आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

समाजमा बढ्दैछन् मृगौला पीडित

समाजमा बढ्दैछन् मृगौला पीडित

अन्य रोगको निदान खोज्दाखोज्दै मृगौला बिग्रेको थाहा हुन्छ तर, अधिकांशसँग डायलासिस गर्ने पैसा पनि हुँदैन ।


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०८२, सोमबार

बागलुङ/पछिल्लो समय मृगौलापीडितको संख्या बढ्दै गएको छ । धौलागिरि अस्पतालका अनुसार अहिले दैनिक ७० जना बढीले नियमित डायलासिस गरिरहेका छन् । बागलुङकै कतिपयहरु पोखरासम्म पुगेर पनि डायलासिस सेवा लिइरहेका छन् ।

मृगौलाले नियमित काम गर्न छाडेपछि कि नयाँ अंग राख्नुपर्छ, नभए आजीवन डायलासिस सेवा लिनुपर्छ । चाडपर्व वा अन्य आकस्मिक समय भनेर त्यसबाट छुटकारा पाइँदैन । त्यतिमात्र होइन अस्पतालहरुमा भएको सीमित श्रोत र साधनमा पालो कुर्नुपर्ने बाध्यता पनि छ ।

नेपाल सरकारले सरकारी अस्पतालमा डायलासिस सेवा निशुल्क दिएको छ । त्यस बाहेक दीर्घरोग लागेकाहरुलाई मासिक ५ हजार रुपैयाँ उपचार खर्च पनि दिने गरेको छ । तर, उक्त रकमले पीडितले उपचार गर्न सक्दैनन् । मृगौला प्रत्यारोपण गर्ने काम जटिल छ । पहिला त मृगौला दान गर्ने व्यक्ति पाउन मुस्किल छ । त्यसबाहेक दिने र बिरामीको रक्त समूह मिल्नुपर्छ भने दिने व्यक्तिको सहमति बनाउनुपर्छ ।

त्यसपछि परीक्षण गर्ने र प्रत्यारोपण गर्दा २० देखि २५ लाख रुपैयाँ बढि रकम खर्च हुने गर्छ । नियमित महंगो औषधी सेवन गरिरहनुपर्छ । त्यसका लागि बिरामीले खर्च पु¥याउन धेरै समस्या पर्छ । पछिल्लो समय भएका अधिकांश बिरामीको तथ्यांक हेर्दा धुँवाधुलो तथा उद्योगमा काम गरेका कामदार वा जोखिमको पेशा गरेकाहरुलाई बढी लाग्ने गर्छ । त्यस्ता स्थानमा काम गर्नेले पानीको मात्रासमेत शरीरमा पु¥याउन नसकेकोले बिस्तारै समस्या पर्दै जाने गरेको चिकित्सकहरु बताउँछन् ।

नेपाल पत्रकार महासंघ बागलुङमा तीनजना मृगौला पीडित सहयोगको याचना गर्दै आइपुगेका थिए । उनीहरु सबैजना आर्थिक रुपमा विपन्न छन् । बागलुङ नगरपालिका वडा नंं १ की २२ वर्षीया मनिषा बोसेलले ७ वर्षदेखि मृगौलाको समस्या भोग्दै आएको बताइन् । उनले स्नातक तह प्रथम वर्षमा भर्ना भएपछि समस्या देखिएपछि २०७६ देखि नियमित डायलायसिस सेवा लिँदै आएकी छन । नियमित डायलासिस लिनुपर्दा उनले पढाइ बीचमा नै छाड्नुप¥यो ।

बाबुआमा ज्याला मजदुरी गर्ने भएकोले छोरीको उपचार खर्च पु¥याउन नसकी समस्यामा परेका छन् । ‘आन्तरिक खर्चले भ्याउन्जेल त हामी सहयोग खोज्न हिडेनौँ,’ पीडितकी फूपु गीता बोसेलले भनिन्,‘सँधै डायलायसिस गरेर सम्भव नभएपछि मृगौला प्रत्यारोपणको योजनामा पुग्यौँ तर पैसा भने छैन ।’ उनले सहयोगको याचना गर्दै संचार माध्यमले पनि साथ दिएमा मनिसाको उपचारमा सहज हुने र ज्यान बचाउन सकिने बताइन् । मनिषाका बाबु यामबहादुर र आमा मिनाले पनि उनको उपचार गराउन धेरै पहल गरेको बताए ।

जैमिनी नगरपालिका ७ धुल्लुका कमल नेपालीको समस्या पनि उस्तै छ । ३९ वर्षका नेपालीको घरमा आम्दानीको श्रोत केही छैन । पत्नी भिमा र छोराछोरी सहित बाबुआमासमेत पाल्नुपर्ने जिम्मामा रहेका नेपाली अहिले आफै उपचारको सहयोगी खोज्दैछन् ।

पछिल्लो ४ वर्षदेखि धौलागिरी अस्पतालमा डायलासिस गरिरहेका नेपालीले मृगौला प्रत्यारोपण गर्न खोजेका छन् । पत्नी भिमाले मृगौला दिन तयार भएपनि खर्च अभावले उपचार गर्न सकेका छैनन् । कोरोनाअघि उनी रोजगारीको लागि भारत र साउदी अरबमा काम गर्थे । बिरामी भएपछि घर फर्किएका उनलाई मृगौलाको समस्याले सतायो ।

सामान्य उपचार गर्दागर्दै मृगौलाको समस्या भन्ने पत्ता लागेपछि नियमित डायलासिस गरेर सदरमुकाम बस्न बाध्य छन् । दैनिक आउजाउ, डेरा, गाडी भाडासमेतले उनलाई सताएको छ । ‘कुनै दिन खल्तीमा ५० रुपैयाँ पनि नभएर उपचार गर्न पनि पाइँदैन,’ उनले भने, ‘प्रत्यारोपण गर्न पनि २० लाख खर्च लाग्ने रहेछ, अहिले मसँग २ हजार पनि छैन ।’ उनले सबैको साथ भएमा मृगौला प्रत्यारोपण गरेर स्वस्थ भइ समाजमा काम गरेरै परिवार पाल्ने, सामाजिक सेवामा पनि लाग्ने धोको रहेको बताए ।

पीडा सुनाउन पत्रकार खोज्दै आएका अर्का बिरामीले भने पहिला आफ्नै प्रयास गर्ने र नभएमा सञ्चार माध्यम मार्फत सहयोगको याचनामा आउने बताए ।

उनीहरु सबैको समस्या हेर्दा समाजमा मृगौला रोगको समस्या बढ्दो देखिएको महासंघका अध्यक्ष राम थापा ‘अविरल’ले बताए । उनले राज्यले दिएको रकम थोरै भएकोले धेरै मानिस पीडामा रहेको भन्दै उपचार अभियान सञ्चालन गरेर सबैको ज्यान बचाउने र उनीहरुलाई रोजगारीको क्षेत्रमा ल्याउनुपर्ने थापाले सुझाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->