पोखरा/२०४६ सालमा पञ्चायत ढलेसँगै तत्कालीन नेकपा माले राष्ट्रिय शक्तिको रुपमा स्थापित भइसकेको थियो । जेलमा रहेका नेताहरु खुल्ला राजनीतिमा आए । जनआन्दोलनमा सहकार्य गरे पनि नेपाली कांग्रेस कम्युनिष्टलाई प्रजातान्त्रिक शक्ति मान्दै मान्दैनथ्यो । यता लामो जेलजीवनपछि खुल्ला राजनीतिमा आएका नेता केपी ओली पनि आफ्नो छुट्टै पहिचान बनाउने अभियानमा थिए । हो, ठ्याक्कै त्यही मेसोमा उनै केपी ओलीको नेतृत्वमा २०४७ साल जेठ १ गते प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (प्ररायु संघ) गठन भयो । मालेले आफ्नो भातृ संगठनको नामको अगाडि प्रजातन्त्र भन्ने फुर्को जोड्यो ।
युवा संघ नामजस्तै युवाको संगठन थियो । आन्दोलनको पर्याय बनेको मालेले गर्ने हरेक आन्दोलनमा अग्रपंक्तिमा देखिने बन्यो । दोस्रो महाधिवेशनले केशव स्थापितलाई अध्यक्ष बनायो । संघलाई गोकर्ण विष्टदेखि अजम्बर राईसम्म नेतृत्वमा आए । हो, त्यही अजम्बर राईको नेतृत्वमा रहेको युवा संघमा बागलुङका युवा इन्द्रलाल सापकोटा महासचिव थिए । अजम्बर राई नेतृत्वमै रहेको बेला माओदीको योङ कम्युनिष्ट लिग (वाइसीएल) को चर्को बोलबाला थियो । माओवादी गतिविधिलाई निस्तेज पार्न एमालेले युवा संघलाई अगाडि सा¥यो । महेश बस्नेतलाई युवा संघअन्तर्गत युथ फोर्सको कमाण्डर बनाइयो । महेश बस्नेत एकाएक राजनीतिक परिदृष्यमा चर्चित बने । उनलाई नेता केपी ओलीको साथ र आड पनि थियो । वैचारिक संगठनलाई ‘बाहुबली’ बनाएको आरोप पनि बस्नेतले खेपे । उनका गतिविधि मन नपराउनेहरुले ‘नो बाउन्सर, वी आर सक्सेसर ( हामी बाहुबली हैनौँ,अगुवा हौँ)’ भन्ने नारा पनि दिए ।
२०६६ सालको पुस ११ देखि १३ सम्म सिरहाको लहानमा भएको युवा संघ नेपालको सातौं महाधिवेशनमा महेश बस्नेत अध्यक्षका प्रत्यासी बने । केपी ओली पक्षबाट उम्मेदवार बनेका उनलाई संस्थापन अर्थात् झलनाथ खनाल–माधव नेपाल समूहबाट बागलुङका इन्द्रलाल सापकोटाले टक्कर दिए । चुनावमा महेशले ६ सय ९९ र इन्द्रलालले ५ सय ९७ मत प्राप्त गरेका थिए। त्यही महाधिवेशनले प्ररायु संघलाई युवा संघमा रुपान्तरण गरेको थियो ।
महेश बस्नेतको राजनीतिक यात्रा त्यहाँबाट उकालो लाग्न सुरु ग¥यो । यता इन्द्रलाल सापकोटा चाहिँ जन्मथलो बागलुङ फर्के । २०७३ साल पुसमा सम्पन्न एमाले बागलुङको आठौं अधिवेशनबाट अध्यक्ष चुनिए । सापकोटाले कुल खसेको ५ सय ७९ मत मध्ये ३ सय ८८ मत प्राप्त गर्दा प्रतिस्पर्धी केपी ओली पक्षका निवर्तमान जिल्ला उपाध्यक्ष नरबहादुर थापाले १ सय ६१ मतमात्र प्राप्त गरेका थिए । लगत्तै उनी बागलुङ क्षेत्र नम्बर १ ‘क’बाट गण्डकी प्रदेशसभा सांसद चुनिए । माधव नेपाल पक्षधरको रुपमा टिकट पाउने थोरैमध्ये उनी एक थिए । गण्डकी प्रदेशसभामा जनसरोकारका विषय उठान गर्नेमा उनी अग्रपंक्तिमा आउँथे । २०५४ सालमै मालिका गाविसको अध्यक्ष,युवा संघको महासचिव र जिल्ला पार्टी अध्यक्ष रहेका उनी सांसद हुँदा मन्त्री बन्ने दौडमा उभिएनन् । बरु,हाल एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ उनीप्रति नकरात्मक थिएनन् । २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्दा उनी बेखुस बने । संसद विघटनपछि एमाले विभाजित बन्यो । विभाजन रोक्न उनले वक्तव्य जारी गरे । माधव नेपालले नयाँ पार्टी एकीकृत समाजवादी गठन गरे । इन्द्रलालसँग त्यो पार्टीमा जोडिने र रोजेको मन्त्री बन्ने अवसर थियो । तर, इन्द्रलाल त्यता लागेनन् । मिजासिलो स्वभाव र वैचारिक स्पष्टता इन्द्रलालको चिनारी हो । विभाजन नरोज्ने नेतामध्ये एक हुन् २०५४ सालमा वामदेव गौतमहरुले माले निर्माण गर्दा उनले संस्थापन छाडेनन् ।
