पोखरा आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा बुधवार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पोखरास्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार गण्डकीमा २ सांसदका लागि निर्वाचन हुदैछ । २०७६ सालको निर्वाचनबाट निर्वाचित तत्कालीन माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र एमालेकी भगवती न्यौपानेको कार्यकाल सकिन लागेकाले निर्वाचन हुन लागेको हो । श्रेष्ठ अन्य र न्यौपाने महिला कोटाबाट सांसद बनेका थिए ।
निर्वाचन आयोगले कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलवासेलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापना पछि अधिकृत बेलबासेले निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्ने र सबै पक्षको सहयोगको आवस्यकता रहेको बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शान्ति सुरक्षालाई मजबुत बनाउने बताइन् ।
निर्वाचन कार्यक्रमअनुसार पुस १९ मा मतदाता नामावली प्रकाशन, नामावलीमाथि दाबी विरोध तथा उजुरीमाथि छानबिन गरी पुस २२ को दिउँसो ३ देखि ४ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २३ मा उम्मेदवारको मनोनयन, पुस २४ मा उम्मेदवारको विरोधमा उजुरी, पुस २७ मा उम्मेदवारले नाम फिर्ता लिने र सोही दिनको दिउँसो १ देखि २ बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन हुनेछ ।
पुस २८ मा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ भने माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।





