आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

पोखरा महानगरको स्थापना दिवस आज, ९ जनालाई ‘नवरत्न’ सम्मान

पोखरा महानगरको स्थापना दिवस आज, ९ जनालाई ‘नवरत्न’ सम्मान


  • ढोरपाटन संवाददाता
  • पुष २ २०८२, बुधबार

पोखरा/ पोखरा महानगरपालिकाले आज आफ्नो ६७औँ स्थापना दिवस मनाउँदै छ । यसअघि फागुन २७ गते स्थापना दिवस मनाउँदै आएको महानगरले विक्रम संवत २०१६ साल पुस २ गते पोखरा नगरपालिका स्थापना भएको प्रमाण भेटिएपछि यसै वर्षदेखि आजकै दिनलाई स्थापना दिवसका रूपमा मनाउन लागेको हो ।

अभिलेख अनुसार २०१६ पुस २ गते ५ हजार जनसंख्या रहेको नगरका रूपमा पोखरा नगरपालिका स्थापना भएको पाइएकाले सोही आधारमा आज दिवस मनाउन लागिएको महानगर प्रमुख धनराज आचार्यले बताए । दिवसका अवसरमा आज बिहान पोखराको चिप्लेढुङ्गाबाट बृहत् सांस्कृतिक झाँकी र र्‍यालीसहितको प्रभातफेरि निकालिनेछ । प्रभातफेरि पोखरा सभागृहमा पुगेर मूल समारोहमा परिणत हुनेछ ।

‘पोखरेली नवरत्न’ र कर्मचारी सम्मान

स्थापना दिवसको अवसर पारेर महानगरले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ९ जना विशिष्ट व्यक्तिलाई ‘पोखरेली नवरत्न’ सम्मान प्रदान गर्नेछ । भाषा, साहित्य, कला, शिक्षा, स्वास्थ्य, कृषि, समाजसेवा, खेलकुद तथा पर्यटन र विज्ञान प्रविधिलगायत क्षेत्रका व्यक्तिहरू सम्मानित हुनेछन् ।

नवरत्न सम्मान पाउनेलाई जनही २ लाख २ हजार २०२ रुपैयाँ नगद, ताम्रपत्र, दोसल्ला र पदकसहित सम्मान गरिने प्रमुख आचार्यले बताए । यस्तै, समारोहमा महानगरमा कार्यरत कर्मचारीमध्येबाट सर्वोत्कृष्ट, उत्कृष्ट र कर्तव्यनिष्ठ गरी ११ जनालाई पुरस्कृत गरिनेछ । महानगरका ३३ वडामध्ये सरसफाइमा उत्कृष्ट हुने ३ वटा वडा र महानगर मातहतका कार्यालयमध्ये उत्कृष्ट कार्यालयलाई पनि सम्मान गर्ने कार्यक्रम छ ।

महानगरले समयमै र सबैभन्दा बढी राजस्व तिर्ने उत्कृष्ट करदाता र उमेरको ज्येष्ठताका आधारमा ज्येष्ठ नागरिकलाई ‘महानगर मातापिता’ सम्मान प्रदान गर्नेछ । स्थापना दिवसका अवसरमा आज महानगरपालिका र मातहतका कार्यालयहरूको नियमित सेवा प्रवाह बन्द रहनेछ । मूल समारोहमा भाग लिन पोखरासँग भगिनी सम्बन्ध कायम भएका स्वदेशी तथा विदेशी नगरका प्रतिनिधि, देशभरका महानगर र उपमहानगरका प्रमुखहरू तथा छिमेकी पालिकाका प्रमुखलाई निम्तो गरिएको छ । पोखरा २०५२ माघ १८ गते उपमहानगरपालिका बनेको थियो । २०७३ फागुन २७ गते साविकका ५ गाविस र लेखनाथ नगरपालिकासहित गाभिएर पोखरा लेखनाथ महानगरपालिका घोषणा भएको थियो । पछि २०७५ साउन २३ को मन्त्रिपरिषद् निर्णयले यसको नाम पोखरा महानगरपालिका कायम गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->