बागलुङ/राष्टिय स्वतन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष स्वर्णिम वाग्लेले सुशासनमा देशलाई अब्बल बनाउने सपना पुरा गर्न निर्वाचनमा होमिएको बताएका छन् ।
बागलुङमा शुक्रबार आयोजित कार्यक्रममा उनले समयमा सुशासन दिएर देशलाई आर्थिक र राजनीतिक रुपमा उन्नत बनाउने लक्ष्यकालागि रास्वपा अगाडि बढेको बताएका हुन् ।
रास्वपाले पार्टी प्रवेश, निर्वाचत लक्षित कार्यक्रम गरेको थियो । सो अवसरमा उनले हावादारी कुरा गरेर चुनावमा नजाने पनि बताए । ‘हामी देशलाई स्वास्थ्य, शिक्षा र सुशासनमा अब्बल बनाउने रणनीतिमा छौ’ उनले भने, ‘नेपालीले देशमै लगानी गर्ने वातावरण बनाउनै पर्छ ।’ पुराना दलले ती सूचक पुरा गर्न नसक्ने उनले ठोकुवा गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले झैं रेल र पानीजहाज ल्याउने आश्वासन नदिने, माओवादीले झैं चुनाव चिन्ह नै फेरेर अलपत्र पर्ने र कांग्रेसले झै परम्परावादी सोच नराख्ने उनको भनाइ थियो । बरु आगामी विसं २१०० सम्ममा देशलाई कस्तो बनाउने भन्ने खाका बुनेको उनको भनाइ छ । त्यसका लागि उत्पादनमा आत्मनिर्भर, लगानी सुरक्षा र भ्रष्टाचारको अन्त्यका लागि पार्टी अगाडि बढेको वाग्लेले बताए । कार्यक्रममा दजर्नौ व्यक्ति पार्टी प्रवेश गरेको घोषणा गरिएको थियो ।





