काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौंमा भब्य स्वागत गरिएको छ । शुक्रबार रिहा भएका लामिछाने शनिबार काठमाडौं ओर्लिदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका समर्थकहरूले बाजागाजासहित भव्य स्वागत गरेका हुन्।
सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा रहेका लामिछाने उच्च अदालत बुटवलको आदेशपछि हिजोमात्रै धरौटी रकम बुझाएर रिहा भएका थिए । चितवनमा आयोजित सभालाई सम्बोधन गरेर राजधानी फर्किएका लामिछानेलाई स्वागत गर्न विमानस्थल परिसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति थियो। समर्थकहरूले पञ्चेबाजा बजाएर र नाचगान गर्दै लामिछानेको स्वागत गरे ।

लामिछानेले विमानस्थलमै कार्यकर्तालाई सम्बोधन गर्दै आफू राजनीतिमा पुस्तान्तरणका लागि आएकोले यो तत्कालका लागि मात्रै नभएको बताए । उनले परिवर्तनका लागि नयाँहरू मिल्ने पनि दोहोर्याए । आफू पदका लागि मरिहत्ते नगर्ने, देश र पार्टी बनाउन सधै लागिपर्ने जिकिर समेत गरे ।





