बागलुङ/झण्डै ६ वर्षदेखि सास्ती दिएको बागलुङ नगरपालिका वडा नंं १० स्थित दब्ल्याङ पहिरोको दिगो समाधानको लागि काम थालिएको छ । पहिरोले मालढुंगादेखि कुश्मीसेरा सडकको एक्लेसालमा दुइ घुम्ती र कालीगण्डकी करिडोर अबरुद्द बन्दै आएको छ ।
वर्षातमा सडक ठप्पै पर्ने, खुलाएपनि जोखिमको बन्ने गरेको छ । सो पहिरो नियन्त्रणका लागि भएका पटक पटकका प्रयास असफल भएपछि गण्डकी प्रदेश सरकारको लगानीमा दिगो व्यवस्थापनको काम थालिएको हो ।
चालु वर्ष विनियोजन भएको ३ करोड रुपैयाँबाट पहिरोको मुख्य समस्या हटाउने तयारी भएको हो । त्यसका लागि गलुवाको विद्यालयदेखि नै पानीलाई दिगो रुपमा तर्काउने काम थालिनेछ । त्यसपछि मात्र पहिरोमा पायल फाउण्डेसन सहितको संरचना बनाएर सडक स्तरीय बनाउने लक्ष्य बनाउन सकिने सिंचाइ तथा जलश्रोत व्यवस्थापन आयोजना कास्कीका आयोजना प्रमुख बिदुरमान श्रेष्ठले बताए ।
२०७६ सालको पहिरोले एक्लेसालमा वर्षेनी सडक अवरुद्द बन्ने र वर्षातमा महिनासम्म सडक ठप्पै हुने गरेको छ । पटक पटक गरिएको करोडौं लगानी खेर गैरहेको छ । दक्षिण बागलुङबासीदेखि करिडोर यात्रा गर्ने यात्रीले पनि यो सडकमा सास्ती खेपेका छन् ।
पहिलो चरणमा भकुण्डेको दह र द्वारा देखि खस्ने पानी व्यवस्थापन गरेपछि मात्र सडक बनाउनुपर्ने प्राविधिक सल्लाह अनुसार आयोजनाले चालु बर्षको ३ करोड बजेटले संरक्षणको काम गर्ने भएको हो । ‘पहिलो चरणमा पानीको व्यवस्थापन गरेर काठेखोलामा पु¥याउने काम गरेपछि मात्र सडक संरचनाको काम गर्नुपर्ने प्रारम्भिक अध्ययनमा देखियो’ श्रेष्ठले भने, ‘सिधै सडकको काम गरियो भने लगानी खेर मात्रै जानेछ ।’ निरन्तर पानी बगिरहेको अबस्थामा सडकमा काम गर्न नमिल्ने उनले बताए ।
पानी व्यवस्थापन पछि भने सडकको पायल फाउण्डेसन बनाएर संरचना मार्फत सडक सुधार गर्नुपर्ने प्राविधिक सल्लाह यस अघिनै आइसकेको छ । त्यसकालागि हालको पहिरोमा कम्तिमा १६ मीटर गहिरा खम्बा गाडेर चट्टानमा लगेपछि मात्र पहिरो नियन्त्रण गर्नुपर्ने र त्यसकालागि भने करोडौं रकम खर्च लाग्ने प्राविधिक प्रतिवेदनमा उल्लेख छ । तत्काल सडक संचालनकालागि बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाले काम गरिरहेका छन् भने यो बजेट व्यवस्थापन र निर्माणकालागि गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदीले अगुवाई समेत गर्दै आएका छन् ।
मंगलवार पनि सुवेदी सहित आयोजना प्रमुख श्रेष्ठ र प्राविधिक तथा कन्सल्टेन्ट टोलीले एक्लेसाल पहिरो र पहिरो देखि माथिल्लो भागको स्थलगत अबलोकन समेत गरेका थिए । उक्त अबलोकन पछि पहिरो नियन्त्रण र पहिरोमा आएको पानी व्यवस्थापन संभव भएको बताएका छन् । त्यसकालागि पहिलो चरणमा पानीको व्यवस्थापन गर्ने र दोश्रो चरणमा मात्रै सडकको काम गर्ने सुझाव पनि उनीहरुले दिएको सुवेदीले बताए ।
‘अब हामी हतार गरेर नभइ दिगो व्यवस्थापनमा का मगर्ने हो, त्यसकालागि पहिलो चरणको काममा ३ करोड उपयोग गरिनेछ’ सुवेदीले भने, ‘दोश्रो चरणको कामकालागि भने गण्डकी प्रदेश सरकार र संघिय सरकारको बजेट व्यवस्थापनको छुट्टै काम गरिने छ ।’ त्यसकालागि भौतिक पुर्वाधार मन्त्रालय र अर्थमन्त्रालयमा पहल भैरहेको सुवेदीले जानकारी दिए ।
स्थानीय राधा मल्लले पहिरो व्यवस्थापन अघि पानीको व्यवस्थापन आवस्यक भएको बताइन् । उनले बर्षौदेखि सडकमा मात्र लगानी गर्दा माथिल्लो खण्डका किसानको जग्गा बगिसकेको गुनासो गरिन् । ‘बर्षातको पानी व्यवस्थापन गरिएन भने सडक मात्र हैन, गाउँ र खेतबारी सबै बग्छ’ उनले भनिन्, ‘सधैंको सास्ती हटाउने हो भने पानी व्यवस्थापनको काम हिउँदमा सक्नुपर्छ ।’
मन्त्रालय र प्रदेश सरकारले पनि गत असोजमै ठेक्का लगाएर काम थाल्ने तयारी गर्दा जेनजी आन्दोलनपछिको परिस्थितिले ढीला भएको थियो । अब भने छिटै काम थालेर बर्षात अघि नै पानीको श्रोतलाई काठेखोलामा सुरक्षित रुपमा पठाउने काम गरिने श्रेष्ठको भनाइ छ । त्यसकालागि स्थानीयको राय समेत बुझेर पक्की नाली र सोही नालीको साथमा एकतर्फी सडक पनि बनाइने भएको उनले जानकारी दिए ।





