काठमाडौं / सरकार फागुन २१ मा चुनाव गराउने तयारीमा लागिरहँदा दुई ठूला दलहरू भने संसद् पुनर्स्थापना गराउन कस्सिएका छन्। विघटित संसदको पहिलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधि सभा ब्युँत्याउने कसरत तीव्र बनाएका हुन्।
दुवै दलले आ-आफ्ना विघटित प्रतिनिधि सभाका सदस्यहरूको हस्ताक्षर संकलन गरिरहेका छन्। बहुमत सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा बुझाउने दुवै दलको तयारी छ। अन्य दलहरूको पनि सहमति जुटाउने प्रयास भइरहेको एमाले नेतृ सुनिता बरालले बताइन्।
‘हामी आफ्ना सांसदको त हस्ताक्षर बुझाउँछौँ नै। त्यसमा अरु दलका सांसदहरूलाई पनि थप गर्न सकिन्छ कि भनेर छलफल गरिरहेका छौँ। अरु दलहरूले पनि सहभागी हुन्छौँ भन्नु भएको छ। त्यसो भए हामीलाई बलियो बनाउनेछ,’ बरालले भनिन्, ‘अदालतले पेसी तोकेको दिन पहिले नै यो सबै हामी बुझाउने छौँ।’
एमालेका तर्फबाट निवर्तमान प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले सर्वोच्च अदालतमा मंसिर १० गते रिट दायर गरेका थिए। सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइपछि राष्ट्रपति, प्रधानमन्त्रीसहितका विपक्षीहरूसँग लिखित जवाफ माग गरेको छ।





