पोखरा / भौतिक पूर्वाधार तथा उर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले आफ्नो अस्तित्व मासेर पार्टी एक हुने कुरामा सहमत हुन नसकिएको बताएका छन् । घिसिङले रवि र बालेनसँगको एकतासँगै उभिन नसकेको बताएका हुन् ।
पोखरामा आइतबार आयोजित कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीको दल र उसकै चुनाव चिह्नलाई मानेर जाँदा आफ्नो पार्टीको अस्तित्व नहुने तर्क गरे । उनले बिजुलीको चिम चुनाव चिह्न राखेर उज्यालो पार्टी नेपाल नामक दल खोल्न लगाइसकेका छन् । यसअघि बालेन र कुलमानले पटक–पटक भेटवार्ता गरी एकताको प्रक्रिया अन्तिम चरणमा पु¥याएको बताएका थिए । तर, रवि र बालेन एक हुँदा कुलमान छुटेका छन् ।
घिसिङले नेपाली जनताले वैकल्पिक शक्ति एक होस् भन्ने चाहेको पनि बताए । सही नेतृत्व र वैकल्पिक शक्ति एक भएर जानुपर्नेमा उनको जोड थियो । ‘सही नेतृत्वहरू र वैकल्पिक शक्ति एक भएर जानुपर्छ । नभए कार्यगत एकता गरेर जानुपर्छ । नयाँ र मेनस्ट्रिम फोर्स एक भएर जान आह्वान गर्छु,’ कुलमान भने, ‘नेपाली जनताले वैकल्पिक शक्ति एक होस् र नयाँ नेतृत्व देओस् भन्ने चाहना छ । त्यो बुझेर अघि बढ्नुपर्नेछ ।’ ज्यालो नेपाल पार्टीको सम्मानजनक उपस्थिति, सम्मान र स्वाभिमान भएकाले त्यसलाई यथास्थितिमा राखेर, नमेटाइकन सबैसँग सहकार्य गर्न तयार रहेको र यसका लागि धेरै कुरा भइरहेकाले आगामी दिनमा धेरै रिजल्ट आउने दावी समेत उनले गरे ।
आफ्नो पार्टीको संगठन बिस्तारका क्रममा पोखरा आएका कुलमानले उज्यालो नेपाल पार्टीलाई नै स्थापित गर्न समर्थकलाई आह्वान गरे । उक्त पार्टीको आइतबार पोखरामा कास्की जिल्लास्तरीय भेला थियो । कुलमानले पोखराका युवा क्षीतिज बराललाई संयोजकको जिम्मेजारी दिए । यसअघि साझा विवेकशील पार्टीसँग जाडिएका बराललाई कास्की संयोजकको जिम्मेवारी सुम्पिएपछि कुलमानले नेपालका पार्टीहरूमा उज्यालो पार्टी राम्रो स्थितिमा रहने विश्वास व्यक्त गरे ।





