आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

सधैं काँध थाप्यो, ओलीले पनि अवसर दिँदै आए

सधैं काँध थाप्यो, ओलीले पनि अवसर दिँदै आए

केही उम्मेदवार चाहिँ दुबै समूहमा अटाए


  • ढोरपाटन संवाददाता
  • पुष २ २०८२, बुधबार

पोखरा/एमालेको सर्वशक्तिमान अध्यक्ष केपी ओली पोखरामा आयोजना हुने कार्यक्रमहरुमा अक्सर पुराना दिन सम्झन्छन् । जेलमा हुँदा कविता लेखेको,पोखराका आमाहरुले बारीमा फलेको पहिलो घिरौंला–चिचिन्डो ल्याइदिएको,घरमा पाकेको खाजा बोकेर आफूलाई भेट्न आएकाहरु सम्झँदै उनी पोखरेलीप्रति अनुराग देखाउँछन् ।

ओलीको स्मरण शक्ति गज्जबकै छ । २०३९ साल माघ ३ गतेदेखि २०४२ साल माघसम्म कास्की कारागारमा रहँदा भेट्न आउने तथा राजबन्दी बनेर जेलमै संगत गरेकाहरुको नाम अहिलेसम्म पनि बिर्सेका छैनन् । ‘झापा काण्ड’मा मुछिएका ओली २०३० सालमा रौतहटबाट पक्राउ परेका थिए । जेलसार हुँदै पोखरा आएपछि उनलाई त्यो बेला सोमनाथ अधिकारीलगायतका वामपन्थी नेताहरु अक्सर भेट्न गइरहन्थे ।

२०४२ सालमा सत्याग्रहपछि पञ्चायतले तत्कालीन अराष्ट्रिय तत्व (अत) को नाममा कांग्रेसी नेता तथा विद्यार्थीमाथि धरपकड सुरु ग¥यो । रामराजाप्रसाद सिंहले देशका विभिन्न ठाउँमा बिस्फोट गराएपछि कम्युनिष्टहरु पनि जेल पर्न थाले । पहिलो छिमलमै तत्कालीन पृथ्वीनारायण क्याम्पसका स्ववियू सभापति हितकाजी गुरुङ,राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिनालगायतका जेल पुगे । जेल भरिँदै गयो । राजबन्दीको रुपमा रहेका ओली जेलमा आउनेलाई सक्दो सहयोग गर्थे । ती कुरा सम्झँदै एकपटक एउटै मञ्चमा रहेका कांग्रेस नेता यज्ञबहादुर थापाप्रति संकेत गर्दै भनेका थिए,‘मेरो जेल जीवनका साथी यज्ञजी यहीँ हुनुहुन्छ ।’

पछि ओलीलाई कास्कीबाट स्याङ्जा कारागार सारियो । २०४४ साल असार ११ गते उनी रिहा भए । तत्कालीन मालेले उनलाई लुम्बिनी प्रदेशमा खटायो । २०४६ सालको जनआन्दोलन अघिको कास्कीको कास्कीकोटमा आयोजित एक कार्यक्रमा चाहिँ ओली अतिथि बनेर आइपुगे । पुराना कुरा सम्झिए । तत्कालीन मालेले हाल पोखरा १६ मा पर्ने पुरन्चौरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पनि केपी ओली र वामदेव गौतम अतिथि बनेका थिए । उनीहरुको त्यो प्रशिक्षणबाट धेरै युवाहरु प्रभावित सोही ठाउँबाट उदाएका नेता दीपक पौडेल सम्झन्छन् ।

लामो जेलजीवनमा आर्जेका साथीभाइ र शुभेच्छुक तथा औपचारिक सम्बन्धलाई गाढा बनाउ खप्पिस ओली पोखरा र गण्डकीमा सधैँ प्रिय रहे । मदन भण्डारीको अवसानपछि अविछिन्न १५ वर्ष महासचिव रहेका माधव नेपालको दबदबामा पनि उनीप्रतिको त्यो क्रेज घटेन ।

