पोखरा/नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय सचिव खगराज अधिकारीले सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन नगराउने बताएका छन् ।
लोकतन्त्रलाई बचाउनका लागि संसद पुनस्र्थापनाको विकल्प नभएको उनको जिकिर छ । आइतबार प्रेस चौतारी नेपाल कास्कीको पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अधिकारीले यो सरकारले निर्वाचन नै नगराउने घोषणा गर्दै संसद पुनस्र्थापनामा लाग्नुपर्नेमा जोड दिए ।अहिले सबैले सजिलो बाटो रोज्दा गणतन्त्र नै धरापमा परेको स्थिति रहेकाले देशलाई अस्थिरतातर्फ लैजान नहुने पनि उनको भनाइ थियो ।
‘अहिले सरकार असंवैधानिक रुपले विघटित भएको छ । देशभित्र र बाहिर हामीलाई अहिले परम्परागत शक्ति भन्नेहरु पनि छन् तर नयाँ भनिएका शक्तिहरु आफै संगठित छन या कसैको उदेश्य वा नेपाल अस्थिर बनाउन चाहेको समन्वय हो या संयोग,’ अधिकारीले भने, ‘अहिले तपाइहरुलाई सजिलो बाटो हिँड्न मन लाग्यो होला तर एकपछि अर्को । यसले तपाईंका कलमका टुप्पाहरु भाँच्नेछन् । तपाईंले ज्ञानेन्द्रको शासन देख्नुभएकै छ त्यसकारण हामी स्वतन्त्रतालाई कायम गराउन चाहन्छौं ।
उनले कम्युुनिष्टहरुले राज्य सत्ता चलाए पनि सुरक्षा नीति नबुझ्नाले दुःख पाएको जिकिर पनि गरे । उनले सेनासहित सुरक्षा अंगहरुले सरकारलाई नसघाएको उनको आरोप थियो ।
‘मनमोहनबाट सुरु भइ केपी ओलीसम्म आइपुग्दा कम्युनिष्टहरु प्रधानमन्त्री हुँदा हाम्रो सबैभन्दा कमजोरी नै हाम्रो सुरक्षा नीति हो । लोकतान्त्रिकरण पछि हामीले धेरै प्रतिवाद ग¥यौँ । प्रधानमन्त्रीले १२ बजेसम्म काठमाडौं कब्जा भनेर पनि कब्जा ग¥यौँ तर एकैचोटी चिरिप्पै सबै शक्ति एकैचोटी हुन्छन् भन्ने थाहा नपाएकै हो,’उनले भने,‘ मैले भन्दै आएको पनि छु–चारै निकाय (सुरक्षा) निकम्मा मात्रै होइन, बिके पनि भनेकै छु । गृहमन्त्री हुँदा नै । त्यसवापत् मलाई के–के थ्रेट भयो सामना गर्दै आए ।’
हाम्रा त कस्ता भए भने लोक सेवाबाट गुप्तचार लिन्छौं । अनि ती हाम्रा सुटबुटेड भएर गएका राष्ट्रिय अनुसन्धानकाले कसरी पत्ता लगाउने ?’ भदौ २३ गते विभिन्न राष्ट्रका गुप्तचर नेपालमा विभिन्न भेषमा बसेको गम्भीर जिकिर पनि उनले गरे ।
जेन जी र नेपाल सरकारबिच भएको सम्झौता अनधिकृत भएको जिकिर गर्दै उनले त्यो सम्झौताले नवयुवामाथि नै अन्याय भएको तर्क गरे ।
देशको स्वाधिनता र सार्वभौमतामाथि गम्भीर संकट उत्पन्न भएको र नेकपा एमाले बेगरको नेपाल, ओली बेगरको एमाले भन्ने भाष्य निर्माण गर्न खोजिएको पनि उनको कथन थियो ।
उनले संसद पुनस्र्थापना भएमा त्यसको नेतृत्व जेनजीले नै लिए पनि एमालेलाई मान्य हुने उनको भनाइ छ । तर, त्यो सरकारले संविधान संशोधन अगाडि बढाउनुपर्ने उनको तर्क छ ।
अहिले एमालेले अत्याधिक सहमतिका साथ ओलीको नेतृत्वमा नयाँ कार्यसमति निर्माण भएको पनि उनको भनाइ थियो । चुनाव भएमा एमाले नै पहिलो पार्टी बन्ने पनि उनले बताए ।





