पोखरा/कास्की प्रहरीले विगत फेवातालको सिमसार क्षेत्र पुरेको आरोपमा व्यवसायी युवराज खतिवडालाई पक्राउ गरेको छ ।
खतिवडामाथि पोखरा–१८ पामेमा जथाभावी भीर र डाँडामा डोजर लगाएर ढुंगा– माटो निकालेर सिमसार पुरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउका क्रममा खतिवडाले प्रहरीलाई दुव्र्यवहार गरेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नमराज भट्टराईले जानकारी दिए । डीएसपी भट्टराईका खनुसार उनका ४ वटा सवारी साधनको चाबी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । खतिवडा सिमसार पुरेको अभियोगमा यसअघि पनि पक्राउ परेका थिए ।
खतिवडाले हालसम्म फेवातालको ५ सय रोपनीभन्दा बढी सिमसार क्षेत्र पुरेको भन्दै संरक्षणकर्मीले विरोध गर्दै आइरहेका छन् ।
सर्वोच्च अदालतले पटकपटक फैसला गरेर फेवातालको ६५ मिटर मापदण्ड भित्रका संरचना ६ महिनाभित्र हटाउने, ताल र सिमसार क्षेत्रका जमिन व्यक्तिका नाममा दुषित तरिकाले भएको दर्ता खारेज गर्ने र व्यक्तिको जग्गा परेमा चलनचल्ती अनुसार उचित मुआब्जा दिएर तालको नाममा ल्याउन परमादेश दिएको थियो ।
सर्वोच्च अदालतले दिएको परमादेश अनुसार तालको सीमांकन सकिएको छ भने मापदण्ड लागू गर्न पिलर गाड्ने काम पनि सकिएको छ । सर्वोच्च अदालतको आदेश अनुसार गठन गरिएको ‘फेवाताल चार किल्ला निर्धारण तथा सीमांकन समिति’ ले तालको क्षेत्रफल ११ हजार २५५ रोपनी ११ आना १ पैसा कायम गरेको थियो ।