त्यो बेला कुन नेता कति वर्ष जेल बस्यो भन्ने कुराले उसको हैसियत निर्धारण गथ्र्यो । भूमिगत रुपले संगठन निर्माण गर्ने माधव नेपालभन्दा जेलनेल भोगेका ओलीप्रति आममान्छेको चासो बढी हुनु स्वभाविक थियो । जेल बसाइको ‘ब्याज’ ओलीले पाइरहे । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारको गृहमन्त्री बनेपछि चाहिँ उनी राजकीय शक्ति खेलाउने हैसियतमा पुगे । पूर्वगृहमन्त्रीले पाउने सुविधासँगै पार्टीभित्र पनि उनी बलिया बन्दै गए ।

नेपालगञ्जमा सम्पन्न छैटौं महाधिवेशनमा वामदेव गौतम चर्चामा थिए । महाकाली सन्धीको पक्ष र विपक्षमा विभक्त एमालेको त्यो महाधिवेशनमा ओली चाहिँ सन्धीकै पक्षमा उभिए । मनमोहन अधिकारी अध्यक्ष र माधव नेपाल महासचिव रहेको केन्द्रीय कमिटी निर्माणमा संलग्न ओलीले विराटनगरमा २०७९ साल माघ १८ देखि २२ गते सम्पन्न सातौँ महाधिवेशन अगावै आफूलाई महासचिवको रुपमा प्रस्तुत गरे ।

अहिले फरक मतलाई निषेध गर्दै आएका ओलीले त्यो बेला महासचिव नेपालको तर्फबाट प्रस्तुत राजनीतिक संगठनात्मक प्रतिवेदनलाई चुनौती दिँदै ‘पार्टी जीवनको प्रजातान्त्रीकरणसम्बन्धी धारणा र विधान संशोधन मस्यौदा प्रस्तावसहित चारवटा दस्ताबेज प्रस्तुत गरेका थिए । उनको प्रस्ताव स्थगित गरियो । कमजोर देखिएका ओलीले चुनाव रोजेनन् । नेपाललाई नै समर्थन गरे । त्यो महाधिवेशनको क्रममा नै ओलीलाई गण्डकीका हाल चर्चा र पदमा रहेका धेरैजसो नेताले सघाएका थिए । अहिलेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङदेखि स्थायी कमिटी सदस्य खगराज अधिकारीसम्म उनकै पक्षमा थिए ।

बुटबलमा भएका आठौं महाधिवेशनले ओलीले भनेजस्तै बहुपद सिर्जना ग¥यो । ओली चुनावमा होमिए तर माधव नेपालको समेत साथ पाएका झलनाथसँग पराजित बने । महाधिवेशनले उनीपक्षीय केही नेतालाई भने विजयी बनायो । जिल्ला कमिटीमा ओलीपक्षीय नेताहरुको बाहुल्यता रहने परिस्थिति निर्माण भयो । पोखराकै कुरा गर्ने हो भने, ओली जब पोखरा आउँथे,उनको भव्य स्वागत हुन्थ्यो । कुनैबेला वैकल्पिक पोलिटब्यूरो सदस्य र गण्डकी इन्चार्जको रुपमा पृथ्वीसुब्बा गुरुङले मिलाउँथे भने कास्कीकै रैथाने सोमनाथ प्यासी,खगराज अधिकारी र कृष्ण थापाहरु पनि उत्तिकै खटिन्थे ।

‘केपी कमरेड उदाउँदो शक्तिको रुपमा हुनुहुन्थ्यो । उहाँ समन्वयकारी भूमिकाको लागि माहिर । माधव कमरेड भने केही आशा राखेर भेट्न जानेलाई निष्ठाको पाठ पढाएर पठाउनुहुन्थ्यो,’ती दिन सम्झँदै हाल माधवसँगै नेपाली कम्युनिष्ट पार्टीमा गएका एक नेताले भने,‘हामीले त्यो बेला सुनेको के भने एक दिन विद्या कमरेड (भण्डारी) छोरीहरु सानै छन्, केही प्रबन्ध गरिदिनुप¥यो भनेर माधव कमरेडकहाँ जानुभएछ । तर, माधव कमरेडले देशैभर समस्यामा भएका धेरै कार्यकर्ता छन् भनेर निराश बनाउनु भएछ । अर्कोदिन विद्या कमरेड केपीकहाँ जानुभएछ । केपीले सँगै रहेका अर्का व्यक्तिलाई भनेर विद्या कमरेडका निम्ति सहयोग प्रबन्ध गर्नुभएछ । आफ्ना मान्छेलाई ओली कमरेडले सहयोग गर्ने भाष्य त्यो बेला खुब चर्चामा रह्यो । माधव कमरेडसँग टाँस्सिएर हुँदैन भन्दै धेरै नेताहरु केपी पक्षमा गए ।’

