पोखरा/एमालेको ११ औं महाधिवेशनबाट लमजुङका पृथ्वीसुब्बा गुरुङ उपाध्यक्षमा उक्लिएका छन् । अध्यक्ष ओली खेमाबाट उपाध्यक्षमा प्रतिस्पर्धा गरेका उनको जीत निश्चित नै थियो । तर,उनले ११ जना प्रतिस्पर्धीमध्ये प्राप्त सर्वाधिक (१७३७) मतलाईमात्रआधार मान्ने हो भने उनले आफूलाई ओलीपछि दोस्रो स्थानमा उभ्याएका छन् । पृथ्वीसुब्बा उपमहासचिवबाट सोझै उपाध्यक्षमा बढुवा भएका हुन् । उनले प्राप्त गरेको मत अध्यक्ष ओली (१६६३) भन्दा बढी हो । सोही पदमा दोहोरिएका विष्णु पौडेलले उनीभन्दा कम १६७५ मत पाएका छन् ।
मत परिणामले भन्छ– कार्यकर्ताले ओलीभन्दा पृथ्वीसुब्बामाथि बढी भरोशा गरेका छन् । एमालेमा वरिष्ठ उपाध्यक्षको पद खारेज गरिएको छ । मत परिणामलाई सम्मान गर्ने हो भने, वरिष्ठ नहुँदा सर्वाधिक मत ल्याएका पृथ्वीसुब्बा स्वतः कार्यवाहकको जिम्मेवारीमा हुनेछन् । तर,त्यो निर्णय अध्यक्ष ओलीको तजबिज्मा भर पर्नेछ ।
पृथ्वीसुब्बा कुनै समय ओलीकोसमेत आलोचना गर्नसक्ने नेताको रुपमा चिनिन्थे । आफूलाई मन नपरेका निर्णयहरुको सार्वजनिक रुपमै प्रतिवाद गर्थे । केन्द्रीय कमिटीका नेताहरु भन्थे,‘पीएस कमरेडमात्र ओलीसँग पनि गलतलाई गलत भयो भन्नसक्ने नेता हो । उहाँले धेरैपटक अध्यक्षका निर्णयहरुमा प्रश्न उठाउनुभएको छ ।’
हो, पृथ्वीसुब्बा प्रश्न गर्ने सामथ्र्य राख्थे । तर,आलोचनात्मक चेत भए पनि उनले ओलीलाई कहिल्यै साथ छाडेनन् । २०५४ सालको माघ १२ देखि १८ गतेसम्म नेपालगञ्जमा सम्पन्न एमालेको छैटौं महाधिवेशनमा उनी प्रष्ट रुपले ओलीको पक्षमा उभिएका थिए । त्यो महाधिवेशनले नै उनलाई पहिलोपटक वैकल्पिक केन्द्रीय सदस्य चुन्यो । २०५८ सालमा एमाले र माले एकीकरण हुँदा पनि उनी त्यही पदमा रहे । २०५९ सालको माघ १८ देखि २२ सम्म धनुषामा सम्पन्न सातौंमा चाहिँ उनी पराजीत बने । पछि उनलाई मनोनित गर्दै केन्द्रीय सदस्यमा ल्याइयो । त्यही महाधिवेशनमा नै त हो, ओलीले पार्टी जीवनको लोकतान्त्रिकरणसम्बन्धी अवधारणा प्रस्तुत गर्दै बहुपदको माग गरेका ! उनी बेलाबेला ओलीको त्यही अवधारणाको दह्रो समर्थकको रुपमा देखिएकै कारण आफूलाई सो महाधिवेशनमा पराजीत गराइएको बताउँछन् । २०६५ मा बुटबलमा सम्पन्न आठौं महाधिवेशनमा पोलिटब्यूरो बने । नवौंमा उक्लेका उनी १० औंमा उपमहासचिव बनेका थिए ।
सचिवको रुपमा गण्डकीको मुख्यमन्त्री हुँदा प्रधानमन्त्री ओलीले प्रदेशहरुलाई अधिकार दिन कञ्जुस्याइँ गरेको गुनासो गरिरहन्थे । जनजाति अधिकारको पैरवी गर्ने पृथ्वीसुब्बा यदाकदा पार्टीभित्रको ‘बाहुनवाद’प्रति प्रश्न उठाउँथे ।
