बागलुङ/गण्डकी प्रदेश नीति तथा योजना आयोग र दायित्व ललितपुरबीच मुख्यमन्त्री सार्वजनिक सुशासन फेलोसिप कार्यक्रम संचालन गर्न सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
गण्डकी प्रदेशको तथ्यमा आधारित नीति निर्माणलाई संस्थागत गर्दै शासकीय नवप्रवर्तन र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन यो समझदारी भएको हो । गण्डकी प्रदेशको दोश्रो पञ्चवर्षीय योजनाले निर्दिष्ट गरेको दिर्घकालिन सोच, प्राथमिकता र नीतिगत लक्ष्यहरु कर्यान्वयन गर्ने उद्देश्यले सहकार्य अघि बढाइएको हो ।
समझदारी अनुसार आयोग र दायित्व बीच नीति अनुसन्धान, शासकीय क्षमता अभिवृद्धि, नवप्रवर्तन, ज्ञान आदान–प्रदान तथा सुशासन प्रवद्र्धनसम्बन्धी गतिविधिमा दीर्घकालीन समmझदारी गरिनेछ । समझदारीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेलोसिप कार्यक्रममार्फत प्रदेश सरकारमा तथ्यमा आधारित नीति निर्माणमा सहयोग पुग्ने बताएका छन् ।
समझदारीमा नीति तथा योजना आयोगकातर्फबाट सचिव धु्रव गिरी, दायित्वका तर्फबाट अध्यक्ष डा. पुकार मल्लले हस्ताक्षर गरेका छन् । दायित्व गैससले विज्ञप्ति प्रकाशित गरेर आफ्नो संस्थाको योजना र प्रदेश सरकारको सहकार्यबारे धारणा राखेको छ । सन् २०१३ देखिनै दायित्वले सरकारसँग साझेदारी गर्दै बौद्धिक क्षेत्रमा काम गर्दै आएको बताएको छ ।