हुन पनि ओली जहाँ उभिन्छन्, त्यहाँ गण्डकी सधैँ सतीसाल बन्यो । गण्डकीबाट उनले आशा गरेजति मत र साथ पाए । अध्यक्ष ओलीले पनि गण्डकीका नेतालाई अवसर दिन कञ्जुस्याइँ गरेनन् । दोस्रोपटक संसद विघटन गरेपछि उनले कास्कीकै नेता खगराज अधिकारीलाई गृहमन्त्री बनाए । भला, उनको कार्यकाल १३ दिनको मात्र रह्यो । पर्वतका पदम गिरीलाई प्रमुख सचेतक र पछि मन्त्री नै बनाए । स्याङ्जाकी पद्मामाले भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाइन् । जेन–जी आन्दोलनबाट बिस्थापित हुनुअघिको मन्त्रिपरिषद्मा गण्डकीबाटै प्रतिनिधित्व गर्ने पृथ्वीसुब्बा गुरुङ संचारमन्त्री थिए । उनकै मन्त्रीमण्डलमा शिक्षामन्त्री रहेकी कास्कीकी विद्या भट्टराईले चाहिँ शिक्षक आन्दोलनको क्रममा राजीनामा दिएकी थिइन् । रवीन्द्र अधिकारी,थममाया थापा,जगत विश्वकर्माले पनि ओली मन्त्रिपरिषद्मा ठाउँ पाए । यीमध्ये केही नामहरु भने ओलीइतर पक्षका थिए ।

११ औं महाधिवेशनसम्म आइपुग्दा पनि केपी ओलीले गण्डकीप्रति भरोसा राख्न छाडेनन् । लामो रस्साकस्सी र चर्को प्रतिस्पर्धाका बीच पनि पृथ्वीसुब्बा गुरुङलाई आफ्नो गुटबाट उपाध्यक्षको उम्मेदवार बनाए भने अर्का स्थायी कमिटी सदस्य तथा विश्वासपात्र खगराज अधिकारीलाई सचिवको उम्मेदवारको रुपमा अगाडि सारे । पद्मा अर्याललाई पुनः सचिवमा दोहो¥याए । लेखा आयोगको अध्यक्षमा उनले अगाडि सारेका डा.भरत पहारी निर्विरोध बने । ७७ जना खुल्ला केन्द्रीय सदस्यका निम्ति पनि गण्डकीबाट झण्डै डेढ दर्जनलाई अवसर दिए । त्यसमा पदाधिकारीको आकांक्षा राख्ने किरण गुरुङदेखि जगत विश्वकर्माहरु रहेका छन् । गण्डकी प्रदेशबाट चुनिने केन्द्रीय सदस्यबाहेक जनजाति र समावेशीमा पनि गण्डकीलाई ओलीले राम्रै समेटेका छन् । बागलुङका लीलाबहादुर थापा,सावित्रा रानादेखि गोविन्द नेपाली र पर्वतका मनोहर बी पौडेललाई ओलीले छुटाएका छ्रैनन् । ओलीले च्यापेको गण्डकीबाट फरक कित्ता अर्थात् इश्वर पोखरेल प्यानल रोज्नेहरु धेरै छैनन् । तर, बागलुङका इन्द्रलाल सापकोटाले सचिवमा प्रतिस्पर्धा गर्दै इतर पक्ष पनि कम छैन भन्ने सन्देश प्रवाह गरेका छन् ।

यता, विभिन्न पदमा उम्मदेवारी दिएकामध्ये केही चाहिँ दुबै समूहमा समेटिएका छन् । केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सोभियत ढकाल,सीताकुमारी सुन्दास,हरिकुमार श्रेष्ठ,महिलातर्फका केन्द्री सदस्यका उम्मेदवारहरु देवका पहारी, नरदेवी पुन, मञ्जुदेवी गुरुङ, सावित्रा रानासहित लेखा आयोगमा उम्मेदवारी दिएका पद्मा जिसी श्रेष्ठ, मोहनराज रेग्मी, हरिकुमार श्रेष्ठहरु दुबैतिर दोहोरिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->