बागलुङ/नेकपा एमालेको एघारौ राष्ट्रिय महाधिवेसन राजधानीमा संचालन भैरहेको छ । महाधिवेसन निर्वाचनमा जाने तयारीमा छ । विधान संशोधन गरेर नेतृत्वमा जान चाहनेलाई केन्द्रीय समितिमै खाँदेर आँफै अध्यक्ष बन्ने अध्यक्ष केपी शर्मा ओलीको चाहनामा केही बाधा आउन लागेको देखिएको छ ।
अर्थात् अधिवेसन ओलीले चाहे अनुसारको बन्न सक्ने देखिएको छैन । उनले त आँफू अध्यक्ष बन्न पाएमा आकांक्षी सबैलाई उपाध्यक्ष, उपमहासचिव र सचिवमा थन्क्याउन चाहन्छन् । यो पटक धेरै नेताले उमेदवार बन्ने चाहना राखेर इतर समूहको प्यानल खडा भएको छ ।
त्यसो त अघिल्लो चितवन महाधिवेसनमा भीम रावलले पनि उमेदवारी दिएका थिए । तर सबै जना पदाधिकारी बनेर लड्न तम्सेनन् । अन्ततः रावल झिनो मतमा सिमित भए । आलोचनात्मक चेत राखेकै कारण उनी पार्टीमा टिक्न पनि सकेनन् । यो पटक भने इश्वर पोखरेल सहितको प्यानल खडा भएको छ । यो उमेदवारीले पोखरेल भने रावल बन्ने नभइ त्यसअघि वुटवलमा भएको नवौं महाधिवेसनमा माधव नेपाल र ओलीबीच भएको प्रतिस्पर्धाको झल्को दिने अवस्था आउने छ । त्यतिबेला नेतृत्वमा ओलीले जित्दा बहुमत नेपाल पक्षले जितेको थियो ।
यो पटक युवा पुस्ताको चाहना प्यानल जुनसुकै भएपनि युवा र नयाँ अनुहार आउनुपर्छ भन्नेमा पनि लागेको देखिन्छ । तसर्थ महाधिवेसन निर्वाचनमा होमिने र नयाँ अनुहारले अप्रत्यासित जित निकाल्ने संभावना छ । यद्यपी एमालेमा ओली पक्षको वर्चस्व भने कायम हुनेवालै छ । आम निर्वाचनमा पुराना दलहरुलाई मतदाताले पत्याउने नपत्याउने वास्तविकता त्यतिबेलै खुल्नेछ । तर महाधिवेसनको रापमा भने ओली बर्चस्व स्वभाविक देखिएको छ । त्यसमा पनि ओलीले १ सय जना महाधिवेसन प्रतिनिधि मनोनित गरेपछि त निर्वाचन त्यही अंकले पनि जित्ने नै छ ।
महाधिवेसनको दौडमा केन्द्रीय सदस्य जित्न सकिन्छ भन्दै बागलुङका पनि आधा दर्जन आकांक्षीहरु अगाडि सरेका छन् । हालसम्म बागलुङका मात्रै ८ जना उमेदवारीको कित्तामा उभिएका छन् । ओली पक्षमा उभिनेले सदस्य मात्रै दाबी गरेका छन् भने इतर समूहमा उभिएका इन्द्रलाल सापकोटाले सचिव पद दाबी गरेका छन् । सोही समूहको सदस्यमा बागलुङ एमाले अध्यक्ष हिरा केसीको समेत उमेदवारीको दाबेदारी रहेको कार्यकर्ताले बताए । केसीको फोन सम्पर्क भएन ।
ओली पक्षबाट केन्दीय सदस्य दाबी गर्नेमा हालका पोलिटव्युरो सदस्य रहेका लिलाबहादुर थापा, मना केसी छन् भने उनीहरु बाहेक गोबिन्द बहादुर नेपाली, डा. सूर्य पाठक, कृष्णबहादुर केसी, साबित्रा राना र मञ्जु शर्मा चालिसे छन् । महाधिवेसनको लागि प्रतिनिधि छनौटको क्रममा जिल्लामा सापकोटा र पाठक समूह हाबी देखिएको थियो । उनीहरुले भागवण्डामा प्रतिनिधि छनौट गरेर गएका थिए ।





