गर्नु न्यायोचित नहुने उनको भनाई थियो । ‘यो सरकारको निर्माण नै निर्वाचनबाट निर्वाचित सरकारलाई हस्तान्तरण गर्ने उद्देश्यले बनेको हो । सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ,’ उनले भने, ‘लुटिएका हतियार र फरार कैदीबन्दीलाई प्रमुख सुरक्षा चुनौती मानिएको छ । त्यसलाई समाधान गर्न सरकार जिम्मेवार भएर लागेको छ ।’ लुटिएका हतियार बरामदका लागि विशेष अपरेसन चलाएर गृह मन्त्रालयले काम गरिरहेको उनले बताए ।
फरार कैदीबन्दीमध्ये ७० प्रतिशत फिर्ता आइसकेका गृहमन्त्री अर्यालले जनाए । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने र तोकिएकै मितिमा निर्वाचन हुनेगरी सरकारले आवस्यक तयारी गरिरहेको उनले बताए । ‘स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कार्यविधि तयार भएर कार्यान्वयनमा छ,’ उनले भने, ‘निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको तयारीका लागि सरकारले यो सुरक्षा गोष्ठी गरेको हो । यसमा प्रदेशको शान्ति सुरक्षा चुनौती विश्लेषण गर्ने, आवश्यक तयारी गर्ने, निर्वाचनको तयारी गर्न खुलेर छलफल गरिनेछ र निष्कर्षमा पुगिनेछ ।’
निर्वाचन सम्पन्न गर्न प्रदेश सरकारको समेत भूमिका भएकोले सहयोगका लागि उनले आग्रह गरे ।





