बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले ग्रामीण र दुर्गमका जनताले पनि राज्यबाट स्वास्थ्य सेवा पाउनु पर्ने बताएका छन् । उनले त्यसका लागि सरकार उत्तरदायी बन्ने बताए ।
गण्डकी प्रदेश सरकारले पनि लक्षित समूह र ग्रामीण जनताको स्वास्थ्यलाई हेरेर पुर्वाधार निर्माण, जनशक्ती व्यवस्थापन तथा उपकरणहरुको उपलब्धता गराउने अभियान ल्याएको बताए । सोही अनुरुप धौलागिरि प्रादेशिक अस्पताल र मध्यविन्दु प्रादेशिक अस्पताललाई १ सय शैयाको अस्पतालको रुपमा विकास गरिएको बताए ।
उनले धौलागिरि अस्पताललाई नमूना र मेडिकल कलेजको रुपमा लैजाने लक्ष्य सुनाए । ‘अब यो अस्पताल मेडिकल कलेज सहितको बन्नेछ’ उनले भने, ‘आवस्यकता भएका अन्य स्थानमा पनि अध्ययन भैरहेको छ ।’ स्वास्थ्य सेवाबाट नागरिकलाई सन्तुष्ट बनाउन सकियो भने अन्य क्षेत्रको विकासमा थोरै लगानी भएपनि पुग्ने उनले बताए ।
धौलागिरि अस्पतालका नवनियुक्त अध्यक्ष श्रीप्रसाद शर्माको पदस्थापनको अवसरमा मन्त्री पाठकले शुभकामना पनि दिए । साथै, उनले सफल कार्यकालका लागि सहयोग गर्ने बताए ।
कार्यक्रममा अस्पतालका पुर्व अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापा, पुर्व अध्यक्ष केवी रानामगर, कृष्णबहादुर केसीले मानवीय श्रोतलाई नियमित गराउन सकियो भने अस्पतालको सेवा दिगो बन्ने बताए । कतिपय चिकित्सकहरु नियुक्तीसँगै रमाना लिएर आउने चलनले अस्पतालको बदनाम भएको उनीहरुको भनाई थियो । उनीहरुले त्यसका लागि राजनीतिक नेतृत्वले केन्द्रदेखि अस्पतालसम्म निगरानी गर्नुपर्ने बताए ।
अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष श्रीप्रसाद शर्माको अध्यक्षता, नवराज शर्माको संचालन र अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. किरण तिवारीको स्वागतमा सम्पन्न कार्यक्रममा डा. तिवारीले चालु आर्थिक वर्ष अस्पतालको कार्यक्रम र बजेटबारे प्रस्तुतीकरण पनि गरेका थिए ।
कार्यक्रममा सहायक प्रजिअ जनकराज पन्तले अस्पताल राम्रो बन्न सबै क्षेत्रको योगदान चाहिएको बताए । श्रीप्रसाद शर्माको अध्यक्षतामा गठन हुने अस्पताल व्यवस्थापन समितिका नगरपालिका, उद्योग वाणिजय संघसहित विभिन्न निकायको प्रतिनिधित्व रहनेछ । केही सदस्य पदस्थापन हुन बाँकी रहेको बताइएको छ ।