तर, उपमहासचिव बनेपछि चाहिँ उनको जुझारुपन सेलाउन थाल्यो । पार्टी भित्र र बाहिर केपी ओलीको कार्यशैली निरंकुश भएको आवाज उठ्दा उनले चाहिँ मौनता साँधे । १० औं महाधिवेशनयता ओली साँच्चै पार्टीभित्र प्रश्न गर्नेहरुप्रति असहिष्णु देखिएका थिए । ओठे जफाव फर्काउने, हुँदै नभएको तथ्य पेश गर्दै आफनो बडप्पन देखाउने तथा विरोध गर्नेहरुलाई किनाराकृत गर्ने प्रवृत्तिप्रति पृथ्वीसुब्बा चुइँक्क नबोलेको आरोप छ । जेन–जी आन्दोलनअघिको ओली मन्त्रिपरिषद्मा संचारमन्त्री र प्रवक्ताको जिम्मेवारी पाएपछि त झन ओलीको बचाऊमा उनी सतिसालजस्तै देखिए । त्यही प्रष्ट वक्ता तथा जुझारुपनका कारण पृथ्वीसुब्बालाई एमाले कार्यकर्ताले अध्यक्ष ओलीकै प्रतिस्पर्धीको रुपमा हेर्ने थालिसकेका थिए ।
‘पीए कमरेडमा पहिलेजस्तो तर्कशीलता तथा गलतलाई गलत भन्ने रहनुभएन, अवसरको लागि उहाँले आफ्नो बुद्धीसमेत अध्यक्ष ओलीको पाउमा न्यौछावर गर्नुभयो,’उनी निकट रहेर काम गरेका तर योपटक प्रतिनिधि बन्नसमेत रोकिएका एक जनजाति नेता भन्छन्,‘ओलीको भक्तिगानमा लिन हुनुभयो र आफ्नो दुनो सोझ्याउनुभयो ।’
हो, पृथ्वीसुब्बा बदलिएका छन् । ओलीको बक्रदृष्टि नपरोस् भन्नाका खातिर नै उनले गलत प्रवृत्तिमाथि आँखा चिम्लेका हुन् ।
परिस्थिति फेरिएको छ । प्राप्त मतले भन्छ–कार्यकर्ताले उनीमाथि भरोसा जताएका छन् । ओलीको हुकुमी शैलीमाथि प्रश्न उठाउने र लगाम लगाउने जिम्मेवारी सुम्पेका छन् । समन्वयात्मक भूमिकाको अपेक्षा राखेका छन् ।
उपाध्यक्षको रुपमा उनी कत्तिको खरो उत्रन्छन्,त्यो समयले नै बताउने छ । तर,ओलीको आदेशपालक हुने कि साँच्चै एमालेको नेता बन्ने भन्ने कुरा उनको भूमिकाले नै निर्धारण गर्नेछ । एमालेको अध्यक्षबाट उनी एक कदम पछाडिमात्र छन् । अर्थात् उनको लागि त्यो पद अब त्यति टाढा छैन । तर, ओलीको आदेशपालकमात्रै बन्दा चाहिँ त्यो पद टाढा हुनसक्छ । त्यसका निम्ति उनले आलोचनात्मक चेतलाई पुनः ब्यूँझाउनुपर्छ । गुटको हैन, पार्टीको नेता बन्ने जमर्को गर्नुपर्छ र परिआएको बेला अध्यक्ष ओलीलाई नियन्त्रण गर्दै समन्वयकारी भूमिकामा अब्बल सावित गर्नुपर्छ । त्यसका अलावा, राष्ट्रिय राजनीतिमा पनि नयाँ दृष्टिकोण दिने तथा सही निर्णय गराउने ल्याकत राख्दैपर्छ । ओलीको स्वेच्छाचारी र असहिष्णु प्रवृत्तिमाथि लगाम लगाउन सक्नुपर्छ । ५ जना उपाध्यक्षको भीडमा आफूलाई अब्बल सावित गर्नसके उनी गण्डकीबाट ठूलो पार्टीको अध्यक्ष बन्ने पहिलो नेता बन्नेछन् ।





