बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अन्नपूर्ण बेसक्याम्पमा टेलिकम टावरको माग

अन्नपूर्ण बेसक्याम्पमा टेलिकम टावरको माग


  • ढोरपाटन संवाददाता
  • पुष ४ २०८२, शुक्रबार

बेनी/म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को नारच्याङमा रहेको अन्नपूर्ण बेसक्याम्पमा टेलिफोन टावर निर्माणका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।

अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा गएको टोलीले पर्यटक तथा आरोहीलाई सञ्चारको सुविधा नहुदाँ समस्या भइरहेको बताउँदै तत्काल अन्नपूर्ण क्षेत्रमा फोर जी इन्टरनेटसहितको सुविधा हुने गरी टेलिकमको टावर राख्नका लागि सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण गराएको हो ।

सञ्चार सुविधा नहुदाँ अलपत्र परेका पर्यटकलाई उद्धारमा समेत कठिनाई भइरहेकाले पहिलो प्राथमिकता सञ्चार र विद्युत रहेको बताए ।

समुद्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा सञ्चार सुविधा नहुँदा पर्यटक तथा आरोहीलाई समस्या हुने गरेको छ ।

हुमखोलादेखि माथिल्लो क्षेत्रमा सञ्चार विच्छेदको अवस्थामा यात्रा गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न गरिएको अनुरोधमा मन्त्री खरेलले आफ्नो ध्यानार्कषण भएको बताउँदै तत्काल प्रक्रिया अगाडी बढाउने बताए ।

मन्त्री खरेलले टावरको प्रक्रिया पूरा गरेपछि आफुँपनि अन्नपूर्ण बेसक्यापमा आउने प्रतिबद्धता जनाए । सोही अवसरमा मन्त्री खरेलले टेलिकमका इन्जिनियर जीवराज उपाध्यायलाई प्राविधिक प्रक्रिया अगाडी बढाउन निर्देशन दिए ।

ज्ञापनपत्र बुझाउने टोलीमा गाउँपालिका अध्यक्ष पुन, पर्यटन क्षेत्रका अभियान्ता तेज गुरुङ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, युवा व्यवसायी किरण बानियाँ र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमको उपस्थिती रहेको थियो ।

यसैबीच म्याग्दी जिल्लाका पाँचवटै स्थानीय तहमा रहेका टावरको विवरण संकलन गरी जतिसक्दो चाँडो नयाँ टावर र क्षमता वृद्धि गरी सञ्चालनमा ल्याउन नेपाल टेलिकमलाई निर्देशन दिने समेत मन्त्री खरेलले प्रतिबद्धता जनाए ।

सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथममा पहिलो मानव पाइला परेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्न नारच्याङ गाउँदेखि मौरिस हर्जोगसम्म पदमार्ग सञ्चालनमा रहेको छ । फ्रान्सेली हिमाल आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथममा पहिलो आरोहण गरेर इतिहास रचेका थिए ।

उक्त आरोहण दलको नेतृत्व मौरिस हर्जोगले गरेका कारण नारच्याङदेखि नर्थ अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गको नाम ‘मौरिस हर्जोग’ नामकरण गरिएको छ ।

विद्युत र टेलिकमको सुविधासँगै गाउँपालिकाले पदमार्ग क्षेत्रमा आवश्यक थप संरचनाका लागि समेत पहल गर्ने जनाएको छ ।

नारच्याङदेखि कुल ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सञ्चारको सुविधा भएपनि हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरी अन्तरगत छोटेपा, हुमखोला, सन्धिखर्क, गुफाफाँट, भुसकेटमेला, धरमढुंगा र आधार शिविरमा सञ्चारबिहिन हुदाँ त्यस क्षेत्रको प्रचारप्रसारमा समेत असर गरेको छ । असोज, कात्तिक, फागुनदेखि जेठसम्म अन्नपूर्ण बेसक्याम्पमा पर्यटकको घुइँचो लाग्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->