आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

कोरियाली राजदूत पोखरा महानगरमा

कोरियाली राजदूत पोखरा महानगरमा

अन्नपूर्ण क्षेत्रको पदयात्रामा धेरै कोरियाली पर्यटकहरूको चासो रहेकाले त्यसका लागि आफूहरू उनीहरूलाई प्रोत्साहन गर्ने उनको भनाइ थियो ।


  • ढाेरपाटन संवाददाता
  • पुष ९ २०८२, बुधबार

पोखरा/नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइ योङले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटघाट गरेका छन् । भेटवार्तामा दुइपक्षिय साझा हितका विषयमा छलफल भएको मेयर आचार्यले जानकारी दिएका छन् ।

कोरियाली सरकारको सहयोगमा पोखरामा सञ्चालनमा रहेका परियोजनाहरूको प्रगतिका विषयमा उक्त क्रममा समीक्षासमेत भएको छ । भेटवार्ताका क्रममा नगर प्रमुख आचार्यले कोरियाली बजारमा पोखराको पर्यटन प्रवद्र्धन,पोखरामा सञ्चालित परियोजनाहरूको कार्यान्वयन अवस्था, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सम्भावना र कोरियामा रहेका नेपाली विद्यार्थी तथा श्रमिकहरूको कोरिया बसाइ तथा अवस्था बारेमा राजदूत पार्कसँग छलफल भएको बताए ।

जवाफमा राजदूत पार्कले कोरियाली सरकारको सहयोगमा नेपाल आउने सहायता प्राप्त गर्ने सन्दर्भमा नगर प्रमुख आचार्यको सक्रियता प्रशंसनीय रहेको बताए । पोखरामा निकै राम्रा परियोजनाहरू सञ्चालनमा रहेको उल्लेख गर्दै पार्कले ती समयमा नै सम्पन्न हुने र यसले पोखराको दिगो विकासमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । अन्नपूर्ण क्षेत्रको पदयात्रामा धेरै कोरियाली पर्यटकहरूको चासो रहेकाले त्यसका लागि आफूहरू उनीहरूलाई प्रोत्साहन गर्ने उनको भनाइ थियो । कोरियाबाट फर्किएका रिटर्नीहरुले पोखरामा निकै राम्रो उद्यमहरू सञ्चालन गरेको आफूले पाएको भन्दै उनले खुसी व्यक्त गरे ।

नगर प्रमुख आचार्यले पोखरामा बर्न अस्पताल स्थापना गर्ने सन्दर्भमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले अध्ययन सम्पन्न गरिसकेको उल्लेख गर्दै पोखराको विकासमा कोरियाली सहयोगप्रति धन्यवाद दिए । पोखरामा कोरियाको सहयोगमा हरित यातायात प्रणालीको विकाससम्बन्धी परियोजना, हरित रोजगारी सृजना सम्बन्धी ग्रिन भेन्चर जोन (जिभिजेड) स्थापना लगायतका परियोजनाहरू सञ्चालनमा रहेका छन् ।

भेटवार्तामा उपप्रमुख मन्जुदेवी गुरुङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत हेम प्रसाद आचार्य, प्रशासन महाशाखा प्रमुख कृष्ण प्रसाद तिवारी, सूचना प्रविधि तथा अन्तर्राष्ट्रिय समन्वय विभाग प्रमुख सुवास ढुंगाना, इन्जिनियर नेत्र तिमिल्सिनालगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->