पोखरा/एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू निकट व्यक्तिहरु टिप्ने क्रममा लमजुङका पृथ्वीसुब्बा गुरुङलाई उपाध्यक्षको उम्मेदवार बनाएका छन् ।
गुरुङ यसअघि उपमहासचिव थिए भने महासचिवमा दाबी गरिरहेका थिए । स्याङ्जाकी पद्मा अर्याललाई सचिवमा दोहो¥याउँदा सो समूहमा सचिवको रुपमा कास्कीका खगराज अधिकारीले इन्ट्री मारेका छन् । खगराज यसअघि स्थायी कमिटी सदस्य थिए । उपाध्यक्षको दाबेदारी प्रस्तुत गरेका अर्का स्थायी कमिटी सदस्य किरण गुरुङलाई चाहिँ केन्द्रीय सदस्यको उम्मेदवार बनाइएको छ ।
खुल्लार्फ तनहुँका केदार सिग्देल, नवलपुरका तिलक महत, गोर्खाका रामशरण बस्नेत र कास्कीका कृष्ण थापासहित हरि श्रेष्ठ उम्मेदवार छन् । ओली समूहबाट युवातर्फ नवराज ओझा आउने निश्चित छ ।
खुल्ला केन्द्रीय सदस्यतर्फ भने उपाध्यक्षको दाबी गरेका स्थायी कमिटी सदस्य किरण गुरुङदेखि नेकपा एसबाट घर फर्केका किसान श्रेष्ठसम्मलाई समेटिएको छ । यस्तै पदाधिकारी दाबी गर्ने कास्कीका जगत विक पनि त्यसमै अटाएका छन् । बागलुङका डा. सूर्य पाठक र कृष्णबहादुर केसी, पर्वतका पदम गिरी, कास्कीका राजीव पहारी, रश्मी आचार्य र बालकृष्ण काउचा मगर, लमजुङका कृष्ण अधिकरी र भिष्म अधिकारी पनि यही समूहमा छन् । पोखरा बसेर अखिलको राजनीति गरेका नरेश रोकायलाई बाजुराबाट खुल्लातर्फको केन्द्रीय सदस्य उम्मेदवार बनाइएको छ ।
खुल्लामहिलातर्फ सीताकुमारी सुन्दास स्याङजा, मनकुमारी जिसी बागलुङ, टुका हमाल लमजुङ, प्रभा कोइराला कास्की, भगवती न्यौपाने तनहुँ क्रान्ति बुर्लाकोटी कास्की, देवका पहारी कास्की र यसोदा रिमाल लमजुङलाई समावेश गरिएको छ ।
आदिवासी जनजातितर्फ बागलुङका लीलबहादुर थापा, मुस्ताङका चन्द्रमोहन गौचन र युवामा मुस्ताङकै सम्राट गौतमलाई आधिकारिक उम्मेदवार तोकिएको छ ।
महिलातर्फ भने पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ, म्याग्दीकी थममाया थापा, बागलुङकी सावित्रा राना, म्याग्दीकी नरदेवी पुनको नाम छ । महिलामा स्याङ्जाकी सीमा क्षेत्री, बागलुङकी मञ्जु शर्मा चालिसे, पर्वतकी कल्पना चापागाईं उम्मेदवार छन् ।
उपेक्षित वर्गको तर्फबाट बागलुङका गोविन्दबहादुर नेपाली र पर्वतका मनोहर बी पौडेलले आधिकारितकता पाउँदा केन्द्रीय अनुशासन कमिटी सचिवमा कास्कीका डा. भरतराज पहारी उम्मेदवार भएको घोषणा गरिँदै छ । यद्यपि, यी नामहरु तलमाथि हुनसक्ने र मतदानअघिको लिष्ट नै आधिकारिक हुने ओलीपक्षीय एक नेताले बताए । यो लिष्टमा केन्द्रीय सदस्य दाबी गरेका तथा रुपा गाउँपालिका अध्यक्षको रुपमा अब्बल देखिएका नवराज ओझा समेटिएका छैनन् । लिष्टमा नाम नआएका नेताले आफ्नो नाम सिफारिस गर्न अन्तिम कसरत गरिरहेका छन् ।





