पोखरा/पोखरा पर्यटन वर्ष २०२५ को सन्दर्भमा साइकल सिटी पोखराको आयोजनामा आठौँ संस्करणको टुर दी पोखरा (साइकल टुर) कार्यक्रम सम्पन्न भएको छ ।
पोखरालाई पर्यावरणमैत्री र दिगो पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ सो साइकल टुर आयोजना गरिएको हो । साइकल टुरमार्फत् पोखराका प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन गर्नुका साथै स्वस्थ जीवनशैली, कार्बन उत्सर्जन न्यूनीकरण र वातावरण संरक्षणको सन्देश दिइएको थियो । कार्यक्रममा विश्व प्रसिद्ध साइकल यात्री पुष्कर शाहले विशेष सहभागिता थियो ।
सो कार्यक्रमको सुरुवात गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले साइकल संस्कृतिको विकास र युवाहरूमा साहसिक पर्यटनप्रति रुचि बढाउने कार्यमा यसले महत्वपूर्ण प्रेरणा मिल्ने बताए । उनका अनुसार साइकल प्रेमीहरूको सहरका रूपमा पोखरालाई विकास गर्ने गरी ९ वटै ताल जोड्ने ११७ किमी लामो साइकल ट्र्याक निर्माणको क्रममा रहेको छ ।





