आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

वैकल्पिक पार्टीमा पुरानै नेताको प्रवेश

वैकल्पिक पार्टीमा पुरानै नेताको प्रवेश

अन्तरघातको ट्याग बोकेका कुमार खड्कासहित व्यवसायीहरु समेत गरे प्रवेश


  • ढोरपाटन संवाददाता
  • पुष २० २०८२, आइतबार

पोखरा/नेपाली कांग्रेसले अनुशासनको कारबाही गरेका गण्डकी प्रदेशका पूर्वभौतिकमन्त्री कुमार खड्का राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् । शनिबार पोखरामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा वृहत पार्टी प्रवेश कार्यक्रममा खड्कालाई रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्लेले पार्टीको ब्याज लगाइ ‘विशेष पार्टी प्रवेश’ भन्दै खड्कालाई पार्टी प्रवेश गराएका हुन् ।

आफूलाई वैकल्पिक र सुशासनको पक्षमा उभिएको बताउने रास्वपाले अनुशासनकै कारवाहीमा परेका पुराना नेतालाई पार्टी प्रवेश गराउँदा पुरानै दलको शैली अपनाएको छ । पोखराँको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित कार्यक्रममा पूर्वमन्त्री खड्कासहित नेकपा एमालेका नेता एवं व्यवसायी पुष्प अधिकारी, कांग्रेस नेता तथा गण्डकीका मन्त्री विन्दुकुमार थापाको बुहारी मिलन थापा, तारा गिरीलगायत रास्वपामा प्रवेश गरेका हुन् ।

पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेसहितका शीर्ष नेताहरूको उपस्थितिमा उनीहरूलाई पार्टीमा स्वागत गरिएको हो ।

खड्काले अखण्ड नेपाल नामक पार्टी स्थापना गरी राजनीतिक यात्रा सुरु गरेका थिए । २०७० को संविधान सभामा समानुपातिक सभासद बनेका उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बनेका थिए ।

राजनीतिक भविष्य सुरक्षित गर्न उनले आफ्नो सिंगो पार्टीलाई नेपाली कांग्रेसमा विलय गराएका खड्का कांग्रेस गण्डकीको भौतिक पूर्वाधार मन्त्री समेत बने । तर, ०७९ सालको निर्वाचनमा हालका गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापालाई हराउन र पार्टीमा अन्तरघात गरेको आरोपमा उनलाई कारवाही गरिएको थियो ।

उनलाई कांग्रेसले १ वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । त्यसपछि राजनीतिमा निष्क्रिय देखिएका खड्कालाई असार अन्तिममा साधारण सदस्यबाट निष्कासन गर्ने अनुशासन आयोगले निर्णय गर्दै अहिले कांग्रेसले कारवाहीमा परेकाहरूको क्रियाशील सदस्यता नवीकरण नगर्नू भन्ने परिपत्र पछि उनी साधारण सदस्यसमेत नरहने देखिएपछि रास्वपा प्रवेश गरेका हुन् । अहिले पनि उनी आफु मात्रै रास्वपा प्रवेश गरेनन् । कांग्रेसमा विलय गराएको अखण्ड नेपाल पार्टीलाई कांग्रेसबाट झिकेर रास्वपामा विलय गराएका छन् ।

हामी १५१ सिट जित्छौ : स्वर्णिम वाग्ले
रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले फागुन २१ को निर्वाचनमा पार्टीले १५१ सिट जित्ने बताएका छन् । उनले पुराना नेता र एउटै अनुहारलाई बारम्बार प्रधानमन्त्री बनाउन जनता समेत नचाहेको बताउँदै हिजो संसदमा रास्वपा सांसदले भोगेको पीडाका कारण समेत अब बहुमत ल्याउने दाबी गरेका हुन् ।

अहिले सभापतिसहित पार्टीका दुई उपसभापति समेत पछि हटेर बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउनका लागि पार्टीले युवाहरुको आशा रहेको बालेन शाह, कुलमान घिसिङ, विवेकशील साझा पार्टीलाई समायोजन गरि अघि बढेको सुनाए ।

