बागलुङ/नेपालमा सूर्तिजन्य पदार्थको सेवनबाट वर्षेनि झण्डै ४० हजार बढीको ज्यान जाने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको संयोजनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य कोषको सचिवालयले बागलुङमा आयोजना गरेको ‘सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन’ विषयक अन्तरक्रियामा स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटाले सुर्तिजन्य पदार्थको सेवनले ३९ हजार २ सय जनाको वर्षेनि ज्यान जाने गरेको तथ्याङ्क प्रस्तुत गरे ।
देवकोटाका अनुसार, नेपालमा नसर्ने रोगको प्रमुख कारक सूर्तिजन्य पदार्थ हो । धुम्रपान गर्नेहरुमा उच्च रक्तचाप, सुगर, क्यान्सर स्वासप्रस्वास तथा मुटु रोगको जोखिम हुने देवकोटाले बताए । सूर्तिजन्य पदार्थबाट संकलित बजेट स्वास्थ्य मन्त्रालयले विशेष गरी क्यान्सर रोगीको उपचारमा खर्च हुने गरेको उनले जानकारी दिए । धुम्रपान नियन्त्रण गर्न सुर्तिजन्य पदार्थ कम उत्पादन गर्ने र जनचेतन जगाउनुपर्नेमा उनको सुझाव थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमनका लागि बनाईएका नीति नियमको पुर्ण पालना गर्दै यसको प्रभावकारी अनुगमन गर्नुपर्नेमा आवश्यकता औँल्याए ।
कार्यक्रममा सहजीकरण गर्दै स्वास्थ्य मन्त्रालयका उपसचिव गोपीकृष्ण रेग्मीले सूर्तिजन्य पदार्थले आर्थिक, सामाजिक, शारीरिक र मानसिक रुपमा क्षति पु¥याउने बताए । अर्का सहजकर्ता वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले नियन्त्रण र नियमनका लागि वर्षेनी ४५ अर्बभन्दा धेरै खर्च हुने गरेको बताए ।
अन्तरक्रिया कार्यक्रममा बागलुङका जनप्रतिनिधी, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी, विभिन्न सघंसंस्थाका प्रतिनिधीले सूर्तिजन्य सेवन रोक्न सहकार्यको आवश्यकता औल्याउनुभएको थिाये । कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत घनश्याम सापकोटाको संचालन र जनस्वास्थ्य अधिकृत समिता घिमिरेको स्वागतमा सम्पन्न भएको थियो ।





