बागलुङ/इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडितले सरकारी वलिकको कार्यालयबाट ठूलो धोका भएको बताएको छ । शनिबार पत्रकार सम्मेलन गरेर जुन कार्यालयको परिसरमा बसेर पीडितको सम्पत्ति फिर्ता गर्ने सहमति भयो,त्यही कार्यालयले सम्पत्ति शुद्धीकरण गरेर बचतकर्तालाई धोका दिएको इमेज बचत पीडित संघर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले जिकिर गरेका हुन् । उनीहरुले सरकारी वकिलको कार्यालय परिसरमा बसेर मिलापत्र गरेका थिए ।
उनले पीडितको पक्षमा काम गर्दा विभिन्न आरोप लागेको बताए । साथै, उनले आम बचतकर्ताको रकम फिर्ता पाउनुपर्ने र त्यसमा लागिरहने बताए । उनले पीडितको सम्पत्तिमा बिचौलियाले मिलेमतोमा खान नपाउने अडान राखे ।
विभिन्न बैंकमा पीडितको बचत लिलाम नगरी उठाउने व्यवस्था गरिदिन आग्रह गरेकोमा नमानेको बरु बैैंकहरुले बिचौलियाको पक्षमा लागेर जालसाजी गरेको कार्कीले आरोप लगाए । देवकुमार नेपालीले आफ्नो र श्रीमतीको नामको घरजग्गा बचतकर्ताको हो भनेर फिर्ता गर्न खोजेको, अदालतमा बयान दिएको,मिडियामा जानकारी गराएकोमा बैंकहरुले करोडौंको सम्पत्तिलाई कौडीको भरमा लिलाम गराएको आरोप उनको छ । उनले त्यसरी लिएको सम्पत्ति फिर्ता गर्न माग गरे ।
राष्ट्रिय सहकारी बैंकले लिलाम गरेपछि बानपा २ हल्लनचोकको घर लिलाम भएको छ । तर, पछिल्लो ६ महिनादेखि उक्त घरमा तालाबन्दी छ । पीडितले घर खाली गराएर उपयोगमा रोक लगाएका छन् । त्यसबाहेक विभिन्न मिडिमामा आएको समाचार गतल भएको भन्दै समितिले खण्डन पनि गरेको छ ।
तीन वर्षदेखि संघर्ष समितिले बचतकर्ताको रकम फिर्ताको माग गरेको छ । १ लाख रुपैयाँ भन्दा कम बचत गर्नेहरु ६ सय १३ जनाको रकम फिर्ता भएको, ८ सय ५६ जनाले घरघडेरी जग्गा लिने शर्तमा मिलापत्र गरेका छन् । त्यसबाहेक केहीले मिलापत्र गर्न नचाहेर फिर्ता भएका छन् ।
इमेज बचत तथा ऋण सहकारी संस्थामा तलरता अभाव देखाएर २०८० बैसाख पहिलो साता ताला लगाइएपछि ढोरपाटन नगरपालिकाका प्रमुखसमेत रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक देवकुमार नेपाली फरार थिए । उनले विभिन्न सामाजिक संजालमार्फत् आफ्नो नाउँको घरजग्गा बेचेर सम्पत्ति फिर्ता गर्ने बताएपनि फरार भैरहेपछि सरकारले रेडकर्नर नोटिस जारी गरेको थियो भने १ हजार ५ सय ७३ जनाले नेपालीविरुद्ध सहकारी ठगीमा जाहेरी दिएका थिए । उक्त जाहेरीको आधारमा जिल्ला अदालतमा ठगी मुद्दा परेको थियो ।
उक्त मुद्दाकै क्रममा भारतबाट नेपालीलाई पक्राउ गरेर अदालत हाजिर गरेपछि उनी पुर्पक्षका लागि थुनामा छन् । यो बिचमा सरकारले सम्पत्ति शुद्दिकरण मुद्दा लगाएको छ । उक्त मुद्दामा नेपालीको बयान भैसकेको छ भने कतिपयले बकपत्र पनि गरेका छन् ।
पीडित संघर्ष समितिले भने पटक पटक आन्दोलनका कार्यक्रम गर्दै आएको छ । लिलाम गरेको विषयमा गतबर्ष राष्ट्रिय सहकारी बैंकमासमेत दुई दिन ताला लगाएका उनीहरुले अहिले लिलाम सकारेका रामबहादुर केसीको घर तालाबन्दी गरेका हुन् । शनिबार पनि उक्त घरमै पत्रकार सम्मेलन गरिएको थियो । कार्कीले नेपालीको जग्गा जमिन बिक्री गरेर पीडितको बचत फिर्ता गर्न पाउनुपर्ने बताएका छन् ।





