बागलुङ/मानव अधिकार तथा शान्ति समाज बागलुङले दिगो शान्ति स्थापना गर्न र हिंसा अन्त्यको माग गर्दै प्रर्दशन गरेको छ । नेपाल र संसारभर भएका हिंसात्मक घटनाको विरोध गर्दै समाजले बागलुङबाटै अन्तराष्ट्रिय जगतसम्म सन्देश पठाएको अध्यक्ष फडिन्द्र आचार्यले जानकारी दिए ।
मंगलवार भएको कार्यक्रममा सहभागिले शान्ति हाम्रो अधिकार, अहिंसा हाम्रो पहिचान, सदभाव हाम्रो जीवनधारा र सहिष्णु हाम्रो स्वाभिमान भन्ने सन्देश समेत प्रवाह गरिएको थियो । सद्भाव प्रवद्र्दन तथा हिंसा र घृणा खारेज भन्ने एजेण्डा समाजले प्रस्तुत गरेको हो ।
कार्यक्रममा समाजका अध्यक्ष आचार्यले यतिबेला संसारमा नागरिक अधिकारहरु हनन् भैरहेको, हिंसा र अत्याचारका घटना बढेको तथा आम नागरिकलाई बाच्न पाउने अधिकारमाथी धावा बोल्ने जस्ता काम भैरहेकोले शान्ति समाजले देशभर हिंसा र घृणा खारेजको नारा लगाएको समेत बताए ।
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका निर्वतमान अध्यक्ष निलकण्ठ शर्मा, पुर्व अध्यक्ष हरि शर्मा ‘हरिष’, नेपाल रेडक्रस सोसाइटी बागलुङका उपसभापति राजेन्द्र आचार्य र नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष इश्वर ठाकुर पौडेलले पनि मन्तव्य राखेका थिए । समाजका अध्यक्ष फडिन्द्र आचार्यको अध्यक्षता र सचिव नवराज नेपालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





