पोखरा/कास्कीका खगराज अधिकारी एमालेको सचिव चुनिएका छन् । काठमाडौंमा सम्पन्न ११ औं महाधिवेशनअन्तर्गतको चुनावमा होमिएका उनले १ हजार ३ सय ३१ मत प्राप्त गरे । विद्यार्थीकालदेखि राजनीति गर्दै आएका उनी यसअघि एमाले स्थायी कमिटी सदस्य थिए । संकटको बेला अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिँदै आएका उनलाई ओलीले दोस्रोपटक संसद विघटन गरेका बेला गृहमन्त्रीको जिम्मेवारी सुम्पेका थिए ।
कास्कीका खगराजको सचिवमा पदोन्नति हुँदा स्याङ्जाकी पद्मा अर्याल सचिवमा दोहोरिएकी छन् । उनी त्योभन्दा माथिल्लो पदमा जान चाहन्थिन् तर अध्यक्ष ओली खेमामा रहेकी उनलाई अध्यक्ष ओलीले सचिवमा नै दोहो¥याउने निर्णय गरे । उनी १९ सदस्यीय एमाले केन्द्रीय कमिटीको एकमात्र महिला हुन् । सचिवमा प्रतिस्पर्धा गरेका बागलुङका इन्द्रलाल सापकोटा भने पराजित बने ।
खगराज र पद्मा सचिव हुँदा कास्कीबाट देवका पहारी पहिलोपटक केन्द्रीय सदस्य बनेकी छन् । गण्डकी प्रदेशसभा सदस्य रहेकी उनी पनि ओली खेमाबाटै उम्मेदवार बनेकी थिइन् । यता, भूगोलबाट ४० वर्षमुनिको युवाको प्रतिनिधित्व गर्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा केन्द्रीय सदस्य बनेका छन् । उनले १ हजार १ सय २४ मत ल्याउँदा प्रतिस्पर्धी प्रकाश पौडेलले १ हजार १ सय ३ मत प्राप्त गरे । गण्डकीबाट सीमाकुमारी क्षेत्री पनि केन्द्रीय सदस्य चुनिइन् । लमजुङबाट कृष्ण अधिकारीले पनि केन्द्रीय सदस्यमा पहिलोपटक ठाउँ बनाए । गण्डकीबाट केन्द्रीय सदस्य चुनिनेहरु सबैजसो ओली समूहका छन् । रश्मी आचार्य पनि यो महाधिवेशनबाट केन्द्रीय सदस्यमा पुगे ।





