आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

त्रिभुवन माविको महायज्ञमा झण्डै ३ करोड संकलन

त्रिभुवन माविको महायज्ञमा झण्डै ३ करोड संकलन


  • ढाेरपाटन संवाददाता
  • पुष १६ २०८२, बुधबार

बागलुङ/बहुप्राविधिक आवाशिय शिक्षालय निर्माणको लागि हिरक महोत्सवको अवसरमा बडिगाड गाउँपालिका २ खर्वाङस्थित त्रिभुवन माविमा सञ्चालित श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञमा झण्डै ३ करोड रकम संकलन भएको छ ।

विद्यालयले सोमबार आम्दानी खर्च सार्वजनिक गर्दै महायज्ञमा २ करोड ९० लाख २० हजार ७ सय ५६ रुपियाँ कुल आम्दानी भएको जनाएको छ । महायज्ञमा ४९ लाख ५० हजार ९ सय ७० रुपियाँ खर्च भएको छ । महायज्ञको कुल आम्दानीमध्ये ९६ लाख ७४ हजार ६ सय ६७ रुपियाँ नगद जम्मा भएको र महायज्ञमा कबोल गरिएको १ करोड ९३ लाख ४६ हजार ८८ रुपियाँ उठ्न बाँकी रहेको विद्यालयका शिक्षक कमल पौडेलले जानकारी दिए ।

महायज्ञ आयोजक समितिले कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याउनुहुने, सहयोग÷दान अर्पण गर्नुहुने सबैप्रति आभार व्यक्त गरेको छ । पवित्र उदेश्य राखेर गरिएको महायज्ञमा भक्तजनको उत्साजनक सहभागिता जुटेको थियो । गत मंसिर २१ देखि २८ गतेसम्म त्रिभुवन माविको प्राङगणमा महायज्ञ सञ्चालन गरिएको थियो ।

बाली विज्ञान विषयको पठनपाठन संचालन गरिरहेको विद्यालयले आगामी दिनमा सिभिल इन्जिनियरि, अटोमोबाइल्स, इलेक्ट्रिक तथा इलेक्टोनिक्स विधामा पनि अध्यापन गराउने लक्ष्यसहित धनधान्याचल महायज्ञको आयोजना गरिएको हो । विद्यालयले स्वर्ण महोत्सवमा संकलन गरेको ८० लाख रुपियाँले भौतिक पुर्वाधार बनाउनुको साथै अक्षयकोषमार्फत निजी श्रोतका शिक्षक राखेर समयसापेक्ष विषय पढाउँदै आएको छ ।

महायज्ञमार्फत संकलित रकमबाट कोष बनाउने लक्ष्य छ । त्यो कोषमार्फत बडिगाड गाउँपालिका मात्र नभई गलकोट र गुल्मीको मुसिकोट क्षेत्रको आर्कषक शैक्षिक गन्तव्य बनाउने योजना छ । पश्चिम बागलुङका ढोरपाटन, निसी र तमानबासीले यो विद्यालयको सदुपयोग गर्न सक्ने वातावरण बन्ने प्रअ ढालमणि भण्डारीले बताए ।

सिटिइभिटी तथा अन्य क्षेत्रबाट अनुबन्धित गरेर विद्यालयलाई दक्ष प्राविधिक उत्पादनको क्षेत्र बनाइने विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु प्रसाद भुसालले जानकारी दिए । विद्यालयमा हाल एक हजार १ सय ८७ विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->