‘यही घरमा बस्ने हो, पार्टीलाई वैचारिक रुपले सही बाटोमा ल्याउन निरन्तर खबरदारी गर्ने हो । आफैंले बनाएको घर भत्काएर नयाँ सिर्जना गर्छु भन्नु मुर्खता हो,’उनी त्यो बेला भन्ने गर्थे । अध्यक्ष केपी शर्मा ओलीको शैलीप्रति चाहिँ उनको असहमति हुन्थ्यो ।
‘पार्टीमा सामूहिक नेतृत्वको वकालन गर्ने हाम्रै अध्यक्ष केपी ओली हो । अहिले उहाँमा सामूहिकतामा भन्दा व्यक्तिवादी सोच हाबी हुँदै गएको छ । उहाँकै सोचले पार्टी दुर्घटनामा परेको हो । माओवादीसँगको एकता खल्बलिएको हो । उहाँ सच्चिनुपर्छ । वामपन्थी शक्तिबीच एकता गर्दै बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुृपर्छ,’उनी अक्सर भन्ने गर्थे ।
पार्टीमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरण पनि उनको माग हो । हो,त्यही माग बोकेर उनी यसपटक एमालेको सचिवमा उम्मेदवारी दिँदैछन् । एमाले यतिबेला वर्तमान अध्यक्ष ओलीको विकल्प खोज्नुहुन्न र उनी निर्विकल्प हैनन् भन्ने दुई कित्तामध्ये इन्द्रलालले दोस्रो रोजेका छन् । उनी इश्वर पोखरेल खेमाबाट सचिवको प्रत्यासी बनेका छन् । संयोग कस्तो भने, जेनजी आन्दोलनपछि सिंहदरबारबाट सेनाले उद्धार गरेका एमाले अध्यक्ष केपी ओलीलाई पुनः अध्यक्ष बनाउन महेश बस्नेत कम्मर कसेर लागेका छन् । अध्यक्ष ओलीले आफूलाई गुन्डुमा लगेर आश्रयको प्रबन्ध गर्ने तथा कुटी निर्माण गरिदिने महेश बस्नेतलाई सचिवको रुपमा अगाडि सारेका छन् । युवा संघमा महेशसँगै प्रतिस्पर्धा गरेका इन्द्रलाल पनि ओलीको कार्यशैलीप्रति प्रश्न उठाउँदै सचिवकै उम्मेदवार बनेका छन् ।
केन्द्रीय सदस्यको रुपमा स्वतः महाधिवेशन प्रतिनिधि बनेका इन्द्रलाल विचार र दृष्टिकोणसहित चुनावी मैदानमा आएको बताउँछन् ।
अध्यक्ष केपी शर्मा ओलीसँग सिंगौरी खेल्न नभएरु पार्टीलाई विधि अनुरुप चलाउनुपर्छ भन्ने मान्यता बोकेर आफू सचिवको प्रत्यासी बनेको उनको भनाइ छ ।पुरानो धौलागिरी अञ्चल र हालको गण्डकी प्रदेशबाट एमालेको पदाधिकारी ताक्ने सीमित नेतामध्ये उनी एक हुन् । १० औं महाधिवेशनमार्फत् गण्डकीबाट लमजुङका पृथ्वीसुब्बा गुरुङ उपमहासचिव र स्याङ्जाकी पद्मा अर्याल सचिव बनेका थिए । अध्यक्ष ओली समूहबाट पद्मा र कास्कीका खगराज अधिकारी सचिवको प्रत्यासी बनेपछि इन्द्रलालले उनीहरुसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । गण्डकी प्रदेशबाट प्रतिनिधि बनेकाहरुले यहाँबाट जो पदाधिकारीमा उम्मेदवार बने पनि एकढिक्का हुने सहमति गरेका थिए । तर, अध्यक्ष ओलीपक्षीय छुट्टै प्यानल बनेको अवस्थामा र इतर समूह रोजेका इन्द्रलाललाई जिताउन तीमध्ये कममात्रै प्रतिनिधि सक्रिय हुने एक नेताको बुझाइ छ ।
‘इन्द्रलाल कमरेड पार्टीलाई चाहिने मान्छे हो, ९ जनामा उहाँ कसो नपर्नुहोला र ?,’ ती नेताले भने ।





