पोखरा/ कालिका बहुमुखी क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसीको सालिक अनावरण गरिएको छ। पोखरा महानगर पालिका वडा नं. १४ काजीपोखरीस्थित क्याम्पसको हाताभित्र केसीको अर्ध कदको सालिक अनावरण गरिएको हो । क्याम्पसको ३४ औँ वार्षिकोत्सव, भवन उद्घाटन सालिक अनावरण एवम् पुरस्कार वितरण कार्यक्रममा सालिक अनावरण गरिएको हो ।
सालिकको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसे, सुर्यप्रेम ट्रस्ट तथा कालिका बहुमुखी क्याम्पसका संरक्षक, सञ्चालक समितिका पूर्व अध्यक्ष स्वर्गीय केसीकी धर्मपत्नी प्रेमकुमारी केसी, क्याम्पस सञ्चालक समितिका अध्यक्ष केसीका छोरा किरण केसी, छोराहरू प्रकाश केसी र रोशन केसी, क्याम्पस प्रमुख सह प्राध्यापक विरञ्जी गौतमले शनिवार एक कार्यक्रमकाबिच संयुक्त रूपमा अनावरण गरेका हुन्।
क्याम्पस स्थापना कालदेखि नै शैक्षिक उन्नयन तथा भौतिक निर्माणमा पु¥याएको योगदानको उच्च कदर गर्दै उनको चीरकाल स्मरणका लागि केसीको सालिक राखिएको हो । केसीको पहलमा भौतिक निर्माण तथा शैक्षिक उन्नयनमा क्याम्पसले ठुलो फड्को मारेको थियो । २०१४ साल जेठ १० गते पोखरामा जन्मिएका केसी व्यापार व्यवसाय र निर्माणको क्षेत्रमा संलग्न हुँदै २०४१ देखि २०४६ सालसम्म तत्कालीन पोखरा पञ्चायतको प्रधानपञ्चमा निर्वाचित भएका थिए ।
राजनीतिक जीवनको लामो समय उनले राष्ट्रिय प्रजातन्त्र पार्टीमा बिताए । पहिलो संविधानसभाको निर्वाचनमा उनी राप्रपाबाट समानुपातिक सांसद बनेका थिए । प्रतिनिधिसभा निर्वाचनको मुखै उनी काँग्रेस प्रवेश गरेका थिए । काँग्रेसले उनलाई समानुपातिक कोटामा प्रतिनिधिसभामा पठाएको थियो । केसीको २०७७ साल कात्तिक १७ गते सोमबार ६५ वर्षको उमेरमा देहावसान भएको थियो ।
कार्यक्रममा सहभागिले केसीलाई एउटा सामाजिक र सफल व्यावसायिक व्यक्तित्व तथा सहयोगी भावना भएको र अरूलाई सहयोग गर्न सधैँ तत्पर रहने व्यक्तिको रूपमा परिचर्चा गरेका थिए । त्यसै अवसरमा स्व. कीर्तिबहादुर केसीको स्मृतिमा संस्थापक सञ्चालक समितिका अध्यक्ष स्व. सूर्यबहादुर के.सी. का परिवारबाट स्थापित सूर्यप्रेम ट्रस्टको आर्थिक सहयोगमा निर्माण गरिएको कीर्ति पुस्तकालय भवनको पनि उद्घाटन गरिएको थियो ।
उक्त भवनको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसे, सुर्यप्रेम ट्रस्ट तथा कालिका बहुमुखी क्याम्पसका संरक्षक, सञ्चालक समितिका पूर्व अध्यक्ष स्वर्गीय केसीकी धर्मपत्नी प्रेमकुमारी केसी, क्याम्पस सञ्चालक समितिका अध्यक्ष केसीका छोरा किरण केसी, छोराहरू प्रकाश केसी र रोशन केसी, क्याम्पस प्रमुख सह प्राध्यापक विरञ्जी गौतमले संयुक्त रूपमा उद्घाटन गरेका थिए । भवन केसी परिवारले डिन प्रा.डा. चालिसेलाई र चालिसेले क्याम्पस प्रमुख गौतमलाई हस्तान्तरण गरेका थिए । उक्त बहुउद्देश्यीय भवन निर्माणमा ३ करोड २६ लाख २८ हजार ५ सय २० रुपैयाँ लागत लागेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि चालिसेले क्याम्पस यो स्थानमा आउनका लागि स्व. सूर्यबहादुर केसीको भूमिका सधैँ स्मरणयोग्य भएको उल्लेख गरे । ‘क्याम्पसको हरेक क्षेत्र सबल रहनुमा केसीको भूमिका ठुलो रहेको छ’, उनले भने, ‘उहाँकै पदचाप पछ्याएर उहाँका छोरा जुन युवा जोसका साथ क्याम्पस सञ्चालक समितिमा आउनुभयो शैक्षिक उन्नयनमा क्याम्पसका लागि यो सौभाग्य मिलेको छ ।’ उनले श्रम र उत्पादनसँग जोड्ने खालको शिक्षा अहिलेको आवश्यकता रहेको बताए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण के.सी. ले आफ्ना बुबाको सम्मानमा क्याम्पस परिसरभित्र अर्ध कदको सालिक निर्माण गरेकोमा परिवारको तर्फबाट आभार व्यक्त गरे । उनले क्याम्पसलाई समय सापेक्ष तरिकाले अगाडि बढाउनका लागि आफू सधैँ लागि पर्ने प्रतिबद्धता जनाए । निवर्तमान क्याम्पस प्रमुख रवीन्द्रनाथ बास्तोलाले क्याम्पसमा स्व. सूर्यबहादुर केसीको योगदान अनुकरणीय रहेको बताए । उक्त अवसरमा क्याम्पसका अभिभावक डम्बर कुमारी गुरुङ र छोरा मोहन गुरुङले डम्बर मोहन गरिब छात्रवृत्ति अक्षयकोषका लागि २ लाख ५१ हजार रुपैयाँ क्याम्पस प्रमुख गौतमलाई हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा क्याम्पसका पूर्व क्याम्पस प्रमुख बालकृष्ण शर्मा, जनप्रकाश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ऋषिराम बुढाथोकी, क्याम्पस प्रमुख विरञ्जी गौतम, क्याम्पसका सिनेटर तथा पूर्व प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर थापा, कल्याणकारी समितिका सचिव तेजेन्द्र केसी लगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न विधामा पुरस्कार वितरण गर्नुको साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष तथा वडा नं. १४ का वडा अध्यक्ष बोधबहादुर कार्कीले स्वागत र सहायक क्याम्पस प्रमुख सालिकराम तिम्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।





