आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

‘ओली प्यानल’ निर्माणमा महासचिव शंकर हाबी

‘ओली प्यानल’ निर्माणमा महासचिव शंकर हाबी

पृथ्वीसुब्बाले बनाएको लिस्ट गोजीमै, खगराजको कुरा सुनियो, सधैं ओली भन्ने नै छुटे


  • ढोरपाटन संवाददाता
  • पुष १ २०८२, मंगलबार

पोखरा/यो उहिलेको हैन, २०७७ साल वैशाखतिरको कुरा हो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शक्ति बाँडफाँडबारे विवाद बढ्दै जाँदा प्रधानमन्त्री तथा नेकपाका १ नम्बर अध्यक्ष केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए । अध्यादेश ल्याएपछि स्थिति अझ बिग्रियो । कतिसम्म भने, नेकपा विभाजन र प्रधानमन्त्री हटाउनेसम्मका गाइँगुइँ सुनिन थाले ।

त्यो बेला, स्थायी कमिटी सदस्य रहेका पृथ्वीसुब्बा गुरुङ गण्डकी र शंकर पोखरेल लुम्बिनीका मुख्यमन्त्री थिए । पार्टीमा गडबड भएपछि शंकर सोझै काठमाडौं हान्निए । कहिले माधव नेपालको कोटेश्वरको घर त कहिले प्रचण्ड निवास कोटेश्वरको चक्कर लगाए । एकता जोगाउन ठूलै कसरत गरे । अर्थात् उनले प्रधानमन्त्री ओलीको कुर्सी बचाउन भरमग्दुर प्रयास गरे । ओली खुसी हुनु स्वभाविक थियो । पृथ्वीसुब्बा भने कोभिडको कारण देखाउँदै सुरुमा काठमाडौं गएनन् । त्यो बेला उनी ओलीको कार्यशैलीप्रति सन्तुष्ट पनि थिएनन् । अन्तिममा चाहिँ उनी ओलीको बचाउमै उत्रिए ।

प्रचण्ड–ओलीबीच विवाद बढ्दा पार्टी विभाजनको खतरा देखियो । तत्कालीन महासचिव विष्णु पौडेलको संयोजकत्वमा २०७७ सालको साउन ३० गते विवाद मिलाउन समस्या सुझाव कार्यदल गठन भयो । भदौ २५ मा गएर कार्यविभाजनसम्बन्धी सहमतिलाई पुनव्र्याख्या गर्दै ओलीले सरकार चलाउने र प्रचण्डले पार्टी चलाउने तर एकअर्कासँग समन्वय गर्नुपर्ने १५ बुँदे सहमति बन्यो । तर,विवाद सुल्झिएन । लामो विवादपछि २०७७ पुस ५ गते ओलीले संसद नै विघटन गरिदिए । सर्वोच्चले फागुन ११ मा संसद पुनस्र्थापना गरे पनि उनले पुनः २०७८ को जेठ ८ गते संसद पनि उस्तै गरे । सर्वोच्चले फेरि पुनस्र्थापना गरेपछि चाहिँ ओली थन्किए । ओलीको कदमको रक्षा गर्ने अंग्रपंक्तिमा शंकर पोखरेल थिए ।

उता, २०७७ को फागुन २३ मै सर्वोच्चले एमाले र माओवादी फरक दल भएको फैसला गरिसकेको थियो । त्यसपछि एमालेको एकल यात्रा, माधव नेपालहरुको बहिर्गमनमा पनि ओलीलाई दह्रो साथ दिएपछि शंकरको कद एकाएक बढ्यो । पुराना नेताले माधव नेपालसँगै बाहिरिएपछि उनी झन शक्तिशाली बने । १० औं महाधिवेशनसम्म आइपुग्दा शंकर अध्यक्ष ओलीका भित्रियामा दर्ज भइसकेका थिए । कम्युनिष्ट पार्टीहरुमा महासचिवको भूमिका महत्वपूर्ण हुन्छ । अझ, नेपालका कम्युनिष्टहरु अध्यक्षतात्मक प्रणालीमा गए पनि महासचिवको मोहबाट मुक्त छैनन् । त्यस्तो परिस्थितिमा ओलीले दायाँबायाँ नगरि शंकरलाई महासचिव अर्थात् संगठनको सर्वेसर्वा बनाए ।

एमालेको पुरानै विधान हुन्थ्यो भने, योपटक ओली अध्यक्षमा दोहोरिने अवस्था थिएन । २०१९ साल फागुन १५ मा जन्मेका शंकरलाई ७० को उमेर हदले छेक्दैनथ्यो । मौका छोप्न माहिर शंकरले रफ्तार बढाए । देशैभर संजाल बिस्तार गरे । २०७९ को चुनावको टिकट बाँड्ने क्रमदेखि प्रदेशमा कसलाई मन्त्री बनाउने भन्नेसम्मका गतिविधिमा प्रत्यक्ष संलग्नता जनाएपछि उनको शक्ति अझ बढ्यो ।

उनी तुलनात्मक रुपमा गण्डकीमा कमजोर थिए । तर, यहाँ उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराजबीच जुँगाको लडाइँ थियो । त्यो परिस्थिति बुझेका उनले खगराजलाई नजिक्याए । एमालेले एकाएक ११ औं महाधिवेनमा जाने निर्णय ग¥यो । ओली पुनः अध्यक्ष बन्न कस्सिए । चुनौती दिने दम पृथ्वीसुब्बा वा शंकरमा थिएन ।