‘रवि लामिछाने र हामी दुइ जना उपसभापतिले किन यस्तो रणनीति बनायो कि अब विशाल पार्टी बनाउनुपर्नेछ । यो २१ सिटबाट ५०–६० सिट ल्याएर च्याँखे थापेर बसे भइ गो नि भन्ने पनि बाटो अपनाउन सकिन्थ्यो । म्याजिक नम्बरको त तपाईहरुले कुरा सुन्नु भएकै हो । कसैको पनि बहुमत आउँदैन अहिले भनेपछि २१ ले पनि सानो तिनो हैसियत बनाएकै थियो चौथो ठूलो दल बनेकै थियो । आँखा चिम्लिएर यस पटक जनताले ७० सिटसम्म दिइहाल्नुहुन्थ्यो । सम्भवत हामी ठूलो दल यसै पनि बन्ने वाला थियौं’ उनले भने, ‘अबको रास्वपाको लक्ष्य भनेको १५१ सिट हो । यो चानेचुने संकल्प होइन । २१ बाट ५०÷६० ठीक हो तर १५१ नै किन हो भने विगतको संसद्मा भएको पीडादायी अनुभव हो ।’

२७५ सांसदको भीडमा २१ सांसदले प्रतिपक्षको भूमिका निभाउँदा ठूलो संख्यासहितको बहुमतको अहंकार को दुईतिहाइको सरकारलाई झक्झकाउने काम गर्दा भित्तामा पुग्ने गरी न्याक्ने काम गरेको कारण आज बहुमत आवश्यक भएको सुनाए । लोकतान्त्रिक पद्धतिमा समेत संसद वहिस्कार गर्नुपर्ने बाध्यतामा पु¥याएको उनले सुनाए । सोही क्रममा उनले पूर्वसंघीयमन्त्री कुमार खड्का, पुष्प अधिकारी, मिलन थापालाई स्वागत गर्नु सानो झिल्कोमात्रै रहेको बताए । अब झिल्कोलाई राँको बनाउने बताए ।

कार्यक्रममा रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जनतालाई हेप्ने प्रवृत्तिकै कारण रास्वपाको जन्म भएको बताए । उनले कास्की जिल्लामा तीन सिट जित्ने दाबी गर्दै भ्रष्टाचार र नातावाद खारेज गरिने स्पष्ट पारे । रास्वपाका प्रवक्ता मनिष झाले पार्टी अनुशासनमा जोड दिँदै मिशन पूरा भएपछि मात्रै उत्सव मनाइने बताए । पूर्वसांसद शिव नेपालीले कसैको विरोधका लागि होइन, देश निर्माणका लागि राजनीति गरिएको स्पष्ट पारे ।

कार्यक्रममा समिक्षा बस्नेतले रूपान्तरण भाषणमा होइन, व्यवहारमा देखिनुपर्नेमा जोड दिइन् । नेताहरूले फागुन २१ सम्म भाषण र त्यसपछि काम मात्रै हुने दाबी गर्दै सुशासन र भ्रष्टाचारविरुद्ध घण्टी चिन्हमा बहुमत दिन आग्रह गरेका छन् ।

मन रास्वपामा शरीर र बचन कांग्रेसमा थियो : कुमार खड्का
रास्वपामा प्रवेश गर्दै कुमार खड्काले आफु ३ वर्षदेखि राजनीतिमा निष्क्रिय रहेको र अहिले कांग्रेसले त्यो बन्धन तोडेको बताएका छन् । आफ्नो मन रास्वपा तिर भएपनि शरीर र बचन कांग्रेसमै रहेको सुनाउँदै अब आफु दृढ संकल्पका साथ रास्वपा भएको घोषणा गरे ।

सुरुवातमा रास्वपा समेत अन्य वैकल्पिक पार्टी जस्तै स्थापना भएर हराउने आफुलाई लाग ेपनि त्यसको विपरित भइ मन जितेको खड्काले बताए ।

मन राष्ट्रिय स्वतन्त्र पार्टीतिर तर शरिर र बचन कांग्रेसको बन्धनले बाँधेर राखेको थियो । यही अवस्थामा म राजनीति छाड्छु । पार्टी छाड्दिन भनेर ३ वर्ष सम्म निस्क्रिय रहिरहेको बेलामा कांग्रेसले नैतिकता बन्धनको त्यान्द्रो तोडिदिएर मलाइ स्वतन्त्र बनायो,’ उनले भने, ‘अहिलेदेखि नै रास्वपाको साधारण सदस्यको रुपमा घण्टी बजाउने उद्घोष गर्दछु ।’

उनले विपी कोइराला, कृष्ण भट्टराईलगायतका महान व्यक्तिको सोचलाई कार्यान्वयन गर्न सकुन भन्दै शुभेच्छासमेत व्यक्त गरे । उनले रास्वपाको अभियानमा सहभागिता हुन कांग्रेसले भूमिका खेलिदिएको उनले सुनाए । उनले अखण्ड पार्टीका सबै कार्यकर्ता अब रास्वपामा प्रवेश गरेको सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->