पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले घोषित मितिमा निर्वाचन सम्पन्न हुन नसके मुलुकको अस्तित्वमाथि नै चुनौती थपिन सक्ने दावी गरेका छन् । आज पोखरामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले घोषणा गरिएकै मितिमा यही सरकारबाट निर्वाचन सम्पन्न गराउनु पर्ने बताए ।
एकपटक भए पनि निर्वाचन सारियो र प्रधानमन्त्री फेरियो भने राजनीतिक अस्थिरतामा कहाँ गएर मुलुक फस्छ भन्न नसकिने उनको भनाई थियो । ‘यदि त्यो गर्न सकिएन भने राजनीतिक अस्थिरता अझ बढ्न जान्छ । सुरक्षा चुनौती मात्रै होइन, मुलुकमाथि नै, मुलुकको अस्तित्वमाथि नै चुनौतीहरू थपिन सक्छन्,’ उनले भने, ‘अघिपछिको चुनावमा जस्तो साधारण अवस्था अहिले छैन ।’ एकातिर सुरक्षा निकायको मनोबल गिरेको अवस्था, जनताले सुरक्षा निकायप्रति पूर्ण विश्वस्त हुन नसकेको अवस्था र केही हतियार र अपराधी जेलबाट छुटेर बाहिर हिँडिरहेको अवस्थाले सुरक्षा चुनौती थपिएको र यसले विगतमा जस्तो निर्वाचन सम्पन्न गर्नको लागि अझ ठूलो चुनौती थपिन सक्ने उनले बताए ।
मुख्यमन्त्री पाण्डेले वर्तमान संघीय सरकार र राजनीतिक दलहरूबीच विश्वासको वातावरण जगाउनुपर्ने आवस्यकता रहेको पनि बताए । अहिलेको सरकारले राजनीतिक दललाई ‘बाइपास’ गरेर अगाडि बढ्न खोजेको हो कि भन्ने प्रश्न उठेको भन्दै उनले नेपालको संविधानले कल्पना गरेको ७ सय ६१ सरकारमध्ये अहिले राजनीतिक दलको एउटा मात्रै सरकार नभएको स्मरण गराए । राजनीतिक दल र सरकारबीच विश्वासिलो वातावरण बनाउन सके मात्रै निर्वाचन र सुरक्षा चुनौतीलाई सामूहिक रूपमा सामना गर्न सकिने उनको भनाइ थियो ।
मुख्यमन्त्री पाण्डेले जेन जी आन्दोलनपछि मुलुकको परिस्थिति र राजनीतिक परिस्थिति मात्रै नभई जनताको मनस्थिति पनि फेरिएको र सुरक्षा निकायमा चुनौती थपिएको बताए । ‘भदौ २३ गतेको आन्दोलन र २४ गतेको आन्दोलनका नाममा भएको विध्वंसपछि सुरक्षा निकायको मनोबल केही गिरेको उनले सुनाए । उनले सुरक्षा निकायप्रति जनताको भरोसा २४ भदौभन्दा पहिला जुन थियो, त्यो पनि कमी आएको बताए । आन्दोलनको नाममा कता–कता विध्वंसले प्रोत्साहन पाइरहेको हो कि भन्ने खालको प्रश्न पनि उठेको उनको भनाइ छ ।





