बागलुङ/हरेक वर्षको चौमासिकमा गलकोट नगरपालिका र जैमिनी नगरपालिकाले गर्ने सार्वजनिक सुनुवाईमा आउने नियमति प्रश्न हो प्रशासकीय भवन कहिले बन्छ ?
कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रगतीका सूचक देखाउने पालिकाले आफ्नो प्रशासकीय भवन अलपत्र परेको, बनेको घरपनि पुरा नभई जीर्ण बन्न थालिसकेको विषय बढी चासोमा आउने गरेको छ । त्यो प्रश्नमा नगरप्रमुखदेखि प्रशासकीय प्रमुखले जवाफ दिन सकेका छैनन् ।
नगरपालिका मासिक डेढ लाख रुपैयाँसम्म भाडा तिरेर बस्ने, आफ्नो भवन भने अलपत्र पर्ने क्रम वर्षौदेखिको हो । प्रश्नकर्ताले नियमित प्रश्न गरेपछि जवाफ दिन नसकेर नगरका जनप्रतिनिधिहरु हार खाइसकेका छन् । भन्छन्, ‘न ठेकेदारलाई ल्याएर काममा लगाउन सकियो, न जनताको जवाफ चित्तबुझ्दो दिन सकियो ।’ सबै काममा गर्वका साथ जवाफ दिने जनप्रतिनिधि र प्रशासकीय प्रमुखहरु भवनको विषयमा उत्तर दिन सक्दैनन् ।
तोकिएको समयमा काम गरेको भए यी दुवै नगरपालिकाको भवन तीन वर्ष अघिनै सम्पन्न भैसक्थ्यो । तर अझै यी भवनहरु हावा ढलानमै छन् । ठेकेदारको भनाइमा पनि ६० प्रतिशत बढी बनेका छैनन् । ठेकेदारले अलपत्र छाड्दा प्रशासकीय भवनको ढलान मात्रै देखिन्छ । दुवै नगरपालिकाले २०७८ सालमा तीन वर्षका लागि भवन ठेक्का लगाएका थिए । २०८० सालमै म्याद सकिए पनि अझै ठेकेदारहरु बेखवर जस्तै छन् ।
ठेकेदार कम्पनीले असार मसान्तमा आएर बहाना देखाइ म्याद थप गर्दै जाने गरेका छन् । तोकेको समयमा सकिनेमा भने ठेकेदार विश्वस्त छैनन् । ‘तोकेको तीन वर्षमा ५० प्रतिशत मात्रै काम गर्नेले काम पुरा गर्लान्, हामी त्यही घरमा बसौंला भन्ने आस छैन,’ जैमिनीका नगरप्रमुख नरबहादुर पुनले भने, ‘काम गर्छु भन्ने, पेस्की लगेपछि हराउने गर्दारहेछन् ।’ काम गर्नेभन्दा ठेक्का लिएर ओगट्ने प्रवृत्ति हाबी हुँदा काम अलपत्र परेको उनले टिप्पणी गरे ।
ठेकेदार कम्पनी रफिना, प्राकृतिक, जुगल संयुक्त निर्माण कम्पनीले जैमिनीको प्रशासकीय भवन निर्माणका लागि ६ करोड १७ लाख र गलकोट नगरपालिकाको भवनका लागि १२ करोड ४१ लाख ५५ हजारमा ठेक्का लिएको थियो । नगरप्रमुख पुनले त म्याद थप्ने बेलामा केही दिन अघिपछि गरेर ठेकेदारले चाकरी गरेको, तर अहिले देखिनै छाडेको टिप्पणी गरे । गलकोट नगरप्रमुख भरत शर्मा गैरेले ठेकेदारलाई सम्पर्क पनि गर्न नसकेको गुनासो गरे ।
जैमिनी नगरपालिकाले मासिक डेढ लाख रुपैयाँ घर भाडामा तिर्ने गरेको छ । अहिले पनि कुश्मीसेरा बजारका तीनवटा घरको पुरै र केही अन्य घरमा विभिन्न शाखा राखेर नगरपालिका संचालन गरिएको छ । गलकोटले पनि दुइ वटा घर भाडााम लिएको छ । कार्यपालिका बैठक बस्ने स्थान नभएर होटलमा समेत जान बाध्य भएको प्रतिनिधिले बताए । ठेकेदारका प्रतिनिधि नरेश ओझाले कोरोना लगायतका बहाना बनाउने गरेका छन् ।
उक्त भवन ठेक्का लिएका ठेकेदारले बागलुङ नगर अस्पतालसमेत अलपत्र पारेका छन् । तोकिएको समयमा तीनवटै स्थानमा काम नभएको हो । सबै स्थानमा ठेकेदारले पटक–पटक म्याद थप गरेपनि प्रगति भने न्यून छ ।





