मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

गण्डकीबाट राष्ट्रपतिको छोरीको समानुपातिकमा सिफारिस

गण्डकीबाट राष्ट्रपतिको छोरीको समानुपातिकमा सिफारिस

नेपाली कांग्रेसले गण्डकी प्रदेशबाट राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल समानुपातिक उम्मेदवारमा सिफारिस भएकी छन् । उनको नाम सिफारिस भएपछि गण्डकी कांग्रेस समेत विवादित देखिएको छ ।


  • ढोरपाटन संवाददाता
  • पुष १६ २०८२, बुधबार

पोखरा/नेपाली कांग्रेस गण्डकी प्रदेशको समानुपातिक उम्मेदवारी विवादित बन्न पुगेको छ । मंगलबार गण्डकी प्रदेशले ११ जनाको नाम सिफारिस गरेको विषयले गण्डकीको कांग्रेसमा अन्तरविरोध सुरु भएको छ । नेपाली कांग्रेसले गण्डकी प्रदेशबाट राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल समानुपातिक उम्मेदवारमा सिफारिस भएकी छन् । उनको नाम सिफारिस भएपछि गण्डकी कांग्रेस समेत विवादित देखिएको छ ।

मंगलबार गण्डकी प्रदेशले राष्ट्रपति पौडेलकी छोरी सहित ११ जनालाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरेको छ । निर्वाचन आयोगमा पेस भएको नामावली अनुसार राष्ट्रपति पौडेलकी छोरी संज्ञा समेत परेकी हुन् । उनको नाम कास्कीबाट सिफारिस भएको छ । संज्ञाको घर कास्की हो । कास्कीबाट उनीसहित आइबहादुर गुरुङ पनि अटाएका छन् ।

यस्तै, गोरखाका जगत बराम, मुस्ताङका रोमी गौचनलाई पनि समानुपातिक सूचीमा राखिएको छ । नवलपुरकी सीतादेवी सापकोटा, स्याङजाकी माया राना, तनहुँकी इन्दिरा खनाल र पर्वतकी सिर्जना मल्ल उम्मेदवार बनेका छन् । आगामी चुनावमा बागलुङबाट ३ जना समेटिएका छन् । रेणुका काउचा, शकुन्तला शर्मा र पार्वती आचार्य बागलुङका हुन् ।

मंगलबारसम्म निर्वाचन आयोगमा ६४ दलले समानुपातिकको बन्दसूची बुझाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र रास्वपासहित ६४ दलले समानुपातिकको बन्दसूची बुझाएका हुन् ।

निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउनका लागि सोमबारसम्मको समय दिएको थियो । निर्धारित समयमा बन्दसूचीका लागि निस्सा बुझाएका दलले मंगलबारसम्म पनि बन्दसूची बुझाइरहेको आयोगले जनाएको छ ।

समानुपातिक प्रणाली रोज्ने वा नरोज्नेमा मत भिन्नता रह्यो : गगन
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले पार्टीको कार्यसमितिमै समानुपातिकको विषयलाई लिएर मत विभाजन भएको प्रतिक्रिया दिएका छन् । देशभर समानुपातिक नाम सिफारिसको विषयमा विवाद भइरहँदा गगनका ससुरा कांग्रेस नेता अर्जुननरसिंह केसीलाई समानुपातिक उम्मेदवारको बन्द सूचीमा राख्ने निर्णय भएपछि उनले उक्त प्रतिक्रिया दिएका हुन् ।

महामन्त्री थापाले आफ्नो चाहना र प्रयास विपरित भएको बताएका छन् । थापाले आफ्नो भूमिकामा केसीलाई समानुपातिकमा राखिएको भन्ने हल्लाको खण्डन गर्दै सामाजिक सञ्जालमार्फत यस्तो प्रष्टीकरण दिएका हुन् ।

‘मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ, म स्पष्ट पार्न चाहन्छु— यो मेरो चाहना विपरित हो’, थापाले भनेका छन्, ‘मेरो अनुरोध र हरसम्भव प्रयास विपरितको निर्णय हो।’ थापाका ससुरा समेत रहेका केसी र उनको राजनीतिक दृष्टिकोण कहिलेकाहीँ बाझिने गरेको उनले उल्लेख गरे। थापाले कुनै समय पार्टीको महामन्त्री पदका लागि फरक एजेन्डा र संकल्पसहित आफू र केसी चुनाव लडेको प्रसंग समेत उल्लेख गरेका छन् । यसपटक पनि अग्रज नेताले समानुपातिक प्रणाली रोज्ने वा नरोज्ने विषयमा मत भिन्नता रहेको उनले बताए ।

पार्टी विधान अनुसार संसदीय बोर्डबाट उम्मेदवार छनोट हुनुपर्नेमा कार्यसम्पादन समितिले सूची फाइनल गरेर निर्वाचन आयोगमा बुझाएपछि विवाद बढेको हो । कार्यसम्पादन समितिले एकलौटी ढंगले सूची बुझाएको भन्दै पार्टीभित्रका विभिन्न समूहले विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->