तर,शंकरको बढ्दै गएको शक्तिबाट पृथ्वीसुब्बामात्र नभएर उपाध्यक्ष विष्णु पौडेल र अर्का उपमहासचिव प्रदीप ज्ञवाली पनि खुसी थिएनन् ।उनीहरु शंकरलाई साइजमा ल्याउन चाहन्थे । त्यसैले ११ औं महाधिवेशन घोषणा हुँदैदेखि पृथ्वीसुब्बा र प्रदीपले महासचिवमा दाबी पेश गरे । त्यहीबीचमा जेन–जी आन्दोलन भयो । ओली सत्ताच्यूत भए । त्यही सरकारको प्रवक्ता रहेका पृथ्वीसुब्बा र प्रदीप बाध्य हुँदै ओलीले जे भन्छन् त्यही मान्नुपर्ने अवस्थामा पुगे । तर पनि, ओलीले आफूलाई पाखा पार्दैनन् भन्नेमा पृथ्वीसुब्बा र प्रदीप ढुक्क थिए । पृथ्वीसुब्बा उपाध्यक्षमा बस्ने र प्रदीपलाई महासचिव बनाउन पनि सहमत भइसकेका थिए । त्यसको एउटै सर्त थियो–शंकर अझ शक्तिशाली नबनून् !

पछिल्लो समय ओलीका लिखित भाषण काँटछाँट गर्ने, दस्ताबेज लेख्ने काम गरिरहेका ज्ञवाली मध्यमार्गी बन्दै महासचिवको दौडमा रहँदै गर्दा परिस्थिति बदलियो । पदाधिकारी संख्या बढाउने निर्णय गरे पनि वरिष्ठ उपाध्यक्ष राखिएन । बाठा शंकरले उपाध्यक्षमात्रै हुने गरी अगाडि नबढ्ने बरु शक्ति खेलाउने महासचिव नै रोजे । ओलीले उनलाई विश्वास गरे । उनी ११ औं महाधिवेशनमा ओली खेमाबाट महासचिवको उम्मेदवार छन् । उनलाई ईश्वर पोखरेल खेमाबाट सुरेन्द्र पाण्डेले टक्कर दिँदैछन् ।

शंकर महासचिवमा दोहोरिने भएपछि प्रदीप ज्ञवाली चाहिँ नराम्ररी जिल्लिए । उनले उपाध्यक्ष पद अस्वीकार गरिदिए । केन्द्रीय सदस्यमात्रै रहने गरी उम्मेदवारी दिने अवस्थामा पुगे ।

यता, पृथ्वीसुब्बालाई पनि पर्नु पीर परेको छ । जति गर्दा पनि न शंकरको बेग रोकियो न आफूले भनेजस्तो भयो अवस्था उनी पुगेका छन् । कतिसम्म भने, ओली खेमाको खम्बा हुँ भन्ने उनले केन्द्रीय सदस्यका लागि लगेका नामहरु ‘चट्चट्’काटिएको छ । स्रोतका अनुसार उनले लमजुङकै जमिन्द्रमान घले, कास्कीका भीम कार्की, मीनप्रसाद गुरुङ,मुक्ति पाण्डे,माधव बास्तोलालगायतका नामहरु केन्द्रीय सदस्यको रुपमा ओली प्यानलमै राख्ने प्रयास गरेका थिए ।

‘उहाँको कुरा सुनिएन । शंकर कमरेडले गण्डकीमा हात लम्काउनुभयो र आफू अनुकूलका व्यक्तिलाई नै सो प्यानलमा राख्नुभयो,’उनी निकट एक नेताले भने,‘यो मामिलामा खगराज अधिकारी बरु अगाडि देखिनुभयो । उहाँले लिएर गएका ८० प्रतिशत नाम आएनन् । २० प्रतिशत चाहिँ साझा (खगराजसँग) भएकाले आए ।’

जगत विश्वकर्मादेखि पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङसम्मका नामहरु यस्तै अवस्थामा आएको पनि ती नेताले दाबी गरे ।

अहिले पृथ्वीसुब्बाले आश्वासन दिएका नेताहरु घर न घाटको बनेका छन् । व्रिदोह गरौँ,कहाँ कोसँग गर्ने ? भन्ने प्रश्नले उनीहरु पिरोलिएका छन् ।

तीमध्ये एक नेताले त पृथ्वीसुब्बालाई अवसरवादीको संज्ञा दिए ।

‘हामी उहाँको लागि खगराज कमरेडसँग नराम्रो बन्याँै । उहाँले आफ्नो व्यवस्थापनको लागि पहिले खगराजसँग गला मिलाउनुभयो । अहिले आफ्नो व्यवस्थापन भयो, हामी यता न उताका भयौँ,’उनले भने,‘सबैले आफू सुरक्षित हुन खोज्दा रहेछन् ।’ अहिले केपी ओली प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार भन्दै सार्वजनिक गरिएका नामहरु अधिकांश खगराज र शंकर पोखरेलले नै तय गरेको पनि उनले जिकिर गरे ।

‘म केन्द्रीय सदस्यको उम्मेदवार बन्छु भन्न बा (केपी ओली) कहाँ गएको थिएँ । बल्लतल्ल भेट भयो,’ती नेताले भने,‘मेरो शुभकामना छ । एकपटक तपाईंले महासचिवलाई पनि भेट्नू भन्नुभयो । त्यो बेलै म शंकर कमरेडको शक्ति कति रहेछ भन्नेमा छर्लङ्ग भएको थिएँ ।’

अब के हुन्छ त ? केन्द्रीय सदस्यमा पनि उठ्न नपाएपछि रुष्ट समूहले आफ्नो विवेक प्रयोग गर्ने सम्भावना बढेर गएको ती नेताको भनाइ छ ।

‘परिणाम तलमाथि हुन्छ । भित्री मनोविज्ञान एउटा छ र बाहिरी मनोविज्ञान अर्को छ,’उनले कुराको बिट मारे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->